विद्युत् महसुल असुलीमा वृद्धि

February 14, 2018

कान्तिपुर, फागुन १, २०७४

दमक — विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले विद्युत् चोरी नियन्त्रण अभियानलाई तीव्र पारेको छ । केन्द्रले हुकिङ र मिटर बाइपास गरेर विद्युत् चोरी गर्नेहरूको नियन्त्रण तीव्र पारेको हो ।

चुहावट नियन्त्रण शाखाका सुपरभाइजर महेश दाहालका अनुसार चालु वर्षको साउनदेखि माघ २८ गतेसम्म ८० जनालाई कारबाही गरिएको छ । उनीहरूबाट १७ लाख २६ हजार ५ सय ९ रुपैयाँ असुली गरेको दाहालले बताए । उनका अनुसार विद्युत् चोरी गर्नेमा मिटर बाइपास गरेर बढी छन् ।

केन्द्रअन्तर्गत ठूलो मात्रामा रहेको चुहावटलाई नियन्त्रण गर्ने अभियानलाई प्रभावकारी बनाएको केन्द्र प्रमुख राजीब सिंहले बताए । उनले अभियानअन्तर्गत ग्रामीण क्षेत्रमा हुकिङ गर्नेमाथि निगरानी बढाएको, कारबाहीमा परेकालाई जरिवान तिराएको, मिटर रिडरको छड्के जाँच गर्ने, जडान भएका मिटरको निरीक्षण तथा मिटर लिन आउने ग्राहकलाई तत्कालै उपलब्ध गराउने गरेको बताए ।

सिंहका अनुसार गौरीगन्ज, खजुरगाछी, जुरोपानी, तोपगाछीलगायत क्षेत्रमा हुकिङ गरी विद्युत् चोरी गर्ने बढी पाइएको छ । झिलझिले, दूधे, गौरादह, दमक क्षेत्रमा मिटर बाइपास गरी विद्युत् चोरी गर्नेको संख्या बढिरहेको उनले बताए । नियन्त्रण अभियानलाई तीव्र पारेपछि केन्द्र अन्तर्गतको चुहावट घटेको सिंहले बताए ।

आर्थिक वर्ष २०७३/०७४ मा विद्युत् चुहावट २३.४१ प्रतिशत थियो । अभियान सञ्चालनमा ल्याएपछि चुहावट १९ दशमलव ५ प्रतिशतमा झरेको उनले बताए । चालु आर्थिक वर्षको अन्त्यसम्ममा चुहावट १८.८४ प्रतिशतमा झार्ने लक्ष्य राखेको सिंहले बताए । चुहावट नियन्त्रण अभियान सञ्चालनपछि केन्द्रको महसुल असुलीमा वृद्धि भएको छ । लेखा अधिकृत मदन पौडेलका अनुसार केन्द्रको राजस्व संकलन अहिले १०८ प्रतिशत पुगेको छ । उनले लामो समयदेखि महसुल नतिरेका ग्राहकको लाइन काटेर बक्यौता असुली कार्यलाई तीव्र पारेको बताए ।

चालु वर्षको छ महिनामा तीन सय ३० जना ग्राहकको लाइन काटिएको छ । लाइन काटिएकाबाट ४४ लाख १० हजार ९ सय ७७ रुपैयाँ बक्यौता उठाउनुपर्नेमा दुई सय ७० ग्राहकले ३९ लाख ५२ हजार एक सय ९६ रुपैयाँ बुझाएको पौडेलले बताए । बक्यौता असुलीअघि केन्द्रको असुली ९८ प्रतिशत थियो । पौडेलका अनुसार महसुल तिर्ने समयावधि समेत घटेको छ । गत वर्ष ३४ दिन रहेकोमा अहिले बढीमा २० दिनभित्र ग्राहकले महसुल तिर्ने गरेको पौडेलले बताए । केन्द्रले अहिले मासिक तीन करोड ७५ लाखको हाराहारीमा विद्युत् महसुल असुली गरिरहेको छ ।

Source: www.kantipurdaily.com/pradesh-1/2018/02/13/20180213093412.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More