राजु चौधरी, कान्तिपुर दैनिक, ३० श्रावण २०७४
आपूर्ति मन्त्रालयले तराईका बाढी प्रभावित जिल्लामा खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले सरोकार मन्त्रालयहरूलाई तयारीको अवस्थामा बस्न निर्देशन दिएपछि आपूर्तिले आफू मातहतका सार्वजनिक संस्थानहरूबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको हो । आपूर्ति सचिव प्रेमकुमार राईले गृह मन्त्रालयको निर्देशनअनुसार खाद्यान्न वितरणको योजना बनाएको बताए ।
‘शनिबार गृहको अध्यक्षतामा भएको बैठकले सबैलाई तयारीको अवस्थामा बस्न निर्देशन दिएकाले सोहीअनुसार तयारी सुरु गरिएको छ,’ उनले भने, ‘कर्मचारीलाई उद्धारको कार्यमा खटाउने र खाद्यान्न वितरण गर्ने निर्णय भएको छ ।’ उनका अनुसार खाद्य संस्थानले विभिन्न गोदाममा रहेको चामलको प्याकेट, कर्णालीको दाल र एक लिटर तेलको प्याकेट बनाएर प्रभावित क्षेत्रमा वितरण गर्नेछ ।
उक्त खाद्यान्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) र दैवी प्रकोप उपभोक्ता समितिको मागअनुसार वितरण गरिने उनले बताए । ‘तेल र दाल केन्द्रमा पर्याप्त छ । चामल विभिन्न जिल्लाका डिपोहरूमा राखेका छौं,’ उनले भने, ‘सीडीओ र समितिको मागअनुसार खाद्यान्न पठाउन संस्थानलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छौं ।’ खाद्य संस्थानले कर्णालीका जिल्लाबाट गेडागुडी गरिद गरेको थियो । खरिद गरिएको गेडागुडी (सिमी र फापर) दुई वर्षदेखि गोदाममै छ । उक्त गेडागुडी थापाथली डिपोमा १६ सय ७२ क्विन्टल छ । ती गेडागुडी डुबान क्षेत्रमा वितरण गर्ने योजना बनाएको मन्त्रायलले जनाएको छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालले सरकारसँग पर्याप्त खाद्यान्न मौज्दात रहेकाले आत्तिने अवस्था नभएको बताए । ‘खाद्य संस्थानसँग पर्याप्त मौज्दात छ । लहानदेखि पूर्वका सबै गोदाममा मौज्दात राखेका छौं । बाढीले गोदाममा कुनै असर गरेको छैन । नोक्सान भएको छैन,’ उनले भने, ‘त्यसलाई प्याकेजिङ गरेर प्रभावित क्षेत्रमा वितरण गर्नेछौं ।’
खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले पनि प्रभावित क्षेत्रमा वितरण गर्ने गृहकार्य भइरहेको बताए । ‘पहिलो प्राथमिकता मानवीय उद्धार हो । त्यसपश्चात् खाद्यको आवश्यकता पर्छ,’ उनले भने, ‘सोहीअनुसार तयारी थालेका छौं ।’
उनका अनुसार संस्थानसँग १ लाख ७७ हजार क्विन्टल चामल मौज्दात छ । सापकोटाका अनुसार संस्थानसँग बिर्तामाडमा ७ हजार ८ सय क्विन्टल, विराटनगरमा ४ हजार ७६, लाहानमा २३ हजार ५ सय ८६, जनकपुरमा ३ हजार ३ सय क्विन्टल चामल छ । वीरगन्जमा १२ हजार ८ सय ८८, भैरहवामा ५ हजार २ सय ९३, नेपालगन्ज ८ सय ८०, राजापुर ९ हजार ३ सय ५२, धनगढी २ हजार ७ सय ५४, काठमाडौं थापाथली ३४ हजार ८ सय ३४ क्विन्टल मौज्दात रहेको सापकोटाले बताए ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-08-14/20170814071727.html