विद्युत् प्राधिकरणको नाफा दुई अर्ब ८४ करोड

April 15, 2019

नागरिक, बैशाख ०२, २०१९ 

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५ मा खुद नाफा दुई अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।महालेखा परीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६औं वार्षिक  प्रतिवेदनअनुसार प्राधिकरणको जगेडा तथा संचित कोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक छ।

आव २०७२/७३ मा जगेडा तथा संचित कोष २६ अर्ब ३३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक थियो। गत वर्षको तुलनामा बिक्रीमा खुद नाफा र चालु सम्पत्तिमा दायित्व अनुपात बढेको तथा ऋणको अनुपात, कुल खर्चमा कर्मचारी खर्च अनुपात र वितरण नोक्सान घटेको छ। विगतको तुलनामा प्राधिकरणको वित्तीय अवस्था सुधारोन्मुख देखिएको महालेखाले उल्लेख गरेको छ। कार्यकारी निर्देशक कुलमान घिसिङले गत भदौमा आव २०७४/७५ मा एक अर्ब एक करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपणसहितको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए। महालेखा परीक्षक कार्यालयले गरेको अन्तिम लेखा परीक्षणमा प्राधिकरणको खुद नाफा दुई अर्ब ८४ करोड ८१ लाख रुपैयाँ देखिएको हो।

२०७३ को भदौमा घिसिङ कार्यकारी निर्देशकमा नियुक्त हुँदा प्राधिकरण आठ अर्ब ८९ करोड खुद नोक्सानीमा थियो। उनले व्यवस्थापकीय कुशलताबाट मुलुकबाट लोडसेडिङ अन्त्य मात्रै गरेनन् घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजान पनि सफल भएका छन्। घिसिङको नेतृत्वमा विद्युत् चुहावट नियन्त्रण, प्रशासनिक र वित्तीय सुधारका लागि चालिएका कदमबाट आव २०७३/७४ मा प्राधिकरणले एक अर्ब ४६ करोड ७३ लाख रुपैयाँ खुद संस्थालाई नाफा कमाएको थियो। आव २०७४/७५ मा नाफा बढेर झन्डै तीन अर्ब पुगेको छ।

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्य, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयनलगायतबाट प्राधिकरण खुद नाफामा जान सफल भएको हो। प्राधिकरणको सेयर पुँजी एक खर्ब दुई अर्ब ४४ करोड, दीर्घकालीन दायित्व एक खर्ब २० अर्ब ९५ करोड ४३ लाख र चालु दायित्व ८४ अर्ब ७७ करोड ८० लाखसमेत कुल पुँजी तथा दायित्व दुई खर्ब ८४ अर्ब ५७ करोड २१ लाख रुपैयाँ रहेको छ। अचल सम्पत्तितर्पm स्थिर सम्पत्ति एक खर्ब १२ अर्ब ९८ करोड, निर्माणाधीन सम्पत्ति ७७ अर्ब ६१ करोड तथा लगानी २९ अर्ब ९४ करोडसमेत दुई खर्ब २० अर्ब ५३ करोड ३० लाख र चालु सम्पत्ति ६४ अर्ब तीन करोड ८९ लाख रुपैयाँ रहेको छ। गत वर्ष एक अर्ब ४६ करोड ७३ लाख रहेकामा यस वर्ष दुई अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ।

गत आवमा विद्युत् चुहावट २०.४५ मा झार्न प्राधिकरण सफल भएको छ। उत्पादन, प्रसारण तथा वितरण चरणमा विद्युत् चुहावट २०७३/७४ को तुलनामा २.४५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष २२.९० प्रतिशत विद्युत् चुहावट थियो। प्राधिकरणले चालु आव २०७५/७६ को पहिलो पाँच महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झारेको छ। चालु आवमा विद्युत् चुहावट १८.५ प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ। आव २०७३/७४ मा प्रसारण नोक्सान पाँच प्रतिशत रहेकामा गत आवमा ५.६३ प्रतिशत पुगेको छ। आव २०७३/७४ मा १६.८२ प्रतिशत रहेको वितरण नोक्सान घटेर  १४.८२ मा झरेको छ। प्रसारण नोक्सान गर्त वर्षको तुलनामा ०.६३ प्रतिशतले बढेको छ भने वितरण नोक्सान गत वर्षको तुलनामा दुई प्रतिशतले घटेको महालेखाले जनाएको छ।

प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने, महशुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरणलगायत काम अभियानकै रुपमा चलाइरहेको छ।

सोर्त: https://nagariknews.nagariknetwork.com/news/74024/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More