News

विद्यालय शिक्षाः नीति फरक परिणाम उही

July 01, 2018

कमल रिमाल, हिमाल खबर, १६ असार २०७५ 

कक्षा १० को नतिजा अक्षरांकन प्रणालीमा निकाल्न थालेको तीन वर्ष बितिसक्दा पनि अंकमा गरिएको मूल्यांकन अक्षरमा रूपान्तरण गर्ने बाहेक थप उपलब्धि हासिल हुनसकेको छैन ।

काठमाडौंको, गोंगबुस्थित लार्के आवासीय विद्यालयको कक्षा १० मा अध्ययनरत आयुष बस्नेत (१५) बिहान ६ देखि ९:३० बजेसम्म अतिरिक्त कक्षा (ट्यूसन) पढ्छन् । त्यसपछि उनी खाना खान घरमा आउँछन् । दिउँसो नियमित कक्षाहरू पढ्छन् र पुनः बेलुकी ५ देखि ६ बजेसम्म विद्यालयमै ट्यूसन पढ्छन् । 

यस वर्षको शैक्षिक सत्र शुरू भएको दोस्रो महीनादेखि नै बिहान र बेलुकी अतिरिक्त कक्षा पढ्न थालेको आयुष बताउँछन् । उनले बिहान तीन र बेलुकी दुई गरी पाँच विषय अतिरिक्त समयमा पढ्छन् । यसका लागि उनका अभिभावकले मासिक थप रु.३ हजार तिरिरहेका छन् ।

यहाँ पढ्ने आयुष लगायत कक्षा १० का ३० विद्यार्थीको दैनिक ११ घन्टा विद्यालयमै बित्ने गरेको छ । यसरी लगातार पढ्नुपर्दा सिकाइ र बुझाइ बढ्ने भए पनि शारीरिक र मानसिक रूपमा थकित महसूस हुने गरेको विद्यार्थीको गुनासो छ ।

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ढकालका अनुसार विद्यार्थीको आन्तरिक परीक्षामा आएको नतिजा र अभिभावकको सल्लाहका आधारमा अतिरिक्त कक्षाहरू सञ्चालनमा ल्याइएको हो ।

काठमाडौंकै बानियाँटारस्थित फ्लोरेसेन्ट माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत अनुजा अधिकारी पनि बिहान ६ देखि ९ बजेसम्म अतिरिक्त कक्षा पढ्ने गर्छिन् । दिउँसो विद्यालयमा पढाइ हुने नियमित कक्षाहरू त छँदैछन्, दिनहुँ अतिरिक्त कक्षासँगै प्रत्येक साता एउटा विषयको परीक्षा लिने व्यवस्था विद्यालयले गरेको छ ।

फ्लोरेसेन्ट माविका प्रधानाध्यापक कमल न्यौपाने एसईई नतिजाकै आधारमा विद्यालयको वर्गीकरण हुने भएकाले कक्षा १० मा विद्यार्थीलाई मिहिनेत गराउनुपरेको बताउँछन् । उनी भन्छन्, “लेटर ग्रेडिङ प्रणालीका कारण विद्यार्थीमा नपढे पनि पास भइने रहेछ भन्ने मानसिकता विकास भएको देखिन्छ । साथै, प्रतिस्पर्धाको भावनामा समेत ह्रास आएकाले उनीहरूलाई पढ्नमा थप जोड दिन थालिएको हो ।”

फ्लोरेसेन्ट माविले कक्षा १० का विद्यार्थीका लागि बिहान ६ देखि ९ बजेसम्म अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । यसरी अतिरिक्त कक्षा लिएबापत कक्षा १० का विद्यार्थीले प्रति विषय रु.५०० का दरले मासिक रु.१५०० विद्यालयलाई बुझाउने गर्छन् ।

साउथवेस्टर्न स्टेट स्कूल, बसुन्धाराका प्रधानाध्यापक मनोज आचार्य प्याब्सन अन्तर्गत मंसीरमा हुने प्रि–सेन्ट अप परीक्षा हुनुअघि कक्षाहरू सकिसक्नुपर्ने भएकाले विद्यार्थीलाई अतिरिक्त पढाइमा सामेल गराउनुपरेको बताउँछन् ।

उनी भन्छन्, “कलिला विद्यार्थीलाई पेलेर पढाउँदा बाल मस्तिष्कमा थकान महसूस भई उनीहरूमा मनोवैज्ञानिक असर पर्छ भन्ने थाहा हुँदाहुँदै पनि विद्यालयको प्रतिष्ठा कक्षा १० को नतिजासँग जोडिएकाले अतिरिक्त कक्षाहरू सञ्चालन गर्न बाध्य हुनुपरेको छ ।”

