News

सडक निर्माणको गति-कतै तीव्र, कतै सुस्त

December 24, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, ०९ पुष २०७४

आर्थिक विकासको मुख्य आधारमध्येको एक सडक निर्माण देशैभर चर्चामा छ । दशकौंदेखि निर्माण थाँती रहेका, हालसालै सुरु गरिएका सडकहरू निर्माणको विभिन्न चरणमा छन् । यी सडक निर्माणको गति कतै तीव्र छ भने कतै सुस्त ।

सडक निर्माण कम्पनीलाई जरिवाना

स्तरोन्नतिको क्रममा रहेको नारायणगढ–मुग्लिन सडकको ठेक्का पाएका २ निर्माण कम्पनीलाई जरिवाना गराइएको छ । उनीहरूले ठेक्का सम्झौताअनुसार थप गरिएको समयमा समेत निर्माणको काम पूरा नगरेपछि मुग्लिन–नारायाणगढ सडक आयोजनाले जरिवाना गराएको हो । जरिवाना तिर्नेमा बीएलए एससीसी जेभी र सुप्रिम रौता जेभी छन् । आयोजनाका इन्जिनियर शिव खनालका अनुसार बीएलए एससीसी जेभीले ८ लाख र सुप्रिम रौता जेभीले ६७ लाख रुपैयाँ जरिवाना तिरेका हुन् ।

बीएलए एससीसी जेभीले आँपटारीदेखि दासढुंगासम्म साढे १० किमि र सुप्रिम रौताले सिमलतालदेखि मुग्लिनसम्म १२ किमि निर्माणको ठेक्का लिएका थिए । ‘निर्माणको जिम्मा तीनवटा कम्पनीले लिएका छन्,’ खनालले भने, ‘तीनवटैलाई २४ महिनाको समय दिइएको थियो, जसमा ८/८ महिनाको समय तोकेर कामको प्रगति बढाउनुपर्ने भए पनि थपिएको समयमा समेत प्रगति देखिएन ।’ उनका अनुसार पहिलो ८ महिनामा १५ र थप ८ महिनामा ५० प्रतिशत काम सक्नुपर्ने थियो ।

अर्को कम्पनी उडहिल लामा जेभीले मात्र निर्धारित समयमा काम सकेको खनालले बताए । उडहिलले दासढुंगादेखि सिमलताल साढे १० किमिसम्म निर्माणको जिम्मा लिएको छ । ‘दुवैले पहिलो चरणमा एकपटक र दोस्रो चरणमा दुईपटक म्याद थप्दासमेत कामको लक्ष्य भेटाउन सकेनन्,’ उनले भने, ‘तेस्रो चरणमा शतप्रतिशत काम सक्नुपर्ने हुन्छ, जसले सक्दैन, उसले डबल पेनाल्टी तिर्छ ।’ उनका अनुसार तोकिएको समयमा निर्माण पूरा नगरे ठेक्का रकमको प्रतिदिन ०.०५ प्रतिशत जरिवाना लाग्नेछ ।

निर्माण कम्पनीलाई बिल भुक्तानीको क्रममा जरिवाना रकम कट्टा गरी भुक्तानी दिइएको हो । सडक स्तरोन्नतिको क्रम जारी छ । सबैभन्दा बढी जरिवाना तिरेको सुप्रिम रौता जेभीका निर्देशक धर्मराज दाहाल जोखिमयुक्त क्षेत्रको ठेक्काको जिम्मा लिएको र प्राकृतिक विपत्तिले गर्दा समस्या भएको बताए । ‘पहिरो आउँछ, पुलमा समस्या हुन्छ, जसले गर्दा सडकमा सवारी जाम हुन्छ, यस्तो अवस्थामा निर्माणको काम प्रभावित बन्ने गर्छ,’ उनले भने, ‘यी कुरालाई मध्यनजर नै नगरी आयोजनाले जबर्जस्ती जरिवाना गरेको छ ।’

समयमै सडक निर्माणको काम नसकिँदा यात्रुले सास्ती खेप्नुपरेको छ । समयमा गन्तव्यमा पुग्न हम्मेहम्मे पर्ने गरेको छ । ‘करिब १४ किमि सडक पिच भएको छ,’ उनले भने, ‘निर्माणको काम ६७ प्रतिशत सकिएको छ ।’ निर्माण मिति तेस्रोपटक गत असार २३ मा थप भएको छ । निर्माण समय अवधि सन् २०१८ फेब्रुअरीसम्मका लागि थप भएको हो । सन् २०१५ अप्रिलबाट सडकको स्तरोन्नतिको काम सुरु भएको थियो ।

