अन्नपूर्ण पोष्ट, ०१ माघ २०७५
काठमाडौं : सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाका लागि १० लाख रुपैयाँसम्म सहुलियत ब्याजदरको कर्जा उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याएसँगै दुई महिनाको अवधिमा २० हजारभन्दा बढीले ऋण माग गरेका छन् । प्रतिव्यक्ति १० लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउने भएकाले २० अर्ब रुपैयाँ कर्जा माग भएको अनुमान गरिएको छ । वैदेशिक रोजगारबाट फर्केका साढे २० हजार युवाले १० लाख ऋणका लागि फारम भरेका छन् ।
वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार १८ हजार ७ सय ३१ जनाले आवेदन प्रत्यक्ष र झण्डै २ हजारले अनलाइनमार्फत आवेदन दिएका हुन् । आवेदन दिने अन्तिम म्याद पुस मसान्तमा मात्रै पाँच हजारले ऋणका लागि आवेदन दिएका छन् । उनीहरूले व्यावसायिक योजनासहित विदेशबाट फर्किएका युवाले ऋण मागेका हुन् ।
बोर्डले ऋण आवेदन अध्ययन गरी अर्थ मन्त्रालय, राष्ट्र बैंक र श्रम मन्त्रालयको छलफलपश्चात बैंकलाई ऋण दिन राष्ट्र बैंकबाट निर्देशन जारी हुने बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले जानकारी दिए ।