वैशाखदेखि दोलखामा आर्थिक गणना

March 19, 2018

रबिन्द्र गौतम, आर्थिक अभियान, ६ चैत्र २०७४

दोलखा । केन्द्रीय तथ्याङ्क विभागले ‘दिगो आर्थिक विकासको आधारका लागि राष्ट्रिय आर्थिक गणना’ भन्ने मूल नाराका साथ आगामी वैशाखदेखि दोलखामा आर्थिक गणना गर्ने भएको छ ।

राष्ट्रिय आर्थिक गणना २०७५ को लागि स्थलगत तथ्याङ्क सङ्कलन गर्न सदरमुकाम चरीकोटमा जिल्ला आर्थिक गणना कार्यालयसमेत स्थापना भएको छ । आर्थिक गणना जनगणना र कृषि गणनाजस्तै विशेष तथा आवधिक रूपमा सम्पन्न गरिने देशव्यापी कार्यक्रम भएको दोलखाका आर्थिक गणना अधिकृत सन्तोष कार्कीले बताए । राष्ट्रिय आर्थिक गणना एक बृहत् तथ्याङ्कीय क्रियाकलाप भएको उनको भनाइ छ । यसका लागि दोलखाभर रहेका वा क्रियाशील व्यावसायिक आर्थिक एकाइहरू वस्तु उत्पादन तथा सेवा प्रदान गर्ने प्रतिष्ठान/व्यवसायहरूमा गणना टोली पुग्नेछ । गणनाको निर्धारित प्रक्रियाअनुसार निर्धारित समयभित्र ती आर्थिक एकाइहरूको विवरण सङ्कलन, प्रशोधन, विश्लेषण, प्रकाशन एवम् वितरण गर्ने समष्टिगत प्रक्रियालाई आर्थिक गणनामा राखिएको उनले बताए ।

प्रतिष्ठान तथा व्यवसायहरूको व्यावसायिक क्रियाकलापसम्बन्धी वर्तमान अवस्था र यसका वित्तीय पक्षसहित आधारभूत तथ्याङ्क उपलब्ध गराउने, केन्द्र, प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई योजना तर्जुमा र नीति निर्माण गराउने उनले जानकारी दिए । उनका अनुसार राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न तथ्याङ्कहरू उपलब्ध गराउने यसको मुख्य उद्देश्य रहेको छ । व्यवसायको सङ्कलित विवरणहरू तथ्याङ्क ऐन २०१५ अनुसार गोप्य रहने र केवल सामूहिक तथ्याङ्कीय प्रयोजनको लागि मात्र उपयोग हुनेमा विभागले सूचनादातालाई ढुक्क रहन आग्रह गरेको छ ।

चैतभित्र जनशक्ति व्यवस्थापन तथा तालीम सम्पन्न गरी कर्मचारीलाई स्थलगत तथ्याङ्क सङ्कलनका लागि खटाइने योजना छ । स्थलगत गणनाको अवधि वैशाख १ देखि जेठ मसान्तसम्म करीब २ महीना हुनेछ । जिल्लाभित्र गणनाको दिनमा अस्तित्वमा वा सञ्चालनमा रहेका सबै प्रकारका प्रतिष्ठानहरूलाई गणनामा समेटिनेछ । आर्थिक गणनामा सूचीकरण फाराम र मुख्य गणना फाराम गरी २ प्रकारका फाराम प्रयोग गरिनेछ । गणनामा कागजी गणक, ट्याब्लेटमा गणक र ई–गणना (अनलाइन गणना)को आधारमा गणना गरिने उनले बताए । स्थलगत तथ्याङ्क सङ्कलन सम्पन्न गरिसकेपछि २०७५ भदौभित्र प्रारम्भिक नतीजा सार्वजनिक गर्ने तथा सोही वर्षको अन्त्यसम्ममा अन्तिम नतीजा सार्वजनिक गर्ने विभागको तयारी छ ।

स्रोत: http://www.abhiyan.com.np/2018/03/19/189089

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More