News

विराटनगर जुटमिल पुनः सञ्चालन तयारी

September 06, 2017

मिलन बुढाथोकि, अन्नपुर्ण पोस्ट, २१ भाद्र २०७४ 

सरकारले विराटनगर जुटमिल फेरि सञ्चालन गर्ने भएको छ । पटकपटक राजनीतिक हस्तक्षेपको मारमा परेको नेपालको पहिलो योे उद्योग सञ्चालन गर्न पार्टपुर्जा मर्मत गर्न थालिएको छ । उद्योग लामो समयदेखि बन्द छ ।मिलमा भएका कामै नलाग्ने पार्टपुर्जा फेरिँदै छ भने काम लाग्ने पार्टपुर्जाको मर्मत गरिएको छ । दुई महिनादेखि मर्मत सुरु गरेको ३२ जना प्राविधिकको टोलीले ८० प्रतिशत काम पूरा गरेको मिलका निर्देशक राजेन्द्र कार्कीले जानकारी दिए । ‘अब २० प्रतिशत काम बाँकी छ', उनले भने, ‘मिलका लागि आवश्यक विद्युत् ट्रान्समिटर जोड्नेबित्तिकै व्यावसायिक उत्पादन सुरु गर्छौं ।'

अहिले मिलमा ११ केभीए क्षमताको विद्युत् लाइन जडान छ । तर उद्योग पूर्ण रूपमा सञ्चालनमा ल्याउन ३३ केभीए क्षमताको विद्युत् ट्रान्सफर्मरको आवश्यकता पर्ने र त्यसका लागि खरिद प्रक्रिया अघि बढेको मिल प्रशासनले जानकारी दिएको छ । मंसिर पहिलो साताबाट मिल सञ्चालन गर्ने योजना छ । मिलले दैनिक २० टन सामान उत्पादन गर्ने बताएको छ । दुईवटा प्लान्ट रहेको मिलमा पहिलो चरणअन्तर्गत एउटा प्लान्ट सञ्चालनमा ल्याइनेछ । मिल सञ्चालन गर्न कम्तीमा पाँच करोड पुँजी आवश्यक पर्ने निर्देशक कार्कीले जानकारी दिए । उनका अनुसार विदेशबाट कच्चापदार्थ झिकाउनुपर्ने हुँदा पहिलोपटक पुँजी लगानी गर्नुपर्नेछ । उत्पादनलाई बजार अभाव छैन ।

अहिले नेपाली बजारमा ९८ प्रतिशत जुटको कच्चापदार्थ विदेशबाट आउँछ भने प्रशोधित जुटजन्य ९० प्रतिशत वस्तु पुनः विदेश नै जाने गर्छ । पछिल्लो समयमा नेपालमा कृषकले जुटखेती लगाउन छाडेपछि जुट उद्योग समस्यामा छन् । जुट अभाव कम गर्न विराटनगर जुट मिलले समेत कृषकमैत्री कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेको छ ।

सरकारले भारतीय कम्पनी विनसम इन्टरनेसनललाई विराटनगर जुटमिल चलाउने जिम्मा दिए पनि विभिन्न कारण देखाउँदै २०७१ साल असोजदेखि मिल बन्द भएको थियो । बन्द मिल खुलाउन पहल गरिए पनि सरकारले राजनीतिक नियुक्तबाट प्रमुख तोक्दै आएको थियो । तर मिल खुल्न सकेको छैन।

सरकारले मिल सञ्चालन गर्न सञ्चालक समिति तोकी यसलाई मूर्त रूप दिएको हो । मिललाई आवश्यक ३३ केभीए प्रसारण लाइन माग गरे पनि भारतीय कम्पनी विनसमलाई सरकारले विद्युत् लाइन दिन सकेको थिएन । सोही बहानामा सरकारले विदेशी कम्पनीलाई औपचारिक रूपमा बिदा दिएपछि अहिले मिल सञ्चालक समितिले आफ्नो स्वामित्वमा मिल सञ्चालन गर्ने तयारी गरेअनुसार मेसिनका पार्टपुर्जा मर्मत गर्न थालेको हो ।

स्रोत: 

http://annapurnapost.com/news-details/79514