आफ्नो विद्यालयमा कक्षा १० का सबै विद्यार्थीका लागि बिहान ६ः३० देखि ९ः३० बजेसम्म र बेलुकी ४ देखि ५:३० बजेसम्म अनिवार्य अतिरिक्त कक्षाहरू सञ्चालन भइरहेको उनले बताए ।

पछिल्ला तीन वर्षयता कक्षा १० को अन्तिम परीक्षाको नतिजा अंकमा नभई लेटर ग्रेडिङ अर्थात् अक्षरांकन पद्धति अनुसार निकाल्ने गरिएको छ ।

विद्यार्थीलाई बढी अंक ल्याउन प्रोत्साहित गरी त्यसैका आधारमा विद्यालयको प्रतिष्ठा जोगाउने पुरानो प्रचलनलाई निरुत्साहित गर्नु पनि लेटर ग्रेडिङ प्रणालीमा जानुको प्रमुख उद्देश्य थियो ।

प्रणाली फेरिंदा पनि कक्षा १० को पढाइमा निजीले मात्र नभई सामुदायिक विद्यालयले समेत पुरानै पद्धतिलाई पछ्याइरहेका छन् । जसका कारण विद्यार्थीमाथि पढाइका नाममा थपिएको मानसिक बोझ् जस्ताको तस्तै छ ।

राजधानीमा अतिरिक्त कक्षा चलाइरहेका सामुदायिक विद्यालयमध्ये काठमाडौं, त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालय पनि पर्छ । यहाँ कक्षा १० मा अध्ययनरत समीक्षा ज्ञवालीले बिहान ८ देखि १०:३० बजेसम्म विद्यालयले चलाएको अनिवार्य कोचिङ कक्षा पढ्छिन् ।

त्यसपछिको १५ मिनेट छुट्टीमा विद्यालयको क्यान्टिनमा खाना खान उनलाई भ्याईनभ्याई हुन्छ । दिउँसोका नियमित कक्षाहरू सकिएपछि उनले पुनः बेलुकी ५ देखि ६ बजेसम्म अतिरिक्त कक्षा पढ्नुपर्छ । बिहान ७:३० बजे विद्यालय हिंडेकी उनी बेलुकी ७ बजेतिर (झ्ण्डै १२ घन्टापछि) मात्र घर फर्किन्छिन् ।

यसरी अतिरिक्त कक्षा पढेबापत समीक्षाका अभिभावकले विद्यालयलाई मासिक रु.१२०० शुल्क तिर्ने गरेका छन् । लगातार ११ घन्टा विद्यालयमा पढ्नुपर्दाको अनुभवबारे उनी भन्छिन्, “एक वर्षसम्म यस्तै प्रेसर हुन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । किनभने, मभन्दा पहिले १० कक्षामा पुगेका दाइ–दिदीहरूले पनि यसरी नै पढ्नुभएको थियो ।” १० कक्षामा पुगेपछिको एक वर्षलाई सबैभन्दा बढी मिहिनेत गर्नुपर्ने समयका रूपमा आफूले बुझेको उनले बताइन् ।

सामुदायिक विद्यालयमा ‘नमूना छवि’ बनाएको विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेल भन्छन्, “कक्षा १० को नतिजा हेरेर विद्यालयको चर्चा–परिचर्चा हुने भएकाले पनि कक्षा १० लाई विशेष प्राथमिकताका साथ अतिरिक्त कक्षामा राखेर पढाउनुपरेको हो ।” उनका अनुसार कक्षा १० का विद्यार्थीका लागि विद्यालयले प्रत्येक शनिबार परीक्षा लिनुका साथै जाडो विदामा समेत पढाइ हुने व्यवस्था गरेको छ ।

कक्षा १० को नतिजा अंकमा नभई अक्षरमा आउने भएपछि विद्यार्थी अल्छी हुन थालेको उपत्यकाकै अर्को सामुदायिक विद्यालय, मनोहर मावि, सामाखुसीका प्रधानाध्यापक वासुदेव अधिकारी बताउँछन् । उनी भन्छन्, “पढाइलाई बेवास्ता नगरून् भनेर पनि झ्न् धेरै मिहिनेत गराउन थालेका छौं ।”

मनोहर माविले १० कक्षामा पढ्ने विद्यार्थीका लागि बिहान ६ देखि ९ बजेसम्म कोचिङ कक्षा चलाइरहेको छ । त्यसबाहेक प्रत्येक शनिबार कक्षा १० का विद्यार्थीलाई परीक्षामा सहभागी गराउने तयारी भइरहेको प्रधानाध्यापक अधिकारीले बताए ।

