कान्तिपुर दैनिक, १३ श्रावण २०७४
लामो समयदेखि बन्द रहेको मुलकुको पहिलो उद्योग विराटनगर जुट मिल सञ्चालन हुने भएको छ।
व्यवस्थापन समितिले आफ्नै लगानीमा आगामी मंसिरदेखि उत्पादन सुरु गर्ने भएको हो। बेलाबेलामा बन्द हुँदै खुल्दै आएको मिल ०७१ असोजदेखि बन्द छ। त्यसअघि भारतको औद्योगिक समूह विनसम इन्टरनेसनलले सरकारलाई वार्षिक १ करोड ३५ लाख रुपैयाँ बहाल तिर्ने सर्तमा २५ वर्षका लागि लिजमा लिई सञ्चालन गरेको थियो। तर, सरकारले सर्तअनुसार मिलमा विद्युतको ३३ केभीए प्रसारण लाइन जडान गर्न नदिएपछि विनसमले १६ महिनापछि मिल बन्द गरेको तत्कालीन महाप्रबन्धक श्याम पौडेलको भनाइ छ।
व्यवस्थापन समितिले मंसिरदेखि उत्पादन सुरु गर्ने बताएको छ। ‘मिलको दैनिक ४५ टन उत्पादन गर्ने क्षमता छ,’ मिलका प्रबन्ध सञ्चालक नीलहरि काफलेले भने ‘सुरुमा दैनिक १५ टन उत्पादन गर्ने लक्ष्य राखिएको छ।’ मिलले क्षमताअनुसारको जुट सामग्री उत्पादन गर्दा ३ हजार ५ सयले रोजगारी पाएका थिए। मिलका सेयर सदस्यले चयन गरेको व्यवस्थापन समितिले मिल सञ्चालन गर्ने काफलेले जनाए। मिलका १ सय ८३ सेयरधनीले व्यवस्थापन समिति अध्यक्षमा वसन्त वनलाई चयन गरेका छन्।
समितिले करिब ६ करोड चालु पुँजी संकलन गरेर ऐतिहासिक मिललाई सञ्चालन गर्ने तयारी गरेको काफलेले बताए। सेयरधनी थपेर ५ सय पुर्याई उनहरूकै लगानीले मिल सञ्चालन गर्ने जनाइएको छ। विद्युतको ३३ केभीए प्रसारण लाइन जडान र मेसिनरी मर्मत सुरु गरिएको छ। मिलका पुराना पार्टपुर्जा मर्मतका लागि इन्जिनियर सौरभ विष्टको नेतृत्वमा प्राविधिक खटेको छ।
स्रोत : http://kantipur.ekantipur.com/news/2017-07-28/20170728082259.html