कान्तिपुर राष्ट्रिय दैनिक, १३ कार्तिक २०७४
लगातार दोस्रो महिना पनि मुलुकको शोधनान्तर अवस्था ऋणात्मक भएको छ । देश भित्रिनेभन्दा बाहिरिने रकम बढ्दै गएपछि भदौमा घाटा ५ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।
आर्थिक वर्षको पहिलो महिना साउनमा ३ अर्ब २९ करोड रुपैयाँ घाटामा थियो । मुलुकको अन्तर्राष्ट्रिय कारोबारमा देखिएको यस्तो घाटाले अर्थतन्त्रमा जोखिम ल्याउने संकेत गर्छ । घाटा बढ्दै गए विदेशी मुद्राको सञ्चिति सकिएर मुलुक टाट पल्टिने अवस्थामा पुग्न सक्छ । यसपटक पनि मुलुकको अर्थतन्त्र धान्ने मुख्य स्रोत रेमिटयान्स वृद्धिदर घटदो दरमा रहेको, निर्यात, पर्यटनलगायत बाहय क्षेत्रमा अपेक्षित सुधार हुन नसेकेको र आयात उच्च दरले बढेपछि शोधनान्तर घाटा पनि बढ्दै गएको हो ।
गत वर्षको साउन र भदौ दुई महिनामा शोधनान्तर स्थिति ऋणात्मक थियो । त्यसपछिका माहिनाहरूमा भने शोधनान्तर बचतमा थियो । गत वर्षजस्तै यो वर्षको पहिलो दुई महिनामा पनि शोधानान्तर ऋणात्मक बनेको हो । झन्डै २ वर्षपछि गत वर्षको साउन र भदौमा ऋणात्मक रहेको शोधनान्तर ऋणात्मक बनेको थियो । राष्ट्र बैंकको तथ्यांकअनुसार ०७३ साउनमा २ अर्ब ११ करोड रुपैयाँले शोधनान्तर ऋणात्मक थियो । यसअघि आर्थिक वर्ष ०७१/७२ भदौमा शोधनान्तर १० अर्ब ५ करोडले घाटामा थियो । शोधनान्तर घाटामा रहँदा खासगरी, विदेशी लगानी निरुत्साहित हुन्छ । उत्पादनमा नकारात्मक प्रभाव पर्ने भएकाले मुलुकको परनिर्भरता बढ्छ र विदेशी विनिमय सञ्चितिमा ह्रास आउँछ ।
गत भदौमा मुलुकको चालु खाता पनि १७ अर्ब ८८ करोड रुपैयाँले घाटामा छ । गत वर्षको सोही अवधिमा यो खाता ११ अर्ब १२ करोडले घाटामा थियो । गत आर्थिक वर्षको सुरुदेखि नै चालु खाता दबाबमै रहेको छ । गत वर्षका अधिकांश महिना चालु खाता ऋणात्मक हुनुले यो पुष्टि गर्छ । बढ्दो आयात, घटदो निर्यात, रेमिटयान्सको वृद्धिदरमा कमीलगायत कारण चालु खाता र शोधनान्तर स्थिति ऋणात्मक रहेको विज्ञहरू बताउँछन् ।
मूल्य वृद्धिदर बढयो
गत भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ३ दशमलव ४ प्रतिशत छ । साउनको तुलनामा यो करिब १ प्रतिशत विन्दुले बढी हो । ०७४ साउनमा यस्तो मूल्य वृद्धिदर २ दशमलव ३ प्रतिशत थियो । गत आर्थिक वर्षको भदौमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ७ दशमलव ९ प्रतिशत रहेको राष्ट्र बैंकले बताएको छ । गत साउन महिनाको अन्त्यतिर भएको अत्यधिक मनसुनी वर्षाले सिर्जना गरेको बाढी पहिरो तथा डुबानले तरकारीको मूल्यमा उच्च वृद्धि भएकाले ०७४ भदौमा मूल्य वृद्धिदर बढेको राष्ट्र बैंकले जनाएको छ । आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनाको आर्थिक तथा वित्तीय स्थितिमा यस्तो उल्लेख छ । भदौमा गैरखाद्य मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा गैरखाद्य मुद्रास्फीति ८ दशमलव १ प्रतिशत थियो । लत्ताकपडा तथा जुत्ता, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सामान तथा सेवालगायत वस्तुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैरखाद्य मुद्रास्फीति कम रहन गएको राष्ट्र बैंकको तथ्यांक छ ।
व्यापार घाटा साढे १ खर्ब
यो वर्षको दुई महिनामै व्यापार घाटा १ खर्ब ५१ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो करिब १२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ४८ दशमलव १ प्रतिशतले बढेको थियो । भदौमा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव २ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव ८ प्रतिशत रहेको थियो ।
दुई महिनामा निर्यात ३ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७ दशमलव ७ प्रतिशतले बढेको थियो । उक्त अवधिमा पशु आहार, धागो, तयारी पोश्साक, पिना, वनस्पती घिउलगायतका वस्तुको निर्यात बढेको छ । तर, जुस, अलैंची, उनी गलैंचा, जीआई पाइप, टुथपेस्टलगायत वस्तुको निर्यात घटेको जनाइएको छ ।
भदौसम्म आयात ११ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ८ दशमलव १ प्रतिशत, चीनबाटको आयात २६ दशमलव ३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १० दशमलव ७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । सो अवधिमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, सुन, सिमेन्ट, सञ्चारका साधन तथा पुर्जालगायत वस्तुको आयात बढेको छ । तर, कृषि औजार तथा पार्टपुर्जा, खाने तेल, चाँदी, सेनिटरी वेयर्स, विद्युतीय सामग्रीलगायत वस्तुको आयात घटेको छ ।
सवा १ खर्ब रेमिटयान्स
साउन र भदौमा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । यो दुई महिनाको व्यापार घाटाको रकमभन्दा कम हो । गत वर्षको सोही अवधिको तुलनामा यो ०.७ प्रतिशतको वृद्धि हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह ६ दशमलव ६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्या (पुन: श्रमस्वीकृतिबाहेक) मा कमी आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भदौसम्म ७ दशमलव २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको राष्ट्र बैंकको तथ्यांक छ ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-10-30/20171030083843.html
फोटो स्रोत: http://www.bizmandu.com/print/news/-20721.html