सडक–पुल मर्मतलाई ८० करोड माग

September 02, 2017

दिपेन्द्र बिस्ट, कान्तिपुर दैनिक, १६ भाद्र २०७४

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढी पहिरोबाट क्षतिग्रस्त सडक, पुललगायतका पूर्वाधार मर्मत गर्न तत्काललाई ८० करोड रुपैयाँ माग गरेको छ ।

बाढी पहिरोले सडक तथा पुल भत्काउँदा ४ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको जानकारी गराउँदै 
तत्काल मर्मत गर्न उक्त रकम सरकारसँग माग गरेको हो । मन्त्रालयले मुलुकभर भएको क्षतिको विवरण संकलन गरेर क्षति र लागत विवरण तयार गरेको हो । मन्त्रालयका अनुसार सडक विभागले बाढी पहिरोले क्षतिग्रस्त सडक पूर्वाधारको मूल्यांकन गरेर पठाइसकेको छ । ‘अविरल वर्षाका कारणले ठूलो क्षति भएको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘अस्थायी रूपमा भत्किएका सडक तथा पुलमा सवारी साधन सञ्चालन गरेका छांै । मर्मत नगरेको पुलबाट साधन चलाउँदा जोखिम बढी छ ।’ साउनको अन्तिम साताको अविरल वर्षापछिको बाढी पहिरोले मुलुकभर साना ठूला गरी २२ वटाभन्दा बढी पुल र २५ वटा सडकमा क्षति पुर्‍याएको छ ।
‘सामान्य क्षति त धेरै स्थानमा भएको छ,’ ती अधिकारीले भने, ‘मर्मत सम्भारका लागि विभागले मन्त्रालयसँग रकम माग गरेको छ, अब चाँडै निर्णय होला ।’ समयमै रकम विनियोजन भए तीन महिनाभित्र मर्मत तथा सम्भार गर्न सकिने उनले बताए । सडक विभाग योजना तथा डिजाइन महाशाखा प्रमुख दयाकान्त झाले वर्षाका कारण सडक पूर्वाधारमा ठूलो क्षति भएको र त्यसले आर्थिक गतिविधिमा ठूलो असर परेको बताए । बारा, धनुषा–महोत्तरी, सिमराको रात्तोपुल र बर्दियाको बर्दियाघाट पुल ठूलो क्षति भएको उनले जानकारी दिए ।
धनुषा र महोत्तरीको सिमानामा रहेको पुलमा क्षति भएपछि एकपटकमा एउटा गाडी मात्र पार गर्न दिइएको छ । पुलको एउटा पिलर क्षतिग्रस्त अवस्थामा छ । उक्त पुलको सामन्य मर्मत गरे पनि नयाँ निर्माण गर्नुपर्ने उनले बताए । बर्दियाको सदरमुकाम गुलरिया जोड्ने पुलको आधारस्तम्भ (फाउन्डेसन) नै भत्किएको छ । ‘केहीलाई तत्काल मर्मत तथा सम्भार गरेर यातायात सुचारु गरेका छौं,’ उनले भने, ‘पूर्व–पश्चिम राजमार्गमा भएको क्षति मर्मत कार्य अघि बढाएका छौं ।’ 
राजमार्गको केही भागमा भास्सिएको भन्दै ती भागमा पनि गाडी सुचारु गरिए पनि सम्मपूर्ण सडकको मर्मत गर्न समय लाग्ने उनले बताए । पूर्व–पश्चिम राजमार्गको सप्तरीमा पर्ने पुलको स्ल्याब र पाइप कल्भर्टमा क्षति पुगेको छ । अहिले एकतर्फी गाडी सञ्चालनमा रहेको दाउन्ने सडक खण्ड केही भासिएकाले मर्मत गरेर यातायात सुचारु गरिसकेको उनले बताए । पुरानै अवस्थामा पुर्‍याउन झन्डै ४ अर्ब रुपैयाँ लाग्ने भन्दै उनले त्यसका लागि मन्त्रालयमा फाइल पठाइसकेको जानकारी दिए । झन्डै ८० करोडभन्दा बढी तत्काल मर्मत तथा आकस्मिक निर्माण लागि आवश्यक भएको विभागले जनाएको छ ।

स्रोत: http://kantipur.ekantipur.com/news/2017-09-01/20170901071617.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More