सगरमाथाको उचाइ नाप्न कम्तिमा २२ करोड लाग्ने अनुमान

December 21, 2017

अनलाइनखबर, ५ पुष २०७४ 

सगरमाथाको उचाइ मापन गर्न कम्तिमा २२ करोड रुपैयाँ खर्च लाग्ने नापी विभागले जनाएको छ ।

विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सगरमाथाको उचाईँ मापन गर्दा कम्तिमा २२ करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्म खर्च हुने अनुमान रहेको बताएका हुन् ।

‘उचाइ मापन गर्नलाई चाहिने आवश्यक सामग्री खरिद गर्दा निकै महँगो पर्छ’, भट्टले भने, ‘ती सामग्रीहरु भाडामा पाइए खर्च कटौती हुनेछ । हामी त्यसका लागि पहल गर्दैछौं ।’

यद्यपि, अर्थ मन्त्रालयले भने नापी विभागलाई चालू आर्थिक वर्षको बजेटमा २ करोड रुपैयाँ मात्रै विनियोजन गरेको छ ।

महानिर्देशक भट्ट भन्छन्, ‘काम गर्दै जाँदा रकम नपुग्ने भए मन्त्रालयबाट थप रकम विनियोजित हुने वचन आएकाले काम अघि बढाएका छौं ।’

अन्तर्राष्ट्रिय चासो

सगरमाथा विश्वकै सर्वोच्च शिखर भएको तथ्य सार्वजनिक भएको १ सय २७ वर्ष पुगिसकेको छ । र, अहिले पहिलोपटक नेपालले उचाई मापन गर्न लागेको हो ।

जसका कारण अन्तर्राष्ट्रिय समुदायले नेपालद्वारा गर्न लागिएको उचाई मापनलाई विशेष चासोका साथ हेरेको छ ।

एक साताअघि काठमाडौंमा आयोजना भएको सगरमाथाको उचाई मापनको विषयमा केन्दि्रत गोष्ठीमा सहभागी जापान, न्यूजिल्याण्ड, चीन, भारत, स्वीट्जरल्याण्ड, इटाली एवं अमेरिकाका प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता र विज्ञहरुले आफूहरुले विशेष चासोका साथ नेपालको गतिविधिलाई हेरिरहेको बताएका थिए ।

नापी विभागले भने नेपालको मापनमा कुनै पनि किसिमको प्रश्न चिन्ह खडा नहोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय विज्ञ समेतको परामर्श र संलग्नतामा सगरमाथाको उचाइ नाप्ने तयारी गरेको छ ।

सगरमाथाको उचाइ मापनमा प्रत्यक्ष रुपमा ८० जना प्राविधिक खटिने छन् ।

यसअघि सन् १८४७ मा सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरेर ८ हजार ८  सय ४८ मिटर भएको सार्वजनिक गरेको थियो । सोही तथ्याङ्कको आधारमा अहिलेसम्म सगरमाथालाई विश्वकै सर्वोच्च शिखर मानिँदै आएको छ ।

त्यसयता पनि विभिन्न देशका प्राविधिकहरुबाट सगरमाथाको उचाइ मापन गरिएको भए पनि त्यसलाई आधिकारिक मानिएकाे छैन ।

स्रोत: https://www.onlinekhabar.com/2017/12/647092

फोटो स्रोत:https://www.explorehimalaya.com/2012/05/29/nation-celebrates-5th-international-sagarmatha-everest-day/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More