विराटनगरस्थित सेन्ट जोसेफ उमाविको कक्षा १० मा अध्ययनरत अइसान सेख आगामी एसईईको तयारीका लागि अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा पढ्दैछन् । छोराको अतिरिक्त कक्षाका लागि विद्यालयलाई मासिक थप रु.२ हजार बुझउने अइसानका बाबु इस्राफिल सेख बताउँछन् । उनी भन्छन्, “जेठो छोरालाई १० कक्षामा ट्यूसन, गर्मी बिदापछि कोचिङ र दोस्रो त्रैमासिक परीक्षापछि होस्टल राखेर पढाउनुपर्नेछ ।”

विद्यार्थीको अधिकारका लागि काम गर्दै आएको एजुकेसन हेल्प लाइन, विराटनगरका अध्यक्ष राजेन्द्र ढकाल यहाँका विद्यालयले होस्टलमा राखेर पनि विद्यार्थीलाई ट्यूसन पढाउने गरेको बताउँछन् । ढकाल भन्छन्, “साँझ ४ बजे कक्षा सकेर होस्टल पुगेको विद्यार्थीलाई ट्यूसन पढाइन्छ । विद्यालयमै पनि कोचिङ पढाइन्छ ।”

यसरी विद्यालयहरूले अतिरिक्त कक्षा सञ्चालन गरेर कलिला विद्यार्थीमा मानसिक बोझ् तथा अभिभावकमा अतिरिक्त शुल्कको भार थोपरिरहेका छन् । पढाइका नाममा मानसिक बोझ् खेपिरहेका विद्यार्थी र आर्थिक बोझ् खेपिरहेका अभिभावक दुवैलाई यी कुरा सामान्य र स्वाभाविक लाग्छन् ।

अंकलाई अक्षरमा मात्र परिवर्तन
सरकारले २०७२ देखि कक्षा १० को अन्तिम परीक्षाको नतिजा ‘लेटर ग्रेडिङ’ अर्थात् अक्षरांकन पद्धतिमा प्रकाशन गर्न थालेको हो । विद्यार्थीले कति अंक ल्याए भन्दा पनि के के सिके भन्ने कुरालाई मध्यनजर गर्दै उक्त प्रणाली ल्याइएको शिक्षा मन्त्रालय, योजना महाशाखा प्रमुख वैकुण्ठ अर्याल बताउँछन् ।

ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशन हुन थालेको तीन वर्ष बितिसक्दा पनि विद्यालयले विद्यार्थीलाई पढाउने नाममा थोपरिरहेको मानसिक र आर्थिक बोझ् उस्तै छ ।

शिक्षाविद् विद्यानाथ कोइराला पनि फेरिएको परीक्षा–नीति र नफेरिएको शिक्षण पद्धतिदेखि सन्तुष्ट छैनन् । उनी भन्छन्, “परीक्षाको नतिजा प्रकाशन गर्ने ढाँचा मात्र बदलेर शिक्षण पद्धति सुध्रिन्छ भन्ने भ्रममा पर्नु मूर्खता हो ।

एसएलसीको नाम बदलेर एसईई बनाइयो, विद्यार्थीले परीक्षामा ल्याएको अंकलाई बदलेर अक्षरमा रूपान्तरण गरियो, तर पढाउने विधि, परीक्षाको प्रश्नपत्र र मूल्यांकन गर्ने शिक्षक सबै उस्तै छन् ।”

अंकलाई अक्षरमा बदलेर निकालिने कक्षा १० को अन्तिम परीक्षा नतिजाले मात्रै विद्यार्थीको सिकाइको मूल्यांकन नहुने र अक्षरांकन पद्धतिको मर्मलाई नसमेट्ने कोइरालाको धारणा छ । उनी भन्छन्, “यसले कुनै पनि शिक्षक, विद्यालय र अभिभावकले पढाइका लागि विद्यार्थीमाथि बोझ् थप्ने परम्परामा परिवर्तन ल्याएको छैन ।

उल्टै पढे पनि पास, नपढे पनि पास भन्ने भ्रम उत्पन्न गरेको छ ।” उनका अनुसार कक्षा कोठाभित्रको शिक्षण विधिमा परिवर्तन नभई लेटर ग्रेडिङ प्रणालीको मर्म नतिजामा झ्ल्किन असम्भव छ ।

