विदेशी मुद्रामा रेमिट्यान्सको योगदान ५६ प्रतिशत

May 09, 2022

यज्ञ बञ्जाडे, कान्तिपुर, वैशाख २६, २०७९

निर्यात, पर्यटन, विदेशी ऋण तथा अनुदानलगायत क्षेत्रमा सुधार भएन, यसले नेपालको विदेशी मुद्रा सञ्चिति रेमिट्यान्समा धेरै आश्रित हुनुपरेको देखाउँछ

काठमाडौँ — मुलुकको कुल विदेशी मुद्रा (सञ्चिति) मा रेमिट्यान्सको योगदान करिब साढे ५६ प्रतिशत देखिएको छ । विदेशी मुद्राको स्रोत सम्बन्धमा पछिल्लो पाँच वर्षको तथ्यांक विश्लेषण गर्दा उक्त अवधिमा रेमिट्यान्यको योगदान औसत ५६.४ प्रतिशत देखिन्छ । यसले नेपालको विदेशी मुद्रा सञ्चिति रेमिट्यान्समा धेरै आश्रित रहेको पुष्टि हुन्छ । विदेशी मुद्राका अन्य स्रोत निर्यात, पर्यटन (सेवा), विदेशी ऋण तथा अनुदानलगायत क्षेत्र अपेक्षित रूपमा सुधार हुन नसक्दा रेमिट्यान्समा बढी आश्रित हुनुपर्ने बाध्यता रहेको अर्थविद्हरू बताउँछन् ।

तथ्यांकअनुसार पछिल्लो पाँच वर्षको विदेशी मुद्राको स्रोतमा रेमिट्यान्सपछि विदेशी ऋण र अनुदानले औसत ११, पर्यटनलगायत सेवा क्षेत्रले १०.२ र वस्तु निर्यातले औसत ७.१ प्रतिशत योगदान पुर्‍याउँदै आएका छन् । जबकि विदेशी मुद्राको उपयोग हेर्दा आयातमा करिब ८३, पर्यटनमा ९ र अन्य प्रयोजनका लागि बाँकी ८ प्रतिशत हिस्सा छ ।

अन्य राष्ट्रको तुलनामा नेपालको कुल विदेशी मुद्रामा रेमिट्यान्सको योगदान धेरै रहेको अर्थशास्त्री विश्वास गौचनको भनाइ छ । ‘दीर्घकालका लागि रेमिट्यान्समा बढी निर्भरता राम्रो होइन,’ उनले भने, ‘विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्सको योगदान कम गर्न निर्यात बढाउनुपर्छ । निर्यातमा अपेक्षित सुधार आउन नसक्दा विदेशी मुद्राका लागि रेमिट्यान्समै धेरै आश्रित हुनुपरेको छ ।’ पछिल्ला वर्षहरूमा रेमिट्यान्सको वृद्धिदरभन्दा व्यापार घाटाको वृद्धिदर धेरै बढी रहेको र यो अन्तर निरन्तर बढ्दै गएकाले विदेशी मुद्रा सञ्चितिमा रेमिट्यान्समाथिको परनिर्भरता छिट्टै कम हुने सम्भावना रहेको उनले बताए ।

पछिल्लो पाँच वर्षमा रेमिट्यान्सको वृद्धिदर औसत ७.८ र व्यापार घाटाको औसत १८ प्रतिशत छ,’ गौचनले भने, ‘पाँच वर्षको अवधिमा आयात २ सय १३ र रेमिट्यान्स १ सय १५ प्रतिशत बढेको छ ।’ कोभिडका बेला रेमिट्यान्समा हालसम्मकै सबैभन्दा राम्रो वृद्धि देखिएकामा त्यसपछिका १४ महिनामा उच्चदरले घट्दा मुलुकको बाह्य क्षेत्र दबाबमा परेको गौचनको भनाइ छ । सोयाबिन तेल र पाम आयललाई गणना नगर्दा मुलुकको निर्यात अवस्था निकै दयनीय र जोखिमपूर्ण रहेको गौचनले जनाए ।

चालु आर्थिक वर्षको आठ महिनामा रेमिट्यान्समार्फत ६ खर्ब ३१ अर्ब १९ करोड रुपैयाँ मुलुक भित्रिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स १.७ प्रतिशत घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ८.७ प्रतिशतले बढेर ६ खर्ब ४२ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो । ‘गत फागुनसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ३ प्रतिशतले कमी आई ५ अर्ब २८ करोड कायम भएको छ । गत वर्षको फागुनमा यस्तो आप्रवाह ५ प्रतिशतले बढेको थियो,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा रेमिट्यान्स लगातार घटिरहेको छ, जसअनुसार गत साउनमा १८.१, भदौमा ६.३, असोजमा ७.६, कात्तिकमा ७.५, मंसिरमा ६.८, पुसमा ५.५ र माघमा ४.९ प्रतिशतले घटेको थियो । अनौपचारिक माध्यमको चहलपहल बढेकाले वित्तीय प्रणालीबाट आउने रेमिट्यान्स घटेको जानकारहरू बताउँछन् । आयात बढेकाले कर छल्न न्यून बीजकीकरणमार्फत ल्याइएका सामानको भुक्तानी हुन पनि हुन्डीलगायत गतिविधि बढेकाले रेमिट्यान्स बढ्न नसकेको उनीहरूको भनाइ छ ।

चालु आर्थिक वर्षका ८ महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति ९.५८ अर्ब डलर छ । यो सञ्चिति जुलाई २०२० मा ११.६५ अर्ब र फेब्रुअरी २०२१ मा १२.५७ अर्ब डलर थियो । त्यसपछि यो बिस्तारै घट्न थालेको हो । यो सञ्चिति कोभिड सुरु हुनुअघि (फेब्रुअरी २०१९) को सञ्चितिसँग लगभग बराबर हो । अब अर्थतन्त्र कसरी अघि बढ्छ, त्यसले अर्थतन्त्रको आगामी दिशा निर्धारण गर्ने जानकारहरूले बताउने गरेका छन् । विदेशी मुद्राको सञ्चिति बढेको राम्रो तर अहिले घटेको सञ्चितिले देश बर्बाद नै भयो भनिहाल्ने अवस्था पनि नरहेको उनीहरूको भनाइ छ ।

स्रोत: https://ekantipur.com/business/2022/05/09/165206068764442648.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More