News

विद्यालयको नाममा झाडीभित्र टहरो : न भौतिक पूर्वाधार न त शिक्षक दरबन्दी

February 28, 2018

नयाँ पत्रिका, फागुन १६, २०७४

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१७ मठियानीको सहजनाथ साझेदारी वन क्षेत्रभित्र खरले छाएको र खरकै घेराबेरा भएको एउटा सानो टहरो छ । त्यही टहरोभित्र स्थानीय ७० जना कलिला बालबालिका आफ्नो भविष्य कोरिरहेका छन् ।

 

यो टहरो नेपाल दलित प्राथमिक विद्यालयको हो । नाम विद्यालय भए पनि टहरोभित्र डेक्सबेन्च, कालोपाटी, टेबलकुर्सी केही पनि छैन । भौतिक पूर्वाधार मात्र होइन, निमुखा गरिब, दलित, सुकुमबासीका बालबालिका अध्ययन गर्ने यो विद्यालयमा एउटा पनि शिक्षक दरबन्दी छैन । तर, विद्यालय भने नियमित सञ्चालन हुँदै आएको छ । कक्षा चारसम्म पढाइ हुने यस विद्यालयमा कक्षा दशसम्म पढेकी लक्ष्मी चौधरी शिक्षिका छिन् ।

विद्यालयको प्रधानाध्यापक पनि आफैँ भएको उनले बताइन् । जिल्ला शिक्षा कार्यालय बाराले बाल विकास कोटामा उनलाई शिक्षिकाका रूपमा खटाएको हो । त्यसबापत शिक्षा कार्यालयले चौधरीलाई मासिक ६ हजार रुपैयाँ पारिश्रमिक दिँदै आएको छ । स्थानीय कल्पतियादेवी राम विद्यालयमा कार्यालय सहयोगीका रूपमा खटिएकी छिन् । विद्यालयको हाजिरी रजिस्टरमा ७० जनाको नाम छ । तर, दैनिक ४०–४५ जना बालबालिका नियमित विद्यालय आउने गरेका छन् ।

चारवटा कक्षा एउटै कोठामा
०६६ सालमा साबिकको हरैया गाविस–१ (हाल जितपुरसिमरा नगरपालिका–१७) का दलित सुकुमबासीले आफ्नो गाउँमा विद्यालय खोल्न चाहेका थिए । शिक्षा कार्यालयले विद्यालय सञ्चालनका लागि अनुमति दियो । नाम राखियो नेपाल दलित प्राथमिक विद्यालय । शिक्षा कार्यालयबाट अनुमति पाएपछि स्थानीयले गाउँनजिकैको चारकोशे झाडीभित्र जंगलका लाथ्रा ठड्याएर टहरो तयार गरे ।

त्यही टहरोभित्र घरैबाट लगेको बोरा र पिर्का ओछ्याएर बालबालिका पढिरहेका छन् । विद्यालयमा कक्षाकोठा एउटा मात्र छ । कक्षा एकदेखि चारसम्मका बालबालिका एकै ठाउँमा बसेर पढ्छन् । विद्यालय सञ्चालनका लागि शिक्षा कार्यालयले अनुमति दिए पनि शिक्षक दरबन्दी र भौतिक पूर्वाधार नदिँदा पढनपाठनमा समस्या भएको शिक्षिका लक्ष्मी चौधरीले बताइन् ।

मठिहानीबाट अर्को विद्यालय जाँदा जंगलको बाटो हुँदै जानुपर्छ । ‘घरदेखि टाढाको विद्यालय जान साना बालबालिकालाई गाह्रो हुन्छ, जंगली जनावरको पनि डर हुन्छ भनेर गाउँमै विद्यालय खोल्यौँ,’ स्थानीय रुकेशप्रसादले भने, ‘शिक्षा कार्यालयले विद्यालय खोल्ने अनुमति त दियो, तर शिक्षक दरबन्दी र भवन केही नदिँदा विद्यालय सञ्चालनमा समस्या भएको छ ।’ विद्यालयका अधिकांश बालबालिकाका अभिभावक मजदुर हुन् । उनीहरूले स्थानीय खोलामा गिट्टी कुट्ने, बालुला चाल्ने, ट्र्याक्टरमा ढुंगा भर्नेलगायतका काम गरेर जीविका चलाउँदै आएका छन् ।

डुमरवाना स्रोतकेन्द्रका विद्यालय निरीक्षक श्यामसुन्दर सापकोटाले मठिहानीमा विद्यालय सञ्चालन हुन नसक्ने बताए । ‘विद्यार्थीको संख्या पनि थोरै छ, भौतिक पूर्वाधार पनि छैन,’ उनले भने, ‘विद्यालयलाई नजिकैको अन्य विद्यालयमा गाभ्नुपर्ने राय मैले शिक्षा कार्यालयलाई दिएको छु ।’ सापकोटाले विद्यालयको आफ्नो जमिन नहुँदा शिक्षा कार्यालयले भवन निर्माण नगरेको दाबी गरे । ‘जंगल मासेर संरचना बनाउन नमिल्ने भएकाले शिक्षा कार्यालयले लगानी नगरेको हो,’ उनले भने ।

स्रोत: www.enayapatrika.com/2018/02/28/27973/