अक्षरांकन पद्धतिले विद्यार्थीलाई ‘फेल’ को ट्याग लगाएर हिंड्नुनपर्ने बाहेक अरू कुनै किसिमको मनोवैज्ञानिक राहत दिन नसकेको शिक्षाविद् मनप्रसाद वाग्ले बताउँछन् । उत्तरपुस्तिकालाई अंकमा मूल्यांकन गरेर अक्षरमा रूपान्तरण गर्ने हालको प्रणालीले केही उपलब्धि दिन नसकेको उनको भनाइ छ ।

यस्तो अभ्यासले विद्यार्थीमा पढ्नुपर्दैन भन्ने मानसिकताको बीजारोपण गरिदिएकाले गएको तीन वर्षमा शैक्षिक उपलब्धि झन खस्किएको उनी बताउँछन् । वाग्ले भन्छन्, “वास्तविक ग्रेडिङ प्रणाली भनेको उत्तरपुस्तिकाको मात्र नभएर समग्र विद्यार्थीकै मूल्यांकन हो ।

विद्यार्थीको वर्षभरिको क्रियाशीलता, अनुशासन, मनोवृत्ति, गृहकार्य, प्रस्तुति, व्यवहार र परीक्षागत प्रस्तुतिलाई हेरेर विद्यार्थीको मूल्यांकन अक्षरमा गरिनु नै ग्रेडिङ प्रणाली हो ।” पर्याप्त गृहकार्य नगरी लहडका भरमा अक्षरांकन पद्धति लागू गरिएकाले पढाउने तौरतरिका बदलिन नसकेको उनको धारणा छ ।

शिक्षा मन्त्रालय, योजना महाशाखा प्रमुख अर्यालका अनुसार प्रभावकारी मूल्यांकन, सहजता, विद्यार्थीलाई कम दबाब, सुधारमुखी ग्रेड, सिकाइकेन्द्रित पढाइ र स्वस्थ प्रतिस्पर्धा नै अक्षरांकन पद्धतिको विशेषता हो । अक्षरांकन पद्धतिको मर्म अनुसार एसईईको नतिजा प्रकाशन गर्न नसकिए पनि त्यसको मर्म सिकाइकेन्द्रित भएको अर्याल बताउँछन् ।

ग्रेडिङ प्रणालीको मर्मविपरीत विद्यालयहरूले विद्यार्थीलाई अनिवार्य रूपमा अतिरिक्त कक्षामा सहभागी गराइरहँदा नियमन र अनुगमन गर्ने अभ्यास भने नभएको अर्याल स्वीकार्छन् । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई राम्रो ग्रेड दिलाउन भन्दा पनि प्रतिष्ठा आर्जनका लागि अतिरिक्त कक्षा सञ्चालन गर्दा विद्यार्थीमाथि मानसिक दबाब र अभिभावकमाथि आर्थिक बोझ् थपिएको उनी स्वीकार्छन् ।

किन ल्याइयो ग्रेडिङ प्रणाली ?
विषयगत क्षमतालाई परिभाषित गर्न भनी शिक्षा तथा खेलकुद मन्त्रालयले २०६१ सालमा गठन गरेको अध्ययन तथा सुझव समूहले परीक्षा नतिजालाई अंकमा नभई अक्षरमा वर्गीकरण गरेर प्रकाशन गर्न मन्त्रालयलाई सुझाएको थियो ।

समूहमा शिक्षाविद्द्वय डा. केदारभक्त माथेमा र मीनबहादुर विष्ट संलग्न थिए । एउटा विषयमा कमजोर हुँदैमा विद्यार्थीलाई परीक्षामै अनुत्तीर्ण गरी अन्य विषयमा आधारित कैयौं अवसरबाट वञ्चित हुनुपर्ने अवस्थालाई अन्त्य गर्न लेटर ग्रेडिङ प्रणाली उपयुक्त हुने समूहको निष्कर्ष थियो ।

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले २५ मंसीर २०७१ मा अक्षरांकन पद्धतिमा जाने निर्णय गर्‍यो । २०७१ को एसएलसीबाटै १०० वटा प्राविधिक विद्यालयमा अक्षरांकन पद्धति लागू भयो । त्यसपछि विद्यार्थीको लब्धांकपत्रमा उत्तीर्ण वा अनुत्तीर्णको सट्टा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) र ग्रेड मात्रै उल्लेख गर्न थालिएको हो ।

त्यसयता परीक्षा नियन्त्रण कार्यालयले ४ पूर्णांकको जीपीए– ए प्लस, ए, बी प्लस, बी, सी, डी प्लस र डी र ई ग्रेडमा कक्षा १० को अन्तिम परीक्षाको नतिजा सार्वजनिक गर्न थालेको हो ।

