News

विराटनगरमा पाइपबाट घरघरमा बायाेग्यास

August 17, 2018

हिमालखबर, १ भाद्र २०७५

पहिलो पटक प्रधानमन्त्री हुँदा केपी ओलीले घरघरमा ग्यासको पाइपलाइन पुग्ने बताए पनि यसतर्फ सरकारले चासो दिएको छैन। तर, विराटनगरको गौशालामा उत्पादित बायोग्यास आसपासका घरमा सोझै पाइपबाट पुगेर खाना पाक्न थालेको छ।

विराटनगर–१४, जतुवाका लक्ष्मीनारायण यादवको घरका सहयोगी सुमनकुमार मण्डल २२ साउनमा बायोग्यासबाट चिया उमाल्दै थिए। १०० मिटर दक्षिणमा रहेको श्रीकृष्ण गौ सेवा सदनबाट पाइपलाइन मार्फत आएको ग्यासमा पकाएको चिया पिउँदै मण्डलले भने, “अब ग्यास सिलिण्डरको समस्या हट्यो, यो हाम्रो लागि धेरै खुशीको कुरा हो।”

महेन्द्र मोरङ क्याम्पस, विराटनगरबाट सेवा निवृत्त प्राध्यापक तथा घरधनी यादव ग्यासको पाइप लाइन धेरै घरमा पु¥याउन स्थानीय र सरकारले सहयोग गर्नुपर्ने बताउँछन्। “ग्यास उत्पादन बढाउँदै लगेर विराटनगरभरि फैलाउन सक्नुपर्छ”, उनी भन्छन्।

यादव सहित जतुवाका ३२ घरमा अहिले पाइपलाइनको ग्यास बालिंदैछ। गौ सेवा सदनले ८० देखि १०० घरमा पाइप विस्तार गर्ने योजना बनाएको छ। सदनले पाइप, मिटर, चुलो र रेगुलेटरको शुल्क नलिई घरघरमा ग्यास जडान गरिदिएको हो।

हाल उत्पादन भइरहेको ग्यासबाट १०० घरलाई ग्यास दिन पुगे पनि ग्यासको पाइप जोडिइसकेका ३२ घरमा परीक्षणका लागि प्रयोगमा ल्याइएको छ। गौ सेवा सदनका कर्मचारी महिचन्द्र यादवले २०७ वटा गाईको दैनिक दुई हजार किलो गोबरबाट ग्यास उत्पादन भइरहेको बताए। “एक घरमा दुई चुलो बाल्ने गरी ग्यास दिन्छौं” यादवले भने, “ग्यास प्रयोग भएको युनिटका आधारमा शुल्क निर्धारण गर्नेछौं।”

ग्यास प्रयोग वापत प्रतियुनिट कति रुपैयाँ लिने भन्ने निर्धारण भइसकेको छैन। सदनले एलपी ग्यासको मूल्यभन्दा २० प्रतिशत कममा बायोग्यासको शुल्क निर्धारण गर्ने भएको छ।

कम लगानीमा उपलब्धि

३२ घरलाई आवश्यक पर्ने बायोग्यास उत्पादनमा रु.८५ लाख खर्च लागेको छ। रु.१ करोड ३५ लाखमा १०० घरमा ग्यास पु¥याउन सकिने सदनका अध्यक्ष शंकरलाल अग्रवालले बताए। ८० घरमा जडान भइसकेपछि प्रधानमन्त्रीलाई बोलाएर योजना उद्घाटन गर्ने सदनले जनाएको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ८० र सदनको २० प्रतिशत लगानीमा निर्माण भइरहेको योजना सम्पन्न गर्न अहिले भारतीय प्राविधिकहरू सक्रिय छन्।

भारतको सीईआईडी निर्माण कम्पनीबाट आएका इञ्जिनियर गुर्मित सिंहले विराटनगर र चितवनमा एकै खाले योजनामा काम गर्न आएको बताए। चितवनमा कुखुराको सुलीबाट ग्यास उत्पादन गर्ने योजना निर्माणाधीन छ।

३२० घनमिटरको ट्यांकीमा जम्मा भएको गोबरबाट निस्किने ग्यास ६० घनमिटरको प्लाष्टिकको ठूलो बेलुनमा जम्मा हुन्छ। अर्को तर्फबाट निस्किने ग्यास दुई पटक फिल्टर भएपछि कम्प्रेसर मेशीनले तानेर सिलिण्डरमा भर्छ। “सिलिण्डरबाट प्रेसर दिएर ग्यास पाइपलाइनमा पठाइन्छ र चुलो बल्छ” प्लाण्ट निर्माणकर्ता नेपाल ऊर्जा विकास कम्पनीका प्राविधिक हरिशरण श्रेष्ठले भने। सिलिण्डरमा ग्यास सकियो भने कम्प्रेसर मेशीन पुनः चलाएर भर्नुपर्छ। दिनमा एक–दुई पटक सिलिण्डर भर्दा हुने उनले बताए।

