एजेन्सी, कान्तिपुर, पुष १, २०७८
जेनेभा — कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन ‘अभूतपूर्व’ रूपमा फैलिइरहेकाले सतर्क हुनुपर्ने अवस्था छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ओमिक्रोनको संक्रमण सम्भवतः विश्वका धेरै देशमा पुगिसकेको अनुमान छ ।
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसस फाइल तस्बिर : रोयटर्स
हालसम्म ७७ देशमा भने यसको संक्रमण पुष्टि भइसकेको छ । यसको संक्रमणका कारण बेलायतमा एक जनाको मृत्यु भइसकेको छ । कोभिडका भेरिएन्टमध्ये यो सबैभन्दा बढी उत्परिवर्तित हो ।
डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेससले ‘ओमिक्रोनलाई कम आँकिएको’ भन्दै चिन्ता व्यक्त गरे । उनले संक्रमणसँग जुध्न र आफ्नो देशको स्वास्थ्य प्रणाली तयारी अवस्थामा राख्न विश्वका देशहरूलाई आग्रह गरेका छन् । बुधबार पत्रकारहरूसँग कुरा गर्दै गेहब्रेयससले ओमिक्रोनको फैलावट दर अप्रत्याशित रूपमा भइरहेको जनाए ।
‘ओमिक्रोनले कम गम्भीर रोग निम्त्याउने भए पनि यसका खास संख्या कमजोर स्वास्थ्य प्रणालीका लागि पुनः चाप बन्न सक्छन्,’ उनले भने । यो भेरिएन्टसँग जुध्न कतिपय देशले कोभिडविरुद्धको खोपको बुस्टर डोज लगाउने कामलाई तीव्रता दिएको जनाएका छन् । तर पत्रकार सम्मेलनका क्रममा उनले खोप असमानताका विषयमा पनि असन्तुष्टि व्यक्त गरे ।
बेलायतको राजधानी लन्डनस्थित सेन्ट थोमस अस्पतालमा बुधबार कोभिडविरुद्धको खोप लगाउन पालो पर्खिरहेका स्थानीय । तस्बिर : एपी
गेहब्रेयससले बुस्टर डोजले ‘कोभिड फैलावट रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने’ भए पनि प्राथमिकता नदिइएको बताए । ओमिक्रोन भेरिएन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पहिचान भएको थियो । गेहब्रेयससले विश्वव्यापी रूपमा संकलित तथ्यांकहरूको समीक्षाले यो भेरिएन्ट युरोपमा केही देशमा सबैभन्दा प्रभावी हुन सक्ने देखिएको जनाए ।
डब्लूएचओले ओमिक्रोनलाई ‘उच्च जोखिम’ को सूचीमा राख्दै थप स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिसकेको छ । हाल प्रयोगमा रहेका खोपहरूले ओमिक्रोनको संक्रमणबाट सुरक्षित राख्ने विषयमा वैज्ञानिकहरूले अध्ययन जारी रहेको बताएका छन् । तर प्रारम्भिक नतिजामा कोभिडविरुद्धका खोपहरूले संक्रमण हुनबाट पूर्ण रूपमा नबचाउने तर संक्रमितहरू अस्पताल जानुपर्ने अवस्थामा कमी ल्याउने जनाइएको छ ।
यसअघि, बेलायती वैज्ञानिकहरूले ओमिक्रोनबाट बच्न खोपको बुस्टर डोज (तेस्रो मात्रा) आवश्यक हुने बताएका थिए । बुस्टर डोज लिएको खण्डमा कोभिडबाट सुरक्षित हुने सम्भावना कम्ती ७० प्रतिशत हुने उनीहरूको भनाइ छ ।
भारतमा बढ्दै संक्रमण
भारतमा कोभिड–१९ को नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बाट संक्रमित हुनेको संख्या ६१ पुगेको छ । त्यसमा एक जना ७ वर्षीय बालक छन् । ओमिक्रोनबाट महाराष्ट्रमा सबैभन्दा बढी २८, राजस्थानमा १३, दिल्लीमा ६, गुजरातमा ४, कर्नाटक ३, तेलंगाना २, अन्य प्रदेशमा केही संक्रमित पाइएका हुन् । भारतमा पहिलो पटक डिसेम्बर १८ मा ओमिक्रोन भेटिएको थियो ।
दिल्लीमा नयाँ भेरिएन्टबाट संक्रमित भएर अस्पताल भर्ना भएका पहिलो बिरामी डिस्चार्ज भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ८४ जना कोभिड संक्रमित थपिएका छन् । भारतमा हाल सक्रिय संक्रमितको संख्या ८७ हजार हाराहारी छ । सबैभन्दा बढी महाराष्ट्रमा १० हजार छन् । राजधानी दिल्लीमा हाल ४ सय ७ जना सक्रिय संक्रमित छन् । केही दिनअघि दिल्लीमा सक्रिय संक्रमितको संख्या ३ सयभन्दा तल झरिसकेको थियो ।
स्रोत: https://ekantipur.com/world/2021/12/16/163962074802145228.html