त्यसका अतिरिक्त प्लस–टु शिक्षा अर्थात् कक्षा ११ र १२ लाई माध्यमिक तहकै संरचनाभित्र समेट्ने गरी दुई वर्षअघि भएको शिक्षा ऐन २०२८ को आठौं संशोधन लागू भएसँगै कक्षा १० को अन्तिम परीक्षालाई प्रवेशिका (एसएलसी) को सट्टा माध्यमिक तह उत्तीर्ण (एसईई) मा रूपान्तरण गरियो । सँगसँगै उच्च माध्यमिक शिक्षा ऐन, २०४६ खारेज गरी एकलपथीय मार्ग अन्तर्गत कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहकै निरन्तर कक्षाका रूपमा मान्यता दिइयो र कक्षा १० को अन्तिममा लिइँदै आएको एसएलसी परीक्षालाई कक्षा १२ को अन्त्यमा लिने कानूनी व्यवस्था गरियो ।

२२ जेठ २०७३ सालमा तत्कालीन व्यवस्थापिका संसदबाट संशोधन भएको ऐनको मस्यौदालाई विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) अन्तर्गत शिक्षा मन्त्रालयले २०६७ सालमै तयार पारेको थियो । एसएसआरपीले दिएको सुझव अनुसार नै विद्यालय शिक्षाको संरचना परिवर्तन गरेर ९ देखि १२ कक्षालाई माध्यमिक तह बनाइएको हो ।

शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय अवधारणा अनुसार पनि कक्षा १२ सम्मको पढाइ विद्यालय शिक्षा नै हो । तीव्र रूपमा शारीरिक एवं मानसिक परिवर्तन हुने १९ वर्षमुनिका छात्रछात्रालाई उनीहरू अनुकूल वातावरणमा पढाउन र मानसिक बोझ् नदिन आवश्यक ठानेर यो अवधारणा ल्याइएको थियो ।

नञ्जय शर्मा, पूर्व प्रधानाध्यापक
(ज्ञानोदय मावि बाफल, काठमाडौं)

नाम नयाँ, परम्परा पुरानै

१० कक्षामा पुगेर विद्यार्थीलाई एकैचोटि पढाइको बोझ थप्नु राम्रो होइन । यस्तो बोझबाट मुक्त गर्न विद्यालयमा प्राथमिक तहदेखि नै योग्य शिक्षकको व्यवस्था गरेर नियमित कक्षाबाटै विद्यार्थीको पढाइको जग बलियो बनाउनुपर्छ । अर्को कुरा, कक्षा १० को नतिजालाई विद्यालयको मानक र सूचक बनाएका कारण यस्तो परम्परा बसेको हो ।

खासमा कक्षा १० को नतिजा आफैंमा सूचक होइन, एउटा आधार मात्रै हो । हाम्रो समाज र सरकारले कक्षा १० मा कति विद्यार्थीले कति ग्रेड ल्याए भन्ने कुरालाई समेत आधार बनाएर विद्यालयको मूल्यांकन गरी नमूना विद्यालय छान्ने परिपाटी बसालेको छ, यो नै त्रुटिपूर्ण छ ।

परीक्षाको नतिजाले विद्यार्थीमा मनोवैज्ञानिक असर नपारोस् भनेर लेटर ग्रेडिङ प्रणाली ल्याइएको थियो । कार्यान्वयनमा आएको तीन वर्ष भइसक्दा पनि यसले विद्यार्र्थीको उपलब्धिमा खासै परिवर्तन ल्याएन । अहिले प्रचलनमा रहेको ग्रेडिङ प्रणाली यसको मर्म अनुसार आएको छैन ।

केवल अंकलाई अक्षरमा परिवर्तन गर्ने काम भइरहेको छ । विद्यार्थीको आनीबानी, आचरण, स्वभाव र क्रियाकलापको निरन्तर मूल्यांकन गरेर समग्रतामा नतिजा निकालिनुपर्ने हो । पुरानै शैलीका प्रश्नपत्रमा आधारित एसईईको उत्तरपुस्तिका जाँचेर अंकमा आएको नतिजालाई अक्षरमा बदल्ने काम मात्र भइरहेको छ ।

विद्यार्थीले घोकेर कण्ठस्थ बनाएका सूचनालाई दिमागमा कति संग्रह गर्न सके भन्ने आधारमा उनीहरूको स्मरणशक्तिको मात्र परीक्षण गर्ने परम्परा नबदलिएसम्म परीक्षाको नतिजामा सुधार नआउने निश्चित छ । यो प्रवृत्तिले विद्यार्थीलाई सिकाइकेन्द्रित हुनबाट वञ्चित गरिरहेको छ ।

स्रोत: http://himalkhabar.com/news/7856