विद्युत् उत्पादनको अन्तिम चरणमा खानीखोला–१

February 26, 2018

श्याम खतिवडा, नयाँ पत्रिका, फागुन १४, २०७४

२ महिनाभित्रै पहिलो चरणको २५ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी – ४० मेगावाट क्षमताको खानीखोला–१ जलविद्युत् आयोजना विद्युत् उत्पादन गर्ने अन्तिम चरणमा पुगेको छ ।

आयोजनाले आगामी चैत अन्तिम साता पहिलो चरणको २५ मेगावाट विद्युत् उत्पादन गर्ने तयारी गरेको हो ।

दुई चरणमा जम्मा ४० मेगावाट उत्पादन गर्ने आयोजनाले पहिलो चरणको २५ मेगावाट विद्युत् उत्पादनको तयारी अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत विकास कार्कीले जानकारी दिए । आयोजनाको ९३ प्रतिशत काम पूरा भइसकेको जनाइएको छ ।

आयोजना दोलखाको गौरीशंकर गाउँपालिकाको साबिक मार्बु–९ को खानी खोला र हनबु खोलाको दोभानमा पर्छ ।

त्यहाँ भूमिगत रूपमा पावरहाउस निर्माण काम अन्तिम चरणमा पुगेको छ । अधिकृत कार्कीका अनुसार खानी खोलालाई फर्काएर साढे २ किलोमिटर हेडरेस सुरुङ निर्माण गरी पावरहाउससम्म ल्याउने काम झन्डै ९५ प्रतिशत सम्पन्न भइसकेको छ ।

अब केही दिनभित्रै पेनस्टक जडानको काम पनि सकिने इन्जिनियर गोविन्द अर्यालले जानकारी दिए । आयोजनाको गे्रस हेड ९ सय ६३ मिटर छ । उनले हेडरेस र ठाडो सुरुङको काम पूरा भएको बताए ।

गौरीशंकर गाउँपालिकाअन्तर्गत साबिक मार्बु गाविसको उच्च भूभागमा सो आयोजना निर्माणाधीन छ । आयोजनामा मंसिर लागेपछि सुरुङभित्र बाहेक बाहिरी सतहमा चिसोका कारण काम गर्न नसकिने स्थानीयहरूले बताएका छन् ।

सुरुङभित्र तापक्रम पुग्ने भएकाले मेसिन जडानलगायतको काम गर्न सके पनि उक्त समयमा बाहिरका कामहरू गर्न नसकिने आयोजना प्रमुख सुवास बरालले जानकारी दिए ।

आयोजनाको हेडबक्स (बाँध, इन्टेक, पानी थिग्र्याउने पोखरी)को काम गर्ने ठाउँमा मंसिरदेखि मध्य–फागुनसम्म हिउँ, तुसारो जम्ने भएकाले समयमा काम सम्पन्न गर्नमा ढिलाइ भएको आयोजना प्रमुख बरालको भनाइ छ ।

आयोजनाको काम ५ वर्षअघि सुरु भएको हो । काम सुरु गर्न आयोजनाको प्रवद्र्धक कम्पनी ग्रिनलाइफ इनर्जी प्रालिले भार्लेदेखि पावरहाउस कोप्लाङसम्म ३० किलोमिटर सडक आफैँले निर्माण गरी प्रयोग गरिरहेको छ ।

त्यहाँबाट सामान ढुवानीका लागि हेडबक्ससम्म रोप वे मेसिनको प्रयोग गरी काम गरिएको आयोजना प्रमुख बरालले जानकारी दिए । रोप वे प्रयोग गर्ने जलविद्युत् आयोजनामध्ये नेपालमा यो पहिलो आयोजना हो ।

४ वटा खोलामा आयोजनाका छुट्टै बेलिब्रिज
सरकारले निर्माण गर्न लागेको लादुक र सुरी जोड्ने तामाकोसी नदीमा पुलको काम ढिला भएपछि आयोजना आफैँले बेलिब्रिज सञ्चालनमा ल्याई बाटो सञ्चालनमा ल्याएको थियो ।

आयोजनाले तामाकोसीसहित, गुरुम्फी, घट्टेखोलालगायत ४ ठाउँमा बेलिब्रिज राखेर सडक सञ्चालन गरिरहेको छ ।

नियमित सडक सञ्चालनमा आएपछि सर्वसाधारणलाई सहज भएको स्थानीय श्यामसुन्दर तामाङले बताए । सरकारले आयोजनाको काम सुरु हुनुअगावै ठेक्का लगाएको भोर्लेको पुल र घट्टे खोलाको पुल कहिले पूरा हुने अझै टुंगो छैन ।

आयोजना प्रमुख बरालका अनुसार आगामी चैत अन्तिम साता पहिलो चरणमा खानी खोलाको पानी फर्काएर २५ मेगावाट विद्युत् उत्पादन गर्नेछ ।

दोस्रो चरणमा हनबु खोलाको पानी फर्काएर हेडबक्समा खसालेपछि थप १५ मेगावाट थप हुनेछ । तर, आयोजनाको हेडबक्स, सुरुङ, पावरहाउस सबै ४० मेगावाट क्षमताकै लागि तयार भएका छन् ।

भूकम्प र नाकाबन्दीले २ वर्ष ढिलाइ
‘भूकम्प र नाकाबन्दीको असरका कारण २ वर्षअघि आयोजना पूरा भइसक्थ्यो,’ आयोजना प्रमुख बरालले भने, ‘भूकम्प र नाकाबन्दीका कारण डेढ वर्ष काम गर्नै सकिएन, गत वर्षको बर्खापछि मात्रै सडक मर्मत गरेर काम सुचारु गरेका थियौँ ।

बल्ल अन्तिम चरणमा पुगेका छौँ, नयाँ वर्षमा बिजुली बल्नेछ ।’ भूकम्पका कारण अवरुद्ध सडक निर्माणपछि लगत्तै आयोजनाले काम सुरु गरेको थियो ।

स्रोत: www.enayapatrika.com/2018/02/26/27348/

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More