अन्नपुर्ण पोस्ट, १७ कार्तिक २०७४
काठमाडौँ: चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो तीन महिनामै वैदेशिक रोजागारीमा पर्ने उजुरीमध्ये व्यक्ति ठगीको उजुरी बढेको छ । उक्त अवधिमा वैदेशिक रोजगार विभागमा दुई सय ७७ वटा व्यक्तिगत ठगीका उजुरी परेका छन् । तर संस्थागत (म्यानपावर) ठगीतर्फ भने दुई ७३ वटा मात्रै उजुरी परेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए।
चालू आवको तीन महिनामा पाँच सय ५० वटा उजुरी परेको विभागको भनाइ छ । तर गत आवको सात महिनामा विभागका ठगी उजुरी एक हजारको हाराहारीमा थिए । यही संख्यामा ठगीको उजुरी बढ्दै जाने हो भने चालू आवको सात महिनामा एक हजार तीन सयभन्दा बढी ठगीका उजुरी पर्ने उनको भनाइ छ ।
चालू आवको साउनमा व्यक्तिगत ठगीका एक सय १८, भदौमा ९० र असोजमा ६९ रहेको विभागको भनाइ छ । यसैगरी संस्थागततर्फको ठगी उजुरी साउनमा एक सय १२, भदौमा ९८ र असोजमा ६३ वटा छन् ।
वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेकाहरू आफू ठगिएको भन्दै उजुरी दिन आउने गरेको उनले जानकारी दिए । विभागमा सबैभन्दा व्यक्तिगत ठगीका उजुरी परेका छन् । रोजगारीका लागि दैनिक करिब दुई हजार नेपाली विभिन्न मुलुक जाने गरेका छन् । ऋण खोजेर वा जग्गाजमिन धितो राखेर विदेश पलायन हुने युवा स्वदेशमै दलाल र म्यानपावर व्यवसायीबाट ठगिइरहेका छन् । चालू आवको तीन महिनामै डेढ लाखभन्दा बढी युवा विदेश पलायन भइसकेका छन् ।
यसरी विदेश पलायन हुनेले विदेशमा गएपछि नेपालमा सम्झौता भएअनुसार काम नपाएको भन्दै व्यापक उजुरी दिने गरेका छन् । तलब र अन्य सुविधा पनि यहाँ भनेजस्तो दिइँदैन । म्यानपावर कम्पनीले पठाउँदा एउटा कम्पनी भन्ने र उता गएपछि अर्को कम्पनीमा काम गर्नुपर्ने कारण पनि बढी समस्या हुने गरेको अधिकारीको भनाइ छ ।
‘विदेश जाने बेलामा नेपाल सरकारले तोकेभन्दा बढी रकम तिर्ने र पछि समस्यामा परेर नेपाल आएपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको संख्या धेरै छ’, प्रवक्ता अधिकारीले भने । संस्थागतभन्दा व्यक्तिगत उजुरीका समस्या समाधान गर्न कठिन हुन्छ । संस्थागत उजुरीको केस मिलाउन इजाजतवाला म्यानपावर र पीडित पक्षलाई राखेर क्षतिपूर्ति मिलाउन सहज हुने उनको भनाइ छ । तर व्यक्ति उजुरीको ठगीका समस्या समाधान गर्न सहज नभएको उनले बताए ।
तीन सय उजुरी छिनोफानो
विभागमा दर्ता भएका ५ सय ५० सयमध्ये तीन सय पाँच उजुरीको छिनोफानो भएको अधिकारीले बताए । यसमा व्यक्तिगततर्फ दुई सय ४० वटा र संस्थागततर्फका ६५ वटा उजुरीको छिनोफानो भएको छ । विभागमा दर्ता भएका दुई सय ७७ वटा व्यक्तिगत उजुरीकर्ताले १८ करोड ५४ लाख ३२ हजार रुपैयाँभन्दा बढीको दाबी गरेका थिए । यसमा विभागले चार करोड ९५ लाख रुपैयाँभन्दा बढी बिगो रकम भराएको छ । यसैगरी विभागमा दर्ता भएका दुई सय ७३ जना संस्थागत उजुरीकर्ताले सात करोड ६६ लाख रुपैयाँभन्दा बढीको दाबी गरेका थिए । यसमा विभागले झन्डै एक करोड ४४ लाख रुपैयाँ बिगो रकम भराइएको छ ।
६६ व्यक्तिगत उजुरी अदालतमा
विभागले अदालतमा चालू आर्थिक वर्षको तीन महिनामै ६६ वटा व्यक्तिगत उजुरी दायर गरेको छ । विभागले वैदेशिक रोजगारीका लागि मुद्दा दायर गर्ने वैदेशिक न्यायाधिकरणमा संस्थागत उजुरी भने दर्ता गराएको छैन । म्यानपावर कम्पनीको नाममा आउने उजुरी कानुनी दायरामा कमै मात्र जान्छन् । तर व्यक्तिगत उजुरी भने कानुनको दायरामा बढी जाने गरेको विभागको भनाइ छ ।
व्यक्तिगत उजुरीकर्ताबाट अदालतमा सात करोड रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । तर संस्थागततर्फको उजुरीकै आधारमा विभागले म्यानपावर कम्पनीहरूलाई अहिलेसम्म ४१ लाख रुपैयाँ जरिवाना गरिसकेको छ ।