विदेशी लगानी प्रतिबद्धता बढ्यो

March 19, 2020

तुलसी सुवेदी, अन्नपूर्ण पोष्ट, चैत्र ०६, २०७६ 

काठमाडौं : विदेशी लगानी प्रतिबद्धता गत वर्षको तुलनामा तीन गुणा बढेको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन-फागुन) मा २९ अर्ब रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ। गत वर्ष सोही अवधिमा ११ अर्ब मात्रै विदेशी लगानी प्रतिबद्धता आएको थियो।

सरकारले विदेशी लगानी आकर्षित गर्ने गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएसँगै विदेशी लगानी बढ्न थालेको हो। ऐनमा लगानी, सञ्चालन र फिर्तासम्बन्धी स्पष्ट व्यवस्था गरेसँगै विदेशी लगानी आउन थालेको हो।

उद्योग विभागका अनुसार चालु वर्षको फागुनसम्म विदेशी लगानीमा एक सय ७३ वटा उद्योगले दर्ता प्रक्रिया अघि बढाएका छन्। गत वर्ष विदेशी लगानीमा दुई सय २५ वटा उद्योग दर्ता भएका थिए। लगानी प्रक्रिया खुकुलो र सरल गराएसँगै विदेशी लगानी आउन थालेको विभागको दाबी छ।

विभागका अनुसार पर्यटन क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता बढेको छ। चालु आर्थिक वर्षको फागुनसम्म ६६ पर्यटन उद्योगमा आठ अर्ब ७२ करोड लगानी प्रतिबद्धता भएको छ। गत वर्ष ६९ उद्योगमा तीन अर्ब ६७ करोड मात्रै लगानी प्रतिबद्धता भएको थियो।

पर्यटनपछि सेवा क्षेत्रमा विदेशी लगानी प्रतिबद्धता बढेको छ। ४४ पर्यटन उद्योगमा ६ अर्ब ७४ करोड रुपैयाँ प्रतिबद्धता भएको छ। गत वर्ष सोही अवधिमा ७६ वटा सेवा क्षेत्रका उद्योग दर्ता भएका थिए। ती उद्योगमा एक अर्ब ८० करोड लगानी प्रतिबद्धता भएको थियो।

उद्योगका क्षेत्रमध्ये सूचना र प्रविधिमा विदेशी लगानीको आकर्षण तेस्रो नम्बरमा छ। विभागका अनुसार ३१ सूचना उद्योगमा पाँच अर्ब ९३ करोड लगानी प्रतिबद्धता भएको छ। सोही अवधिमा गत वर्ष १७ वटा उद्योगमा २३ करोड मात्रै लगानी प्रतिबद्धता भएको थियो।

गत वर्षको तुलनामा उत्पादनकमूलक क्षेत्रको संख्या ह्वात्तै घटेको छ। गत वर्ष ५२ वटा उद्योग दर्ता भएकामा चालु आवमा २३ वटा उद्योग स्थापना भएका छन्। उत्पादनतर्फ चालु आवमा दुई अर्ब ८४ करोड प्रतिबद्धता भएको छ। गत वर्ष पाँच वर्ष ४३ करोड मात्रै लगानी प्रतिबद्धता भएको थियो।

विभागका अनुसार पाँचवटा ऊर्जा क्षेत्रका उद्योगमा चार अर्ब ९७ करोड प्रतिबद्धता भएको छ। यस्तै चालु आर्थिक वर्षमा चारवटा कृषिजन्य उद्योगमा ४४ करोड लगानी प्रतिबद्धता भएको छ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याएसँगै विदेशी लगानीको सिमा ५० लाख रुपैयाँबाट ५ करोड पु¥याएको छ। ६ अर्बसम्मको लगानी उद्योग विभागले स्वीकृत गर्छ। त्योभन्दा बढीको रकममा लगानी बोर्डले स्वीकृत गर्ने प्रावधान छ। विदेशी लगानीमा सञ्चालन हुने उद्योगले आठ हजार नौ सय जनालाई रोजगारी दिने प्रतिबद्धता गरेका छन्। गत वर्ष आठ हजार एक सयलाई मात्रै रोजगारी दिने उद्योगीको प्रतिवद्धता थियो।

विभागका निर्देशक उदयकुमार गुप्ताले पछिल्लो समय कोरोना भाइरसका कारण उद्योग दर्तामा कमी आएको बताए। ‘गत वर्षको तुलनामा उद्योगमा विदेशी लगानी बढेको छ’, उनले भने, ‘पछिल्लो समय कोरोनाका कारण लगानी प्रभावित भइरहेको छ।’ भिसाका लागि आउने संख्या एकदमै न्यून रहेको उनले जानकारी दिए।

ऐनले विदेशी लगानी ल्याउने तथा फिर्ता लैजाने स्पष्ट व्यवस्था गरेकाले विदेशी लगानी बढेको सरकारको दाबी छ। सरकारले जग्गा प्राप्ति, छुट सुविधा र सहुलियत तथा लगानी सुरक्षणको प्रत्याभूतिसमेत गरेकाले लगानी अझै आउने विभागका आधिकारी बताउँछन्। सरकारले विदेशीलाई धितोपत्रमा लगानी गर्न, उद्योग खरिद गरी लगानी गर्न सक्ने प्रावधान ल्याएको छ। यस्तै प्रविधि हस्तान्तरण तथा शाखा विस्तार, पुँजी लगानी कोष खडा गरी लगानी गर्न सकिने व्यवस्था छ। विदेशीले गैरपर्यटक, व्यावसायिक र आवासीय माध्यमबाट प्रवेश पाउँछन्। विदेशी लगानीकर्तालाई जग्गा प्राप्ति र भोगचलनसम्बन्धी पनि सुविधा दिइएकाले विदेशी लगानी आकर्षित हुँदै गएको विभागको विश्लेषण छ।

स्रोत: http://annapurnapost.com/news/150712

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More