News

विदेशी लगानीकर्ताको आकर्षण साना उद्योगमा

September 14, 2017

सरस्वती ढकाल, कारोबार आर्थिक दैनिक, २९ भाद्र २०७४

काठमाडौंः नेपालमा लगानी गर्ने अधिकांश लगानीकर्ताको आकर्षण साना उद्योगमा रहेको पाइएको छ । उद्योग विभागमार्फत नेपालमा भित्रने प्रत्यक्ष विदेशी लगानी (एफडीआई)का परियोजनामध्ये यस्ता उद्योगको दर्ता बढ्दै गएको तथ्यांकले देखाएको हो । 

            

सरकारले उद्योगको वर्गीकरण गर्दै ठूला, मझौला र सानाका रूपमा छुट्याएको छ । जसमध्ये लगानीकर्ताको सबैभन्दा धेरै आर्कषण साना उद्योगमो देखिएको छ । गत आवमा विदेशी लगानीमा दर्ता भएका कुल ३ सय ९५ उद्योगमध्ये ३ सय ७० साना खालका मात्रै छन् । सानो लगानीमा थोरै जनशक्ति र सानो ठाउँबाटै व्यवसाय गर्न सकिने भएकोले लगानीकर्ताहरू यस्ता उद्योगमा आर्कषित भएका हुन् ।  

विभागका अनुसार ठूला ९ र मझौला १६ को संख्यामा मात्रै दर्ता भएका छन् । तुलनात्मक रूपमा ठूला उद्योगमाभन्दा कम जोखिम हुने हुँदा लगानीकर्ताहरू साना तथा मझौला उद्योगतर्फ केन्द्रित भएको उद्योग विभागका महानिर्देशक शंकर अर्याल बताउँछन् । “उद्योगको प्रकृतिअनुसार ठूला उद्योगमा लगानीको रकम ठूलो रहे पनि दर्ता संख्याका आधार साना तथा मझौला उद्योग धेरै छन्,” उनले भने ।

पछिल्लो पाँच वर्षमा साना, मझौला र ठूलो उद्योगको दर्ता संख्या
आर्थिक बर्ष            साना            मझौला            ठूला
२०७३/७४            ३७०            १६                ९
२०७२/७३            ३२१            १८                ९
२०७१/७२            ३१९            ३७                १४
२०७०/७१            २६६            २७                १४
२०६९/७०            २५१            ३३                ३३
स्रोत–उद्योग विभाग

विदेशी लगानीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गर्दै मन्त्रिपरिषद्ले लगानी स्वीकृतिमा विभागको दायरा बढाएको छ । हाल विभागमा २ अर्ब रुपैयाँभन्दा कम स्थिर पुँजी भएका विदेशी लगानीका परियोजना स्विकृत हुँदै आएका छन् ।

यो विधेयकले विदेशी लगानीकर्तालाई उच्चतम सीमा तय नगरी जति पनि लगानी गर्नसक्ने खुकुलो व्यवस्था गरेको छ । योसँगै उद्योग विभागले ५ अर्ब रुपैयाँसम्मको प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) स्विकृत गर्न पाउने भएको छ ।

उद्योगको वर्गीकरणमा १० करोड रुपैयाँभन्दा धेरै चुक्ता पुँजी लगानीमा आउने उद्योगलाई सरकारले ठूला उद्योगको वर्गीकरणमा राखेको छ । विभागका अनुसार नेपालमा ठूला उद्योगमाभन्दा साना तथा मझौला उद्योगबाट लगानीको प्रतिफल छिटो पाउन सकिने भएकोले लगानीतकर्ताहरूको जोड यस्ता उद्योगमा रहेको छ ।

“उद्योगको प्रकृतिअनुसार ठूला उद्योगमा लगानीको रकम ठूलो रहे पनि दर्ता संख्याका आधार साना तथा मझौला उद्योग धेरै छन्,” महानिर्देशक अर्यालले भने । पछिल्लो पाँच वर्षयता नेपाल आउने एफडीआई साना तथा मझौला उद्योगमा दर्ता भइ उत्पादनमूलक भन्दा सेवाक्षेत्रतर्फ मोडिएको छ । 

लगानी, रोजगारी र उद्योग संख्याका आधारमा विदेशी लगानी उत्पादनमूलक क्षेत्रको तुलनामा सेवा क्षेत्रतर्फ मोडिएको तथ्यांक छ । विदेशी लगानीकर्ताहरू खासगरी पर्यटन र सेवाक्षेत्रतर्फ बढी आकर्षित देखिएको पाइन्छ । विदेशी लगानीकर्ताले पर्यटनतर्फ १ सय ५२, सेवा क्षेत्रतर्फ १ सय ५७, उत्पादनमूलक क्षेत्रमा ५५, कृषि र वनजन्य क्षेत्रतर्फ २० तथा खनिजतर्फ एउटा उद्योग दर्ता गराएका छन् ।

यी उद्योगबाट करिब ११ हजारले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ । स्वदेशी उद्योग व्यवसायीहरूले देशमा राजनीतिक अस्थिरता र लगानीको वातावरण नभएको भनिरहँदा विदेशी लगानीका उद्योग दर्ता बढ्नुले आशा बढाएको छ । अर्कोतर्फ, सरकारी तथ्यांकले नै स्वदेशीभन्दा विदेशी लगानीकर्ता उद्योग खोल्न आकर्षित भएको देखाएको छ ।

स्रोत: 

https://www.karobardaily.com/news/82329