वीरगन्ज–ठोरी सडक स्तरोन्नति सुरु

हुलाकी राजमार्गअन्तर्गत पर्ने वीरगन्ज–ठोरी सडकखण्डको ३० किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे हुने भएको छ ।

उक्त सडक ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालै पर्सा क्षेत्र १ र ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यद्वय प्रदीप यादव र हरिनारायण रौनियारले उक्त मार्गको शिलान्यास गरेका छन् । भारतको आर्थिक सहयोगमा सडक विभागले निर्माण गर्न लागेको वीरगन्ज–ठोरी सडकखण्डअन्तर्गत सेढवासम्मको सडक कालोपत्रे निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सन र भारतीय निर्माण कम्पनी एएमआरले संयुक्त रूपमा पाएका छन् । १५ मिटर चौडाइ भएको दुई लेन कालोपत्रे सडकको दायाँबायाँ २ मिटरको ग्राभेलसमेत ओछ्याइने पप्पु कन्स्ट्रक्सनका प्रमुख इन्जिनियर जसुअ अब्राहमले जनाए । यसको लागत १ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँ छ ।

परियोजनाको प्राविधिक कन्सल्टयान्ट भारतीय कम्पनी नेसनल हाइवेज एन्ड इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेसन रहेको छ । गत १७ नोभेम्बरमा ठेक्का सम्झौता भएको उक्त सडकखण्डको निर्माण कार्य १७ मई २०२० सम्ममा सम्पन्न गर्ने सडक विभागले जनाएको छ । हुलाकी राजमार्गले भारतीय सीमा नजिकका भित्री मधेसका ग्रामीण बस्तीलाई छुन्छ ।

राजमार्गको निर्माण कार्य झन्डै ४ वर्षदेखि अलपत्र बनेको थियो । आर्थिक वर्ष ०६३/६४ मा निर्माण कार्य सुरु भएको राष्ट्रिय गौरवका आयोजनामा सूचीकृत यो राजमार्ग २०७४/७५ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । झापाको भद्रपुरदेखि महाकालीको दोधारा चाँदनीसम्म करिब १ हजार ५ किलोमिटर लम्बाइको उक्त राजमार्ग भारत सरकारको अनुदानमा निर्माण हुन लागेको थियो ।

भुरीगाउँ–राजापुर निर्माण तीव्र

बर्दियाको भुरीगाउँ–गुलरिया–राजापुर हुलाकी सडक निर्माणको काम तीव्र पारिएको छ । करिब ६२ किमि भुरीगाउँ, गुलरिया र राजापुरसम्म हुलाकी सडक स्तरोन्नति नहुँदा लामो समयदेखि स्थानीयले सास्ती भोग्दै आएका थिए । हुलाकी राजमार्ग आयोजनाका अनुसार बेलवाचोकदेखि पश्चिम ८ किमि सडक ग्राभेलको काम सम्पन्न भइसकेको छ ।

आयोजना प्रमुख सौरभ बज्राचार्यले बेलवाचोकदेखि खैरापुरसम्म माटो पटान, पुल पुलेसा निर्माण र ग्राभेल राख्ने काम भइरहेको बताए । बेलवाचोकदेखि ओराली बजारसम्म डेढ किमि ग्राभेल बिछयाइएको छ । ‘भुरीगाउँदेखि बगनाहासम्म ५ किमि ग्राभेल बिछयाइएको छ,’ उनले भने, ‘हालसम्म २८ प्रतिशत काम सम्पन्न भएको छ ।’ गत वर्ष माघ ८ मा शिलान्यास भएको हुलाकी सडकको काम ०७६ असार मसान्तसम्म कालोपत्रे भइसक्नेछ । भुरीगाउँदेखि गुलरिया (मुर्तिहा सीमा) सम्म ६५ करोड र बेलवादेखि राजापुर सडक खण्ड २९ करोडको लागतमा निर्माणाधीन हुलाकी राजमार्ग १५/१५ मिटर चौडा मापदण्ड रहेको छ । भुरीगाउँदेखि बेलवाचोकसम्म राजेन्द्र जेभीले निर्माणको ठेक्का लिएको छ । बेलवाचोकदेखि मुर्तिहासम्म पप्पु कन्स्ट्रक्सन र राजापुर सडक खण्ड आशिषकुमार जेभीले ठेक्का लिएको छ ।

