विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

January 29, 2018

अन्नपुर्ण पोस्ट, १४ माघ २०७४

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७४/०७५ को चार महिनामा लक्ष्यभन्दा बढी राजस्व असुली गरेको छ। चालू आवको असोज, कात्तिक, मंसिर र पुसमा लक्ष्यभन्दा धेरै असुली गरेको हो। आर्थिक वर्षको दुई महिना साउन र भदौमा भने लक्ष्य भेट्न सकेको थिएन। भन्सारको ६ महिनाको लक्ष्य एवम् प्रगति विवरण सार्वजनिक गर्दै प्रमुख भन्सार अधिकृत मिमांश अधिकारीले बाढी र डुबानका कारण आयातनिर्यात प्रभावित बन्दा साउन र भदौमा लक्ष्यअनुसार असुली हुन नसकेको बताए। उनले अन्य चार महिनामा भने लक्ष्यभन्दा बढी राजस्व असुली भएको जानकारी दिए।

साउनमा दुई अर्ब १८ करोड ७१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सारले एक अर्ब ७० करोड ६९ लाख ६९ हजार रुपैयाँ मात्रै संकलन गर्न सक्यो। भदौमा दुई अर्व ४९ करोड ९५ लाख ९० हजार रुपैयाँको लक्ष्य लिए पनि एक अर्व ८७ करोड, ७८ लाख ४३ हजार रुपैयाँ मात्रै राजस्व असुली भएको भन्सारले जनाएको छ।

प्रमुख अधिकारीका अनुसार असोजमा दुई अर्ब १८ करोड ७१ लाख ४१ हजार रुपैयाँको लक्ष्य लिइएकोमा लक्ष्यभन्दा बढी दुई अर्ब ५२ करोड ६३ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ। कात्तिकमा दुई अर्ब ४९ करोड ९५ लाख ९० हजार रुपैयाँको लक्ष्यमा दुई अर्ब ७० करोड १८ लाख चार हजार रुपैयाँ संकलन भएको छ। मंसिरमा दुई अर्व ४९ करोड ९५ लाख ९० हजार रुपैयाँको लक्ष्य लिएकामा दुई अर्व ५० करोड ९५ लाख ८२ हजार रुपैयाँ संकलन भएको जानकारी अधिकारीले दिए। उनका अनुसार पुसमा दुई अर्ब ४९ करोड ९५ लाख ९० हजार रुपैयाँ असुलीको लक्ष्य लिएकोमा दुई अर्व ५१ करोड २८ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ।

विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको असारसम्ममा ३१ अर्ब २४ करोड ४८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ। तर, ६ महिनामा १३ अर्ब ८३ करोड ५३ लाख ४५ हजार रुपैयाँ मात्रै संकलन भएको छ। ‘साउन र भदौमा लक्ष्यभन्दा कम असुली भयो’, प्रमुख अधिकारीले भने, ‘अहिले लक्ष्यभन्दा बढी राजश्व संकलन भइरहे पनि लक्ष्य पूरा गर्न मुस्किल हुने देखिएको छ।’ उनले साउन र भदौमा भएको कम असुलीलाई पूर्ति गर्ने हिसाबमा आयात निर्यातलाई व्यवस्थित गरेर काम अघि बढाइएको जानकारी दिए।

अधिकारीका अनुसार साउन र भदौमा बाढी एवम् भेलका कारण विभिन्न ठाउँमा सामान आयातनिर्यात गरिँदै आएका पुल तथा सडकमा क्षति पुगेर ढुवानीका साधन सञ्चालन हुन नसकेपछि भन्सारले दुई महिना लक्ष्यअनुसार राजस्व असुली गर्न सकेन। भारतको मिरगन्ज पुल धसिएर मर्मत सम्भार समायमा हुन नसक्दा पनि सामान आयातमा समस्या हुने गरेको उनले बताए। मिरगन्ज पुलमा अहिले २० मेट्रीक टनभन्दा बढी सामान लोड गरिएका ढुवानीका साधन सञ्चालनमा रोक लगाइएको छ। उक्त पुलका कारण सामान आयातनिर्यातमा समस्या भएपछि सुनसरीको भीमनगर नाकाबाट रिरुट गरेर आयात गरिँदै आएको छ।

स्रोत: http://annapurnapost.com/news-details/89525

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More