विराटनगरमा सुविधा सम्पन्न हिरासत कक्ष

February 22, 2018

किशोर बुढाथोकी, अन्नपुर्ण पोस्ट, बिहीबार, फागुन १०, २०७४

विराटनगर : भारतसँ‌ग सीमाना जोडिएको विराटनगर १४ स्थित इलाका प्रहरी कार्यालय (इप्रका) रानीमा सुविधा सम्पन्न हिरासत कक्ष निर्माण सुरु गरिएको छ।

सुविधा सम्पन्न र आधुनिक महिला तथा पुरुष हिरासत कक्षको बिहीबार एक कार्यक्रमकाबीच मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले शीलान्यास गरे।शीलान्यासँगै निर्माणको काम पनि अघि बढेको रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले जानकारी दिए।

स्थानीय जनप्रतिनिधी, राजनैतिक दलका नेता र समाजसेवीको पहल र सहयोगमा २५ जना पुरुष र १० जना महिला थुनुवा राख्न सक्ने क्षमताको हिरासत बनाउन सुरु गरिएको हो। निरौलाका अनुसार इप्रका रानी मोरङ जिल्लाकै सबैभन्दा बढी लागूऔषधसम्बन्धी मुद्धा चलाउने प्रहरी युनिट हो।

बिहीबारसम्ममा इप्रका रानीको हिरासतमा रहेका ४० जना मध्ये लागूऔषध सम्बन्धी मुद्धा चलाइएका ३५ जना थुनुवा छन्। उनका अनुसार हिरासतमा रहेका मध्ये अन्य पाँचजना विरुद्ध विभिन्न मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

भारतीय बजार जोगवनीबाट लागूऔषध लिएर आएकाहरु दैनिक जस्तो दुई/तीन जनाको संख्यामा पक्राउ पर्ने गरेका छन्। इप्रका रानीको भवनबाट २०५० साल चैत ४ गतेदेखि प्रहरीले काम सुरु गरेको थियो। २४ वर्ष अघि निर्माण सम्पन्न भएको भवन पनि अहिले जीर्ण बनिसकेको छ। त्यहाँ पुरुष हिरासत कक्ष मात्रै छ।

hirasat-photo-(2)

महिला तथा पुरुष हिरासत कक्षको शीलान्यास गर्दै मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बिसी। तस्बिर : किशोर बुढाथोकी 

महिला हिरासत नहुँदा अपराधमा संलग्न महिलालाई हिरासतमा राखेर अनुसन्धान गर्न समस्या हुँदै आएको प्रहरी निरीक्षक निरौलाले बताए। महिला थुनुवालाई सीमा प्रहरी चौकीको हिरासतमा राखेर अनुसन्धान अघि बढाउनुपर्ने बाध्यता थियो। पुरुष हिरासत पनि १५ जना क्षमताको मात्रै थियो।

जसमा मुद्धाको चाप अत्यधिक भएको बेला एक दिनमा ५० जनासम्म थुनुवा कोचेर राख्नुपर्ने बाध्यता थियो। यस अघि निर्माण गरिएको हिरासतभित्र शौचालय र पानीको व्यवस्था पनि थिएन।

थुनुवालाई शौचालय र पानी प्रयोगका लागि चारैतिर प्रहरी राखेर हिरासतबाट बाहिर निकाल्नु पर्ने बाध्यता थियो। चारैतिर प्रहरी नराख्दा थुनुवा भाग्ने खतरा समेत रहेको एक प्रहरीले बताए। व्यवस्थित हिरासत नभएकै कारण तीन वर्षअघि शौचालय जान भन्दै हिरासतको ढोकामा लगाएको चावी खोल्न लगाएर १६ जना थुनुवा एकै पटक फरार भएका थिए।

अहिले भने भित्र नै शौचालय र पानीको व्यवस्थासहितको हिरासत निर्माण सुरु भएको निरौलाले बताए। आगामी बैशाखसम्ममा हिरात निर्माण सम्पन्न गर्ने गरी काम गर्न थालिएको छ। कांग्रेस मोरङका जिल्ला सदस्य एवं समाजसेवी राजेश गुप्ताको संयोजकत्वमा हिरासत निर्माण समिति बनेको छ।

समितिमा स्थानीय समाजसेवी, राजनैतिक दलका प्रतिनिधी एवं स्थानीय तहका जनप्रतिनिधिहरु छन्। ‘मुद्धाको चाप अत्यधिक हुने इप्रका रानीमा हिरासत समस्या पुरानै हो। जहाँ महिला थुनुवाका लागि हिरासत नै छैन,' गुप्ताले भने, ‘त्यही भएर स्थानीय स्तरकै पहलमा आधुनिक हिरासत बनाउन थालिएको छ। जसले अपराध अनुसन्धान र नियन्त्रणमा सहयोग पुग्छ।'

एसपी विसीले प्रहरीले जनभावनाअनुसार काम कारवाही अघि बढाउनुपर्ने बताए। भने, ‘अपराधमा संलग्न भए पनि थुनुवालाई मानवीय व्यवहार गरेर हिरासतमा राख्नुपर्छ। यस अघि व्यवस्थित हिरासत नहुँदा त्यो सम्भव हुन सकेन।' हिरासत कक्षको अभाव हुँदा भोग्नु परेका समस्या अब प्रहरी र थुनुवाले भोग्न नपर्ने एसपी बिसीले बताए। उनले अव्यवस्थित रहेका जिल्लाका अन्य प्रहरी युनिटका हिरासतलाई पनि व्यवस्थित गर्नका लागि पहल थालिने बताए।

स्रोत: http://annapurnapost.com/news-details/91623

Newsletter

Submit your details below to receive Newsletters

Newsletter