३३ वर्षे गौ सेवा सदन

विराटनगरका केही धनाढ्य र धार्मिक व्यक्तिले २०४२ सालमा गाईको सेवा गर्न स्थापना गरेको गौ सेवा सदनले दूध उत्पादनलाई व्यावसायिक बनाएको छैन। एक लिटरसम्म दिने गाईको दूध बाच्छाबाच्छीलाई खान दिइन्छ।

दुई बिघा १७ कट्ठा जमीनमा गौ सेवा स्थापना गरेर भारतबाट ५० वटा गाई ल्याइएको थियो। सदनमा भारतका हरियाणा नस्ल, स्थानीय होलिस्टेन र जर्सीका क्रस जातका गाई भए पनि हरियो घाँस र आहारको कमीले दूध उत्पादन न्यून छ। हाल ४० वटा गाईबाट दैनिक ६० लिटर मात्रै दूध उत्पादन हुँदै आएको सदनले जनाएको छ। “हाम्रो उद्देश्य दूध खाने भन्दा पनि वृद्ध गाईको सेवा गर्ने हो” गौ सेवक महिचन्द्रले भने, “वृद्ध गाई स्याहार्न हामीलाई दिने गरेका छन्, गाईको खुराकका लागि वार्षिक रु.१५ हजार लिन्छौं।”

गाईको आहारा, औषधि र कर्मचारीका लागि वार्षिक रु.७० लाख खर्च र आम्दानी रु.२५ लाख मात्रै भएकाले आम्दानीको स्रोतका लागि बायोग्यास र जैविक मलको अवधारणा ल्याइएको उनको भनाइ छ। सदनले नजिकै डेढ बिघा जमीन लिजमा लिएर घाँस छरेको छ।

 वार्षिक तीन लाख किलो मल

सदनले गड्यौलाको प्रयोग गरेर जैविक मल पनि उत्पादन गर्दै आएको छ। २०६२ सालमा भारतको गुजरातबाट ल्याइएको १०० किलो गड्यौलाबाट अहिले वार्षिक तीन लाख किलो जैविक मल उत्पादन भइरहेको छ। १३ वर्षअघि खरीद गरिएको १०० किलो गड्यौला बढेर अहिले तीन लाख किलो पुगेको छ।

वार्षिक तीन लाख किलो जैविक मल उत्पादन भए पनि एक लाख किलो मात्रै बिक्री हुने गरेको सदनले जनाएको छ। गड्यौलाले तीन किलो गोबर खाएर एक किलो जैविक मल उत्पादन गर्ने सदनका पशु प्राविधिक समेत रहेका महिचन्द्र यादवले बताए। “अग्र्यानिक खेती गर्नेहरूले प्रतिकिलो रु.१२ मा मल किन्छन्” उनले भने, “माग कम भएकाले उत्पादन नै कम गर्दैछौं।”

जैविक मल सुकेपछि प्रभावकारी नहुने भएकाले सदनमा बोराले छोपेर ५० हजार किलो मात्रै राख्ने गरिएको छ। जैविकसँगै अब बायोग्यास उत्पादनपछि निस्किएको प्रांगारिक मल पनि सदनमा थपिएको छ।

‘उद्घाटन गर्न प्रधानमन्त्री बोलाउँछौं’

– शंकरलाल अग्रवाल, अध्यक्ष, श्रीकृष्ण गौ सेवा सदन

प्रधानमन्त्री केपी ओलीले घरघरमा ग्यासको पाइपलाइन पु¥याउने बताउनुभएको थियो । उहाँको उद्देश्य सानो रुपमा भए पनि हामीले पूरा गरेका छौं। साउनभित्रमा ग्यास उत्पापन गरिसक्ने योजना पूरा भयो। अब असोजभित्रमा ८० देखि १०० घरमा ग्यास पु¥याएर उद्घाटनका लागि प्रधानमन्त्रीलाई बोलाउँछौं।

उपभोक्तालाई ग्यास कुन मूल्यमा दिने भनेर निर्णय भएको छैन । अहिले एलपी ग्यास १४ किलोको १४०० पर्छ । प्रतिकिलो १०० पर्ने भएकाले हामीले पनि क्युविक मिटरलाई किलोमा परिणत गरेर ८० रुपैयाँ किलोसम्ममा दिन्छौं । गौ सेवा सदनको एक किलोमिटर वरपरसम्म पाइपलाइन विस्तार गर्न सकिन्छ । गौ सदन गैरनाफामूलक ट्रष्ट भएकोले सहयोगका लागि विराटनगर महानगरपालिकालाई भनेका छौं । प्रदेश सरकारले पनि सहयोग गर्यो भने धेरै घरमा ग्यास पुर्याउन सकिन्छ।

हामीले भारतमा सञ्चालित बायोग्यास योजनाका भिडियो हेरेर अवधारणा बनाउँदै यति आँट गरेका हौं । यसरी नै सामूहिक रुपमा गर्ने हो भने सस्तोमा अरुतिर पनि ग्यास उत्पादन गर्न सकिन्छ।

स्रोत: http://himalkhabar.com/news/8625