News

सगरमाथाको उचाइ मापनको ६० प्रतिशत काम सम्पन्न

April 12, 2019

खिलक बुढाथोकी, नागरिक, चैत २८, २०७५ 

काठमाडौं- सर्वोच्च शिखर सगरमाथाको आधिकारिक उचाइ आठ हजार आठ सय ४८ मिटर मानिन्छ। यो उचाइ नेपालले नापेर पत्ता लगाएको थिएन। भारत, चीन, अमेरिका लगायत देशले सगरमाथाको उचाइ नाप्ने काम गरेका थिए। अब चाहिँ नेपाल आफैंले सगरमाथाको उचाइ पत्ता लगाउने काम गरिरहेको छ।

नापी विभागका अनुसार हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसकेको छ। सगरमाथा नाप्ने योजनाका संयोजक तथा प्रमुख नापी अधिकृत सुशील डंगोलका अनुसार सिरहाको माडरदेखि तीनवटा प्रमुख स्थानहरू सोलुखुम्बुको पत्ताले, फाप्लु नजिकैको छुयाङ्मु डाँडा र पिके डाँडासम्मको उचाइ लिएर (लेभलिङ गरेर) सम्पर्क स्थापित गर्ने काम गरिसकेको छ। फागुनबाट उचाइ नाप्न फिल्डको काम थालिएको थियो। अब सगरमाथाको शिखरतिरको काम गर्न टोली चुचुरोतर्फ जान बुधबार नै काठमाडौंबाट सगरमाथातर्फ लागिसकेको छ। टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सहित विदाई गरेका थिए।

सगरमाथा नापी टोलीको आरोहण व्यवस्थापनको जिम्मा पिक प्रमोसन प्रालिले लिएको छ। आरोहण व्यवस्थापन कम्पनी पिक प्रमोसनको अनुसार आरोहणका लागि विभागका नापी कर्मचारी खिमलाल गौतम, रविन कार्की, सुरजसिं भण्डारी र युवराज धितालले तालिम गरिसकेका छन्। चुचुरोमा भने चारमध्ये गौतम र कार्की दुईजना जाँदैछन्। गौतम सगरमाथा चढिसकेका छन्। भण्डारी र धिताल भने आधार शिविरमै रहने छन्। आधार शिविरमाथि  जिपिएसको माध्यमबाट उचाइ मापनको काम हुनेछ। आरोहीहरू जिपिएर बोकेर शिखर जानेछन् ।

डंगोलका अनुसार उचाइ नाप्ने काम सन् २०१९ भित्र सम्पन्न गरेर सरकारलाई प्रतिवेदन बुझाउने लक्ष्य छ। काम केही चुनौतीपूर्ण रहेको समेत विभागका प्रमुख नापी अधिकृत डंगोलको भनाइ छ। ‘आरोहणको काम आफैंमा चुनौतीपूर्ण हो,’ उनले भने, ‘झन् हाम्रो त प्रविधिको सहायताले नाप पनि लिनुछ।’ आरोहणलाई मौसमले पनि प्रत्यक्ष असर पार्ने भएकाले नापीको कार्य मौसममा समेत निर्भर रहन्छ। आफ्नै देशमा रहेको सगरमाथाको उचाइ नापेर देखाउनुमा नेपालकै गौरव रहेकाले चुनौती सामान गरेर काम गरिने उनले बताए।

सगरमाथा नाप्न करिब २५ करोड खर्च लाग्ने अनुमान गरिएको थियो। तर, केही आवश्यक मेसिन भने सहयोग आएकाले अनुमानित रकम घट्ने अनुमान गरेको डंगोलले बताए।

सन् १८५५ मा तत्कालीन सर्भे अफ इन्डियाले सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर रहेको पत्ता लगाएको थियो। सर्भे अफ इन्डियाका तर्फबाट जर्ज एभरेस्टले उचाइ मापन गरेका थिए। सगरमाथाको अंग्रेजी नाम उनकै नामबाट माउन्ट एभरेस्ट राखिएको हो।

सन् १९७५ मा चीनको चाइनिज स्टेट ब्युरो अफ सर्भेइङ् म्यापिङले सगरमाथाको उचाइ मापन गर्दा आठ हजार आठ सय ४४ मिटर आयो। सो उचाइ चट्टानी सतहको थियो। हिउँसहित नाप्दा चाहिँ चीनले पनि आठ हजार आठ सय ४८ मिटर नै पत्ता लगायो। छिमेकी मुलुक भारत र चीनको मात्रै नभएर अमेरिका, इटाली जस्ता देशको चासो पनि सगरमाथामा देखियो। अमेरिकन नेसनल जिओग्राफी र इटालीले सन् १९९९ मा छुट्टाछुट्टै सगरमाथाको मापन गरे। अमेरिकी टोलीले सगरमाथाको उचाइ आठ हजार आठ सय ५० र इटाली टोलीले आठ हजार आठ सय ४७ मिटर उचाइ पत्ता लगाए। तर, यी मापनलाई मान्यता दिइएन।

मापन गर्दाको फरकले सगरमाथाको उचाइ कति होला भन्ने जिज्ञासा सदैव रहँदै आएको छ। २०७२ वैशाखमा गएको भूकम्पले नेपालको भौगलिक अवस्थितिमा समेत परिवर्तन ल्याएपछि सगरमाथाको उचाइबारे झनै चासो बढ्न थालेको छ। जलवायु परिवर्तन देखिएर उचाइ घढबढ भयो कि भनेर शंका उब्जिएको बेला भूकम्पपछि त छिमेकी मुलुक भारतले सगरमाथाको उचाइ मापनको आवश्यकता रहेको बताउँदै आफूले नाप्ने बताएको थियो। 

यसैबीच विभागले सगरमाथा मापनका कार्यविधि र कार्ययोजना बनाएर मापन कार्य अगाडि बढायो। विभागका अनुसार सगरमाथा नापीको कार्यविधि बनाउँदा अन्तर्राष्ट्रियस्तरका विज्ञसँग छलफल समेत गराएको थियो। छलफलमा अमेरिका, चीन, भारत, जापान, इटाली लगायत देशका विज्ञ समूहको सहभागिता थियो। 

सोर्त: https://nagariknews.nagariknetwork.com/news/73744/