विदेश जानेलाई बिर्साउने लर्को

January 15, 2019

सविता शर्मा, गोरखापत्र, ०१ माघ २०७५ 

काठमाडौँ, माघ १ गते । सधैँ वैदेशिक रोजगारमा जान लर्को लाग्ने नेपाली युवा स्वदेशमै व्यवसाय गर्न पनि लर्को लागेका छन् । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कर्जा लिनका लागि वैदेशिक रोजगारबाट फर्केका युवाको लर्को लागेको हो । 


वैदेशिक रोजगारबाट फर्किएर स्वदेशमै व्यवसाय गर्न चाहने युवाका लागि सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा लिनका लागि सोमबारसम्म १८ हजारभन्दा बढीले आवेदन दिएका छन् । विदेशबाट फर्केका युवालाई स्वदेशमै स्वरोजगार बनाउन सरकारले प्रतिव्यक्ति १० लाख रुपियाँसम्मको सहुलियतपूर्ण कर्जा दिने भएको हो । 
चालु आर्थिक वर्ष २०७५/७६ को बजेटमा भएको व्यवस्थाअनुसार यस वर्षबाट पहिलो पटक उक्त कार्यक्रम शुरु गरिएको हो । विदेशमा सिकेको सीपमा आधारित भएर व्यावसायिक परियोजनासहित कर्जाका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको थियो ।व्यावसायिक परियोजनाका आधारमा परियोजना मात्र धितो राखेर विदेशबाट फर्केका युवालाई सहुलियतमा ऋण दिन लागिएको हो । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा श्रम स्वीकृति प्राप्त गरी वा नगरी कुनै पनि देशमा कम्तीमा छ महिना सम्बन्धित तालिम/पेसा/व्यवसाय/ क्षेत्रमा काम गरी स्वदेश फर्केकालाई उक्त कर्जा प्राप्त गर्न सक्ने व्यवस्था छ । 
दुबईको कफीसपमा ११ वर्ष काम गरेर स्वदेशमै केही गर्ने आँटका साथ फर्किएकी काभ्रेकी अजिता ठकुरीले उता सिकेको सिपमा आधारित व्यवसाय गर्न व्यावसायिक योजना बनाएर आवेदन दिएको बताउनुभयो । उहाँले भन्नुभयो – “मैले पाऊँ वा नपाऊँ केही छैन तर जसले साँच्चीकै गर्न चाहेको छ उसले ऋण पाए हुन्थ्यो भन्ने लागेको छ । युवा अवस्थामै केही गर्नुप¥यो भनेर आफू स्वदेश फर्किएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘बस्न त विदेशमै सजिलो छ अब नेपालमै केही शुरु गर्नुप¥यो भनेर फर्किएकी हुँ । ’ 
फाइल समातेर लाइनमा बस्नुभएका ताप्लेजुङका बलराम तामाङले नेपालमै आफ्नो परिवारसँग बसेर काम गर्ने सोचका साथ स्वदेश फर्र्किएको बताउँदै भन्नुभयो, ‘उताको जति कमाइ यहाँ हुँदैन होला घरको खाना खाएर काम गर्न पाइन्छ, मेरो छोराछोरीको हेरचाह पनि त हुन्छ नि । ’ कतारमा पाँच वर्ष बसेर फर्किएका तामाङले नयाँ गाडी किनेर आफैले गुडाउने योजना बनाउनुभएको छ । 
सङ्कलित व्यावसायिक परियोजनाहरूमध्येबाट छनोट गरी कर्जा प्रवाह गरिनेछ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले सरकारको नीति तथा कार्यक्रमअन्तर्गत नै वैदेशिक रोजगारबाट फर्केकालाई पहिलो पटक १० लाखसम्म कर्जा प्रवाह गर्न लागिएको उल्लेख गर्दै भन्नुभयो, ‘व्यावसायिक परियोजनाका आधारमा छनोट हुन्छ, कतिले पाउने निक्र्योल भएको छैन । ’ 
बोर्डले सहयोगी निकायका हैसियतले सूचीकरण गर्न लागेको उल्लेख गर्दै उहाँले सम्पूर्ण विवरणसहित श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बुझाइने बाँकी प्रक्रिया मन्त्रालयमार्फत हुने जानकारी दिनुभयो । उहाँले व्यावसायिक परियोजनाका आधारमा ऋण प्रवाह हुने व्यवस्था भएको खुलाउँदै भन्नुभयो, ‘कुन व्यवसाय र कति सङ्ख्यालाई दिने भन्ने निर्णय हामीले गर्दैनौँ । ’ रिटर्नी माइग्रेन्ट नेपालका महासचिव लक्ष्मीप्रसाद आचार्यले कार्यक्रम सकारात्मक हुँदाहुँदै पनि कार्यविधि पछ्याउन भने गाह्रो भएको बताउनुभयो । उहाँले फर्कनेको अनुपातमा फर्म भर्ने कम भएको उल्लेख गर्दै भन्नुभयो, ‘क्षमताभन्दा बढी लोड भएर अनलाइनमा समस्या आएको छ । ’

सोर्त : http://gorkhapatraonline.com/news/64856

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More