आर्थिक अभियान, फागुन ७, २०७४
काठमाडौं (अस) । गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि पहिलो पटक राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको बैठक आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले यहि फागुन २१ गते संसदको अधिवेशन आह्वान गरेकी हुन् ।
संविधानको धारा ९३ (१) को प्रावधान बमोजिम फागुन २१ गते सोमवारका दिन दिउँसो ४ बजे अधिवेशन आह्वान गरिएको हो ।
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महीनापछि सङ्घीय संसद्को अधिवेशन आह्वान भएको हो । संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित सांसदहरुले सोही दिन सपथ लिने छन् ।
लगत्तै सरकारको सिफारिसमा निर्वाचन आयोगले मिति तोकेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराउने छ ।
स्रोत: www.abhiyan.com.np/2018/02/19/181480