विश्व बैंक र आईएफसीको १४ अर्ब डलर

March 19, 2020

अन्नपूर्ण पोष्ट, चैत्र ०७, २०७६

काठमाडौं : विश्व बैंकले कोरोना महामारीसँग जुझ्न यसअघि घोषणा गरेको १२ अर्ब अमेरिकी डलरमा दुई अर्ब थप गरी १४ अर्ब पुर्‍याएको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) को सञ्चालक समितिले १४ अर्ब अमेरिकी डलरको द्रुत वित्तीयकरण प्याकेज अनुमोदन गरेको छ। यो सहायता विभिन्न राष्ट्र र कम्पनीलाई तीव्र गतिमा फैलिरहेको कोभिड-१९ निरोध, पहिचान तथा सम्बोधनका लागि उपलब्ध हुनेछ। ‘यो प्याकेजले जनस्वास्थ्य सतर्कता राष्ट्रिय प्रणाली सुदृढीकरण अन्तर्गत रोग नियन्त्रण, उपचार र निदान र निजी क्षेत्रलाई सहयोग गर्नेछ’, आईएफसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विश्व बैंक समूहको सदस्य आईएफसीले १४ अर्ब डलरको प्याकेजमध्ये कोभिड-१९ सम्बन्धि सहयोग यसअघिको ६ अर्ब डलरबाट वृद्धि गरी ८ अर्ब डलर पुर्‍याउनेछ। आईएफसीको सहयोग कोभिड-१९ को तीव्र विस्तारका कारण आर्थिक गिरावटको मारमा परेका निजी कम्पनी र तिनका कर्मचारीका लागि हो।

मार्च ३ मा घोषित विश्व बैंकको ६ अर्ब डलरको लक्षित प्याकेजबाट स्वास्थ्य प्रणाली सुदृढीकरण र रोगको निगरानीमा सहयोग पुर्‍याइने उल्लेख छ।

‘पुनर्स्थापनाको समय छोट्याउन अत्यावश्यक छ। यो प्याकेजले कोभिड-१९ को विस्तारले व्यवसाय र तिनका कामदारलाई वित्तीय तथा आर्थिक प्रभाव न्यूनीकरणमा तत्काल सहयोग पुर्‍याउँछ’, विश्व बैंक समूहका अध्यक्ष डेभिड मल्पासलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘विश्व बैंक विकासशील राष्ट्रको आवश्यकताअनुसार छिटो, छरितो ढंगले सम्बोधन गर्न प्रतिबद्ध छ। सहायता पहिले नै सुरु भइसकेका छन्, आज स्वीकृत विस्तारित वित्तीय उपकरणले अर्थतन्त्र, कम्पनी र रोजगारी बचाउन मद्दत गर्नेछ।’

आईएफसीको ८ अर्ब डलरबाट अर्थतन्त्रमा उत्पन्न धक्काका कारण अत्यधिक जोखिममा रहेका लघु, साना तथा मध्यम आकारका उद्यमलाई जीवनाधार प्रदान गर्न मद्दत पुर्‍याउनुका साथै उच्च मागको सामना गरिरहेका का चिकित्सा उपकरण, औषधि उद्योग जस्ता क्षेत्र लाभान्वित हुने आईएफसीले जनाएको छ।

‘यो महामारीले जीवन मात्र होइन, अर्थतन्त्र र जीवनस्तर पनि स्वास्थ्य संकटकालकै अवस्थामा जसरी चल्ने देखिन्छ। यो समयमा पनि हाम्रा ग्राहकका उद्यम/व्यवसाय सञ्चालनलाई सुनिश्चित गरेर विकासशील राष्ट्रका निजी क्षेत्र सक्षम भएर अर्थतन्त्रलाई चाँडै पुनस्र्थापना गर्न सहयोग गर्नेछन् भन्ने अपेक्षा गर्न सक्छौं’, आईएफसीका प्रमुख कार्यकारी अधिकृत फिलिपले हुरले भनेका छन्, ‘फलतः यसले जोखिममा रहेका समूहलाई उनीहरूको जनजीविका यथाशीघ्र पुनर्स्थापपित गर्न र भविष्यका लागि लगानीलाई निरन्ता दिन सहयोग गर्छ।’

आईएफसीले २-२ अर्ब अमेरिकी डलर वास्तविक क्षेत्र संकट प्रतिवाद सुविधा, विश्वव्यापी व्यापार वित्तीयकरण कार्यक्रम, कार्यशील पुँजी समाधान कार्यक्रमबाट आपत्कालीन व्यवसाय उद्धार कोषमा ल्याएको हो। यस्तै, आईएफसीका ग्राहकको अनुरोधमा मंगलबार ‘ग्लोबल ट्रेड लिक्विडिटी प्रोग्राम एन्ड द क्रिटिकल कमोडिटिज् फाइनान्स प्रोग्राम’ अन्तर्गत २ अर्ब डलर स्थानीय बैंकलाई जोखिम साझेदारी सहयोगका रूपमा उपलब्ध गराई उदयमान बजारका कम्पनीमा वित्तीय सुविधा दिने उल्लेख छ।

आईएफसीले आपत्कालीन वित्तीय सुविधा अन्तर्गत भर्खरै भियतनामका चार बैंकलाई २९ करोड ४० लाख डलर व्यापारका लागि वित्तीय सुविधा दिएको छ।

एडीबीको ६.५ अर्ब डलर
एसियाली विकास बैंक (एडीबी)ले विकासशील राष्ट्रलाई कोरोना महामारीसँग जुझ्न प्रारम्भिक प्याकेजका रूपमा ६.५ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेको छ। एडीबीका अध्यक्ष मासात्सुगु आसाकावाले कोरोना महामारी विश्वव्यापी संकट भएको बताए। यसका लागि राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी तहमा कठोर कदम चाल्न आवश्यक भएको उनको भनाइ छ। अध्यक्ष आसाकावाले आवश्यकताअनुसार सहायता प्याकेज वृद्धि गर्दै जाने पनि बताएका छन्। एडीबीले घोषणा गरेको सहायता प्याकेज जनस्वास्थ्य र आर्थिक असर न्यूनीकरणका लागि प्रयोग हुने बताइएको छ। एडीबीले कोरोना भाइरसको महामारी सुरु भएयता यसअघि २२ करोड ५० लाख डलर सहायता प्रदान गरिसकेको छ।

स्रोत: http://annapurnapost.com/news/150722

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More