News

वैशाख २ देखि आर्थिक गणना : आवश्यक सबै तयारी पूरा

April 02, 2018

रन्जु काफ्ले, आर्थिक अभियान, सोमवार, चैत्र १९, २०७४

काठमाडौं । सरकारले सबै आर्थिक परिसूचक समावेश गरेको राष्ट्रिय आर्थिक गणना नयाँ वैशाख २ गतेदेखि शुरू गर्ने भएको छ । वैशाख १ गते शनिवार परेकाले वैशाख २ गतेदेखि देशभरि नै गणना शुरू गरिने केन्द्रीय तथ्याङ्क विभागले हो । विभागका प्रमुख सुमनराज अर्यालले ‘राष्ट्रिय आर्थिक गणना–२०७५’का लागि आवश्यक सबै तयारी भइसकेको अभियानलाई बताए । ‘हालसम्म प्रयोग भएभन्दा परिष्कृत विधिबाट आर्थिक गणना हुन्छ,’ विभाग प्रमुख अर्यालले भने ।

जापान सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने आर्थिक गणनाको तथ्याङ्क सरकारलाई दिगो आर्थिक नीति बनाउन सहयोगी हुने बताइएको छ । हालसम्म विभागले कृषि तथा औद्योगिक गणना गर्ने र सोही गणनाको तथ्याङ्कको आधारमा आर्थिक नीति तथा कार्यक्रम बनाउँदै आएको थियो । बलियो आर्थिक नीति बनाउन र दिगो विकासको लक्ष्य प्राप्त गर्न बन्ने नीति तथा कार्यक्रमका लागि केन्द्रीय तथ्याङ्क विभागमा हाल भएका तथ्याङ्कहरू अपर्याप्त भएको भन्दै सरकारले मन्त्रिपरिषद्बाटै पहिलोपटक आर्थिक गणना गर्ने निर्णय गरेको हो ।

आर्थिक गणनाका लागि देशभरि ३ हजार ५ सय गणक परिचालन गर्ने विभागको तयारी छ । सबै गणकलाई सोहीअनुसार प्रशिक्षित गराइएको विभागले बताएको छ । आर्थिक गणनाको तथ्याङ्क प्रशोधनदेखि अन्तिम प्रतिवेदन सार्वजनिक गर्नेसम्मको कार्यक्रमका लागि ५ वर्ष लाग्ने र करीब रू. ५० करोड खर्च हुने सरकारी अनुमान छ ।

हालसम्म सरकारले हरेक १० वर्षमा कृषि गणना तथा जनगणना र हरेक ५ वर्षमा औद्योगिक गणना गर्दै आएको छ । त्यसकै आधारमा आर्थिक परिसूचकहरू पनि गणना हुने गरेका छन् ।

आर्थिक गणनाले देशभित्र सञ्चालनमा रहेका उद्योग, व्यवसाय र सेवाप्रदायकको आर्थिक क्रियाकलापबारे जानकारी दिने, तिनीहरूको पछिल्लो अवस्थाबारे तथ्याङ्क उपलब्ध गराउने, लेखाप्रणालीलाई सुदृढ गराउने, केन्द्रीय तथा स्थानीय निकायको योजना तर्जुमामा समेत सहयोग गर्ने लक्ष्य लिएको छ । त्यसका लागि विभागले दर्ता भएका कृषि, वन र माछापालन, खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत् तथा ग्यास, खानेपानी, फोहोर तथा ढल व्यवस्था र प्रशोधनको क्रियाकलापलाई आर्थिक गणनामा समावेश गरेको छ । त्यसैगरी थोक तथा खुद्रा व्यापार, यातायात र गोदामलाई समेत आर्थिक गणनाभित्र समावेश गरिएको विभागले बताएको छ ।

स्रोत: http://www.abhiyan.com.np/2018/04/02/192948