सगरमाथा-सफाइ-अभियान--फोहोरसँगै-भेटिए-शव

May 28, 2019

हरिहर राठौर, कन्तिपुर, जेठ १४, २०७६ 

नाम्चे (सोलुखुम्बु) — सगरमाथा सफाइ अभियानक्रममा १० हजार ८ सय २४ किलोग्राम फोहोर संकलन भएको छ । वर्षौंदेखि सगरमाथा क्षेत्रमा अडकिएका ४ वटा शव पनि झिकिएको छ । वैशाख १ देखि सुरु अभियानको सोमबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समापन गरे ।

संकलित फोहोर धेरैजसो स्थानीयस्तरमै व्यवस्थापन गरिएको छ भने केही काठमाडौं र अन्य जिल्ला पठाइएको छ । फोहोरलाई विभिन्न भागमा वर्गीकरण गरी व्यवस्थापन गरिएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले जनाएको छ ।

स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने वस्तुलाई नाम्चे क्षेत्रमै, कुहिने वस्तुसहितको फोहोरलाई ओखलढुंगामा र नकुहिने क्यान, सिसाको बोतललगायतलाई काठमाडौं पठाइएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । उनका अनुसार काठमाडौं र ओखलढुंगामा सेनाको हेलिकप्टरमार्फत हजार/हजार किलो फोहोर पठाइएको हो । चारवटा शव यसअघि नै काठमाडौं लगिसकिएको छ ।

काठमाडौं लगिएको फोहोर प्रदर्शनीमा राखेर ‘ब्ल्यु वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरिने भट्टराईले बताए । उनका अनुसार १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा खुम्बु क्षेत्रको लुक्लादेखि स्याङबोचे क्षेत्रमा संकलित फोहोर काठमाडौं पठाइएको हो । पहिलो चरणको फोहोरसमेत सेनाले सोही संस्थालाई जिम्मा दिएको छ ।

सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष आङदोर्जे शेर्पाले हिमाली भूभागलाई स्वच्छ राख्न पहिलो पटक सगरमाथा सफाइ अभियान सञ्चालन गरिएको बताए । ‘हिमाली भू–भागलाई सफा र स्वच्छ राख्नु हाम्रो कर्तव्य हो,’ उनले भने, ‘सफाइ अभियानले नेपाल भ्रमण वर्ष २०२० मा पनि टेवा पुर्‍याउनेमा निश्चिन्त छौं ।’
अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदूषण नियन्त्रण समितिको सहभागिता थियो ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले अझै एक साता सगरमाथाको चुचुरोसम्म सफाइ गरिने र त्यसमा ८ जना खटिने बताए । त्यसक्रममा आरोहणमा जाँदा मृत्यु भएकाको थप शवसमेत झिक्न प्रयास गरिने उनले जानकारी दिए । अभियानका लागि नबिल बैंक, एनएमबी बैंक, विश्व वन्यजन्तु कोष, नेपाल पर्यटन बोर्ड, नेपाल सरकारलगायत विभिन्न निकायबाट २ करोड ७७ लाख रुपैयाँ संकलन गरिएको थियो ।

स्रोत: https://www.kantipurdaily.com/news/2019/05/28/155900951603397527.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More