संस्थानमा लगानी थप्दै सरकार

June 05, 2019

पवन तिमल्सिना, अन्नपूर्ण पोष्ट, जेठ २२, २०७६ 

काठमाडौं : सरकारले सार्वजनिक संस्थानमा लगानी बढाउने भएको छ। ऋण र सेयर गरी कुल लगानीमा २२ प्रतिशत लगानी थप्ने सरकारको योजना छ। आव ०७६/०७७ मा सरकारले संस्थानमा एक खर्ब एक अर्ब २२ करोड १२ लाख रुपैयाँ थप लगानी गर्ने हालै सार्वजनिक बजेटमा उल्लेख छ। यो लगानी गत वर्षको वार्षिक लगानीका तुलनामा ७.६३ प्रतिशत बढी हो। यसमा सरकारको प्रत्येक्ष लगानी २७ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ रहने अर्थ मन्त्रालयले जनाएको छ।

यसमध्ये १४ अर्ब ५३ करोड ८५ लाख रुपैयाँ सरकारको सेयर लगानी रहनेछ। यस्तै ऋण लगानी १३ अर्ब १९ करोड ५१ लाख रुपैयाँ हुनेछ। बाँकी रकम विदेशी ऋण र अनुदानबाट प्राप्त हुनेछ। वैदेशिक ऋणतर्फ ६८ अर्ब ४३ करोड २१ लाख रुपैयाँ र अनुदानतर्फ ३ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ रहने सरकारको अनुमान छ।

सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका संस्थानद्वारा सञ्चालित आयोजनामा लगानी बढाउने बजेटमा उल्लेख छ। कुलेखानी तेस्रो जलविद्युत् आयोजना, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र माथिल्लो त्रिशूलीलगायत दर्जनभन्दा बढी आयोजनामा लगानी बढाउनुपर्ने हुँदा सरकारले संस्थानमा लगानी थप्न लागेको हो। यस क्षेत्रमा ५८ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ लगानी हुने अनुमान छ।

नागरिक उड्डयन प्राधिकरण मातहतका महत्त्वाकांक्षी आयोजनामा पनि १५ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ लगानी गर्ने सरकारको लक्ष्य छ। निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल जस्ता ठूला आयोजनाका लागि स्रोत जुटाउन लगानी बढाउनुपर्ने भएको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्।

चालु आवमा २५.७८ प्रतिशत बढ्ने अनुमान 

यस आर्थिक वर्षसम्म सार्वजनिक संस्थानमा सरकारको कुल लगानी ४ खर्ब ५८ अर्ब ८३ करोड पुग्ने देखिएको छ। यो गत वर्षभन्दा २५.७८ प्रतिशत बढी हो। सरकारले चालु आवमा वार्षिक लगानी ९४ अर्ब ४ करोड ३६ लाख रुपैयाँ पुग्ने संशोधित अनुमान गरेको छ। सार्वजनिक संस्थानको वार्षिकस्थिति समीक्षा २०७६ अनुसार आव ०७४/०७५ सम्म सार्वजनिक संस्थानमा नेपाल सरकारको लगानी ३ खर्ब ६४ अर्ब ७९ करोड पुगेको छ। संस्थानमा सरकारको सेयर लगानी २ खर्ब ३७ करोड रुपैयाँ छ भने १ खर्ब ६४ अर्ब ४२ करोड ऋण दिएको छ।

हाल नेपालमा ३९ वटा सार्वजनिक संस्थान छन्। तीमध्ये २ वटा बन्द छन्। सञ्चालनमा रहेका ३७ सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा छन्। ती संस्थानबाट कुल ९४ अर्ब ७ करोड राजस्व संकलन भएको छ।

०७४/०७५ कुल राजस्वमा संस्थानको योगदान १२.९ प्रतिशत छ। यस अवधिमा नाफामा सञ्चालित रहेका कुल संस्थानको नाफा ४४ अर्ब ९ करोड र नोक्सानामा सञ्चालित रहेका कुल संस्थानको नोक्सान ६४ करोड छ। नाफामा भएका संस्थाबाट त्यस आवमा ९ अर्ब ८९ करोड लाभांश प्राप्त भएको थियो। यो आव ०७३÷०७४ को तुलनामा २७.३ प्रतिशत बढी हो। हाल ती संस्थानमा २८ हजार हाराहारीमा कर्मचारी छन्।

स्रोत: http://annapurnapost.com/news/128940

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More