विदेशी लगानी ७६ प्रतिशत घटयो

November 01, 2018

यज्ञ बञ्जाडे, कान्तिपुर दैनिक, कार्तिक १५,२०७५ 

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) मा १ अर्ब २३ करोड रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करि  ब ७६ प्रतिशतले कम हो ।

०७४ को पहिलो दुई महिनामा ५ अर्ब १० करोड रुपैयाँ एफडीआई भित्रिएको थियो । स्थिर सरकार बनेपछि राजनीतिक अस्थिरता अन्त्य भएको र विदेशी लगानी प्रोत्साहन हुने खालका नीति बनेकाले ठूलो मात्रमा विदेशी लगानी भित्रने अनुमान गरिएका थिए । तर, चालु वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको भन्दा धेरै कम मात्र विदेशी लगानी आएको छ ।

गत साउनमा २९ करोड ५७ लाख रुपैयाँ र भदौमा ९३ करोड ६४ लाख रुपैयाँ गरी दुई महिनामा १ अर्ब २३ करोड २१ लाख रुपैयाँ विदेशी लगानी मुलुक भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ ।

मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएको समयमा ठूलो मात्रामा लगानी घट्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुई महिनाको तथ्यांकको आधारमा समग्र विदेशी लगानी घटयो भनेर विश्लेषण गर्न अप्ठयारो भए पनि एकै पटक ठूलो परिणाममा एफडीआई घट्नुलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने अर्थविद् केशव आचार्यले बताए । ‘अहिले मुलुकमा लगानी वातावरण राम्रो छ, यस्तो अवस्थामा पनि एफडीआई बढ्न नसक्नुले राम्रो संकेत गर्दैन,’ उनले भने, ‘लगानी किन आएन, अझै केही कमी कमजोरी छन् ?’ पहिलो दुई महिनामै लगानी घटयो भनेर रोइकराई गर्नुपर्ने अवस्था नभए पनि आरामले बस्ने अवस्था पनि होइन । उनले भने, ‘विदेशी लगानी घट्नुको कारण र परिणामबारे बेलैमा विशेष कदम हुनुपर्छ ।’

गत वर्षको दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा विदेशी लगानी घटयो भन्दैमा आत्तिहाल्न नहुने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । अघिल्लो वर्ष विदेशी लगानी भित्र्याउन लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न कार्यक्रम भएकाले गत वर्षको दुई महिनामा ठूलो परिणाममा विदेशी लगानी भित्रिएको जनाउँदै उनले भने, ‘गत वर्षको अवस्था विशेष थियो, यसकारण उक्त अवधिलाई यो वर्षसँग तुलना गर्न मिल्दैन ।’

अहिले मुलुकमा लगानीमैत्री वातावरण बन्दै गएकाले वार्षिक रूपमा गत वर्षभन्दा धेरै लगानी भित्रने उनले दाबी गरे । ‘मुलुकमा राजनीतिक स्थिरता छ, लगानीसम्बन्धी नीतिहरू समय सान्दर्भिक परिमार्जन तथा निर्माण गर्ने काम भएको छ,’ उनले भने, ‘मुलुकको डुइङ बिजनेसमा सुधार भएको छ ।’ रकमको आधारमा ठूलो मात्रामा लगानी बढेको नदेखिए पनि विदेशी लगानीकर्ताको चासो निकै बढेकाले वार्षिक रूपमा गत वर्षभन्दा धेरै लगानी आउने उनको अनुमान छ । ‘अन्तर्राष्ट्रिय स्तरमा विदेशी लगानीका लागि नेपाल उपयुक्त छ भन्ने सन्देश गएको छ,’ उनले थपे, ‘यसकारण पनि आउँदा दिनमा विदेशी लगानी बढ्छ ।’ राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष १७ अर्ब ५१ करोड ५१ लाख रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको थियो । अघिल्लो वर्षको तुलनामा यो २९.६८ प्रतिशतले बढेको हो ।

पछिल्ला वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये अधिकांश जलविद्युत्, पर्यटन र सिमेन्ट उद्योगमा आएको छ । यसले ती क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पुष्टि हुन्छ । प्रसस्त सम्भावना हुँदाहुँदै पनि अधिकांश जलस्रोत उपयोग हुन नसकेको, पर्यटन विकासका लागि पर्याप्त अवसर रहेको तथा सिमेन्ट उत्पादनको सम्भावना अत्यधिक देखिएकाले यी क्षेत्र विदेशी लगानीकर्ताको रोजाइमा परेको विज्ञहरू बताउँछन् ।

छिल्ला वर्षमा आर्थिक वृद्धिदर बढ्दै गएको, लगानीसम्बन्धी नीति बनेको, राजनीतिक दल तथा नेताबाट आर्थिक विकासको प्रतिबद्धता आएकोलगायत कारण विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको बताइएको छ । गत वर्ष एकै वर्ष तीन तहको चुनाव सम्पन्न भएको भएको, स्थिर सरकार बनेकाले लामो समयदेखिको राजनितिक संक्रमण अन्त्य भएको छ । अब मुलुकमा आर्थिक गतिविधिले प्राथमिकता पाउने, लगानी बढ्ने भएकाले ठूलो मात्रामा विदेशी लगानी भित्रिने जानकारहरूको दाबी छ ।

नेपालमा खासगरी जलविद्युत्, पर्यटन, प्राविधिक शिक्षा, स्वास्थ्यमा विदेशी लगानीको ठूलो सम्भावना छ । ती क्षेत्रमा लगानी बढाउनका लागि एकद्वार लगानी नीति र लगानी परिचालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सरलीकरण गर्नुपर्ने उनीहरूको सुझाव छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2018/11/01/154104013495062319.html?fbclid=IwAR0kAGU-f5Wm-IWh4HVlkf9Do_gNna-hvhiJmb0pMfuSbyx_2_xvfDl7Niw

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More