वैदेशिक रोजगारीमा जाने महिला घटे

November 22, 2017

उत्तम काप्री, अन्नपुर्ण पोस्ट, ०६  मंसिर २०७४

काठमाडौं : वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिई विश्वका विभिन्न मुलुकमा जाने महिला कामदारको संख्यामा कमी आएको छ। तर रोजगारीकै लागि विदेश जाने पुरुष कामदारको संख्या भने बढेको छ। गत आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका लागि विश्वका विभिन्न मुलुक जाने कामदारको संख्या आर्थिक वर्ष २०७२/७३ मा भन्दा साढे दुई लाखले बढेको थियो। तर रोजगारीकै लागि जाने महिला कामदारको संख्या बढे पनि वृद्धिदर भने घटेको छ। चालू आवको तीन महिनामा पनि रोजगारीका लागि बिदेसिने महिला कामदार संख्यामा वृद्धि आउन सकेको छैन।

गत आवमा कुल ६ लाख ५३ हजारभन्दा बढी युवा रोजगारीका लागि विदेश गएका थिए। यसमा महिला कामदारको संख्या २७ हजार आठ सय मात्रै थियो। रोजगारीका लागि गत अवमा बिदेसिएका कुल संख्यामध्ये महिला कामदारको हिस्सा ४.२६ प्रतिशत छ। साथै चालू आवको पहिलो तीन महिनामै एक लाख ४२ हजार पाँच सय ९४ युवा विश्वका विभिन्न मुलुकमा रोजगारीका लागि पुगिसकेका छन्। यसमा ६ हजार ५४ जना मात्रै महिला कामदार छन्। तीन महिनामा रोजगारीका लागि बिदेसिएका कुल कामदार संख्याको ४.२४ प्रतिशत मात्रै महिला छन्।

चालू आव २०६९/७० मा रोजगारीका लागि सबैभन्दा बढी महिला कामदार बिदेसिएका थिए। उक्त वर्ष कुल वैदेशिक रोजगारीमा गएकामध्ये ६.११ प्रतिशत महिला कामदार थिए। उक्त वर्ष चार लाख ५४ हजारभन्दा बढी युवा कामको खोजीमा विदेश गएका थिए। यसमा महिलाको संख्या २७ हजार सात सयभन्दा बढी थियो।

 

सरकारले घरेलु कामदार पठाउन लगाएको प्रतिबन्धकै कारण महिला कामदारको संख्या घटेको हो।

वैदेशिक रोजगारीमा जाने कुल संख्याको आव २०६५/६६ मा ३.९६, ०६६/६७ मा ३.४१ र ६७/६८ मा २.९३ प्रतिशत मात्रै महिला कामदार थिए। आव ०६५/६६ मा दुई लाख २० हजार, ०६६/६७ मा दुई लाख ९४ हजार र ०६७/६८ मा तीन लाख ५५ युवा रोजगारीका लागि विदेश गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

आव वर्ष ०६८/६९ मा भने वैदेशिक रोजगारीका जाने महिला कामदारको वृद्धिदर ह्वात्तै बढेको थियो। उक्त वर्ष कुल वैदेशिक रोजगारीमा गएका तीन लाख ८५ हजार जना कामदारमध्ये ५.९६ प्रतिशत महिला कामदार थिए। सोही वर्ष रोजगारीका लागि बिदेसिएका महिला कामदारको संख्या झन्डै २३ हजार थियो।
आव ०७०/०७१ देखि वैदेशिक रोजगारीमा जाने कुल कामदार संख्यामा वृद्धि आए पनि महिला कामदारको वृद्धिदरमा भने गिरावट आइरहेको छ। वैदेशिक रोजगारीका जाने कुल संख्यामा महिलाको हिस्सा आव ०७०/७१ मा ५.४९, ०७१/७२ मा ४.३९, ०७२/७३ मा ४.२९ र ०७३/७४ मा ४.२६ प्रतिशत मात्र रहेको विभागको तथ्यांक छ। आव ०७०/७१ मा पाँच लाख २८ हजार, ०७१/७२ मा पाँच लाख १३ हजार, ०७२/७२ मा चार लाख १९ हजार र ०७३/७४ मा साढे ६ लाख जनाभन्दा बढी युवा बिदेसिएको विभागको भनाइ छ।

चालू आवको तीन महिनामै साढे एक लाखको हाराहारीमा युवा बिदेसिए पनि महिला कामदारको संख्या भने ६ हजार हाराहारी छ। तीन महिनामा रोजगारीका लागि विदेश जाने महिलाको हिस्सा कुल संख्याको ४.२४ मात्रै हो। यहाँ महिला कामदारको संख्या संस्थागत (म्यानपावर)ले पठाएको संख्या मात्रै उल्लेख गरिएको छ।

महिला कामदार किन घटे ?

सरकारले घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध नै महिला कामदार घटेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङ बताउँछन्। सरकारले घरेलु कामदार निर्देशिका २०७२ जारी गरेपछि घरेलु कामका लागि जाने महिला कामदारको संख्यामा कमी आउन थालेको थियो। श्रम तथा रोजगार मन्त्रालयले डेढ वर्षअघि घरेलु कामदार पठाउन लगाएको प्रतिबन्धका कारण महिला कामदारले विश्वका विभिन्न ठाउँका पाउँदै आएको रोजगारीको अवसर गुमाउनुपरेको उनको भनाइ छ।

गत फागुनमा मात्रै मन्त्रालयले घरेलु कामदार पठाउन लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो। यसको दुई महिना नबित्दै व्यवस्थापिका संसदन्तर्गत अन्तर्राष्ट्रिय श्रम सम्बन्धन समितिले घरेलु महिला कामदार पठाउन रोक लगाएपछि संख्यामा कमी आएको गुरूङ बताउँछन्। घरेलुबाहेक अन्य कामका लागि विदेश जाने महिला कामदारका लागि दूतावासबाट प्रमाणीकरण लिनुपर्ने झन्झटिलो प्रक्रियाका कारण पनि संख्यामा कमी आएको उनको भनाइ छ।

अहिले मलेसिया, इजारायल तथा टर्की जान चाहने महिला कामदारलाई दूतावासले नै महिनौं झुलाउने गरेको उनले बताए। घरेलु कामका लागि विदेश गई नेपाल फर्केका महिला कामदारले पुनः विदेश जान श्रम स्वीकृति नपाउँदासमेत संख्यामा कमी आएको हो।

नेपालले अहिलेसम्म घरेलु कामदार पठाउने गरी कुनै पनि मुलुकसँग द्विपक्षीय सम्झौता (एमओयू) गरेको छैन। इजरायलसँग ‘केयर गिभर' पठाउने विषयमा मात्रै एमओयू भएको छ। मन्त्रालयले विभिन्न देशसँग घरेलु कामदार पठाउनेबारे एमओयूको प्रक्रिया अघि बढिसकेको जनाए पनि त्यसमा अहिलेसम्म ठोस प्रगति हुन सकेको छैन।

स्रोत: http://annapurnapost.com/news-details/84517

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More