News

संकटमा कर्णालीका खाद्यान्न

November 09, 2017

कारोबार आर्थिक दैनिक, २३ कार्तिक २०७४

पोषकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका कर्णाली क्षेत्रका खाद्य बाली संकटमा पर्न थालेका छन् । आयातित चामलप्रति स्थानीयको आकर्षण बढ्न थालेपछि स्थानीय बाली लगाउन छाड्ने प्रवृत्ति बढेकाले रैथाने खाद्यान्न संकटमा पर्न थालेको हो । 
रैथाने बाली संकटमा पर्न थालेपछि कर्णाली क्षेत्रमा चिनो, कागुनो, कोदो, फापर, मार्सी लगायतका खाद्यान्नको बाली बचाउ अभियान सञ्चालनमा ल्याइएको छ । कर्णाली क्षेत्रमा जिल्लामा स्थानीय तहमा सञ्चालित अभियानअन्तर्गत बुधबार काठमाडौं उपत्यकामा पनि सरोकारवालाको उपस्थितिमा प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा कृषिसँग सरोकारवालालाई कर्णालीमा उत्पादन हुने सबैखाले उत्पादनको परिकार बनाइ चखाइयो । 
कर्णाली क्षेत्रमा जडीबुटीजन्यदेखि पोषणयुक्त प्राङ्गारिक खाद्यान्न उपलब्ध रहे पनि प्रबद्र्धन गर्न नसकेकै कारण ओझेलमा पर्दै गरेको कार्यक्रमको आयोजक संस्था कर्णाली कृषि तथा खाद्य सरोकार समूहका अध्यक्ष धर्मबहादुर गौतमले बताए । “विश्वका ब्राउन राइस आयात गरेर खाने प्रचलन नेपालमा बढिरहेको छ, तर कर्णालीकै ब्राउन राइसको संरक्षण र प्रवद्र्धन गर्न सकिएको छैन,” कर्णालीको विकासका लागि अभियानमा संलग्न उनले भने, “कर्णालीको आर्थिक स्तर स्थानीय बालीनाली प्रवद्र्धन गर्न सकेमात्र माथि उठ्न सक्छ भनेर अभियान थालेका हौं ।” पाँच  वर्षदेखि कर्णाली प्रवद्र्धनमा लागेका उनले स्थानीय तहमा जनचेतना जगाउने र नीति निर्माताले पनि कर्णालीको विकासका बारेमा गम्भीर बन्न सके कर्णालीको विकास टाढा नरहेको उनको भनाइ छ ।
कर्णालीको जुम्लालाई नेपालकै पहिलो प्राङ्गारिक जिल्ला घोषणा गरिएको र अन्य क्षेत्रमा पनि प्राङ्गारिक उत्पादन नै पाइने गरेको गौतमले बताए । कार्यक्रममा सहभागीहरूलाई कर्णालीमा उत्पादन भएका फापरको केक, कोदोको केक, कोदोको नमकिन, लट्टेको लड्डु, कोदोको हलुवा, स्याउको केक, चिनोको खिर लगायतका परिकारहरू खान दिइएको थियो । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा आयोजित कार्यक्रममा कर्णाली मार्से, लट्टे, गुच्ची च्याउ, घोडामच्चा, गुराँस, चिनो, कागुनो, उवा, मार्से, ओखर, फापर, मार्सी चामल, ढटेलोको तेल, सीमीलगायतका उत्पादनको प्रदर्शनसमेत गरिएको थियो । 
कार्यक्रमको सहआयोजक कृषिका लागि खाद्य अभियानका संयोजकसमेत रहेका डा. कृष्ण पौडेलले सरकारी निकाय र कार्यक्रमहरू नै कर्णालीलाई परनिर्भर बनाउन लागि परेको बताए । “बाहिरबाट चामल पठाएर महँगो खर्च गर्न सरकार र गैरसरकारी क्षेत्र लागि परे । तर सो क्षेत्रको विकासमा कसैले चासो देखाएनन्,” उनीले भने, “यसकै फलस्वरुप कर्णालीमा पाइने विश्वमै दुर्लभ मानिएका बुटिजन्य र महत्वपूर्ण खाद्य तथा अन्य बाली संकटमा परेका छन् ।” आफ्नै बारीको चिनो, कागुनो, कोदो, फापर छाडेर चामलमा निर्भर बनाएको सरकारले कर्णालीको महत्व नबुझेको उनको आरोप छ । 
खाद्य अधिकारका अभियन्ता टिका भट्टराईले कर्णाली क्षेत्रमा पाइने बालीनालीको प्रवद्र्धनले कर्णाली क्षेत्रलाई आत्मनिर्भर मात्र नबनाई स्थानीयको स्वास्थमा पनि सकारात्मक प्रभाव पार्ने बताए । “कर्णालीमा  पाइने लट्टे अति पोषकीय भएकाले स्वीटजरल्याण्डमा  महंगोमा बिक्री हुन्छ, हामीले खेती गर्न छाड््दैछौं,” उनले भने, “सुक्खा सहन सक्ने, मलखाद पनि धेरै नचाइने, सिंचाइ पनि कम भए हुने यी र यस्तै अन्य खाद्यान्नको प्रवद्र्धन अति आवश्यक बनेको छ ।” सिमी, चोदो (डल्लो मुला) लगायतका तरकारीजन्य उत्पादन प्रवद्र्धन गर्नुपर्ने उनले बताए ।
बाजुरा  जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि प्रसार अधिकृत रामकृष्ण श्रेष्ठले पनि स्थानीयहरू आयातित चामलप्रति आकर्षित हुन थालेकाले रैथाने बालीप्रति आकर्षण घट्दै गरेको बताए । “भातमुखी संस्कृतिका कारण पोषणयुक्त बालीको उत्पादन र उपभोग गर्ने क्रम घट्दै गएको छ,” उनले भने, “तर, स्थानीय बाली प्रवद्र्धनमा बाजुरामा हामीले अभियान नै सञ्चालनमा ल्याएका छौं, केही सुधार पनि हुँदैछ ।” बाजुरामा वर्षेनी ६ हजार ५ सय टन खाद्यान्न अपुग हुने गरेको उनले बताए । कार्यक्रममा सहभागीहरूले कर्णाली क्षेत्रको उत्पादन प्रबद्र्धनका लागि आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्रोत: https://www.karobardaily.com/news/83177