आयोजनाले हाललाई सडक दुई लेनको भएकाले ७ मिटर कालोपत्रे, २/२ मिटर फुटपाथ र डेढ/डेढ मिटर नाला निर्माण गर्नेछ । स्थानीयले एकैपटक अतिक्रमित क्षेत्र खाली गरिदिए सहज हुने उनले बताए । आयोजना प्रमुख बज्राचार्यले चार लेनको निर्माण भएपछि सडक मापदण्डअनुसार अतिक्रमित क्षेत्र हटाइनेछ । जिल्लाको हुलाकी र पूर्वपश्चिम राजमार्ग अधिकांश ठाउँ अतिक्रमण भए पनि सम्बन्धित निकायले वास्ता नगरेका कारण दुर्घटना बढ्दै गएको छ । अतिक्रमण भएका कारण यसै सडकमा बर्सेनि दुई दर्जनभन्दा बढी दुर्घटना हुने गरेको ट्राफिक कार्यालयले जनाएको छ । तीन दशकदेखि बर्दियाको गुलरिया राजापुर, भुरीगाउँ सडक स्तरोन्नोति नहुँदा करिब तीन लाख बासिन्दा प्रभावित भएका छन् । सडक निर्माण भए कैलालीको टीकापुर पुग्न निकै छोटो दूरी तय गर्नुपर्नेछ ।

कान्ति लोकपथमा समस्या

झन्डै ६ दशकपछि सञ्चालनमा ल्याउने प्रयत्न भइरहेको कान्ति लोकपथको निर्माणमा विस्फोटक पदार्थको अभावले समस्या आएको छ ।

हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रूपमा बनिरहेको कान्ति लोकपथमा माघको अन्तिम सातादेखि यात्रुबाहक बस सञ्चालन गर्ने योजनाका साथ काम भइरहेको थियो । ‘विस्फोटक पदार्थको अभावका कारणले माघ महिनामा यात्रुबाहक बस हेटौंडा–काठमाडौं आवतजावत गर्न नसके पनि टाटासुमो चल्न सक्छन्,’ आयोजना प्रमुख देवेन्द्र साहले भने, ‘विस्फोटक पदार्थ नै उपलब्ध हुन सकेको छैन ।’

उनका अनुसार मकवानपुर र ललितपुर क्षेत्रका विभिन्न भागमा करिब चार किलोमिटर सडकमा विस्फोटक पदार्थबाट पहरा फोडेर चौडा बनाउनुपर्ने छ । ‘मकवानपुरको सिमात, ललितपुरको काल्चे, झाँक्री डाँडालगायत क्षेत्र सडकलाई फराकिलो बनाउन विस्फोटक पदार्थबाट पहरा फोड्नुपर्छ,’ साहले भने । अरू भाग चौडा बनाउने, नाली बनाउने पिच गर्ने कार्य तीव्र गतिमा भइरहेका छन् ।

सडक निर्माण गर्न नेपाली सेनाले डेढ वर्षअघि नै पाँच टन विस्फोटक पदार्थ उपलब्ध गराउने सहमति जनाएको थियो । नपुग विस्फोटक सेनाले उपलब्ध गराउन सकेको छैन । नेपाली सेनालाई पनि भारतले विस्फोटक पदार्थ उपलब्ध नगराएकाले आयोजनालाई उपलब्ध गराउन नसकेको सैनिकका एक वरिष्ठ अधिकृतले भने, ‘विस्फोटक पदार्थको निम्ति एलसी खोलेको दुई वर्ष भइसक्यो तर पनि भारतले उपलब्ध गराएको छैन ।’ भारतले विस्फोटक पदार्थको कच्चा वस्तु उपलब्ध नगराउने बरु तयारी सामान नै पठाउने अडान लिएका कारणले विस्फोटक पदार्थको समस्या भएको एक वरिष्ठ अधिकृतले भने ।

‘विस्फोटक पदार्थ पायौं भने आयोजनाको निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्न सकिन्छ,’ आयोजना प्रमुख साहले भने । उनका अनुसार तत्काल विस्फोटक पदार्थ उपलब्ध नभए आयोजना ६ महिना पछाडि धकेलिनेछ । हाल लोकपथमा १३ प्याकेजमा काम भइरहेको छ । आयोजनामा अब मुख्य रूपमा कालोपत्रेकै काम बाँकी छ । ट्रयाक खुलेको ६१ वर्षपछि हेटौंडातर्फबाट यो मार्गमा कालोपत्रे सुरु भइसकेको छ । हालसम्म हेटौंडातर्फको साढे ८ किलोमिटर सडक कालोपत्रे भएको आयोजना प्रमुख साहले बताए । ललितपुरतर्फ डेढ किमि कालोपत्रे भइसेकेको छ ।

उक्त मार्ग निर्माण भएपछि हेटौंडाबाट मुग्लिन हुँदै काठमाडौं आउने २ सय २६ र पालुङ हुँदै आउने १ सय ३६ किमि सडकको विकल्प तयार हुनेछ । यो मार्ग बनेपछि काठमाडौंसम्म ठूला सवारीले सहज रूपमा आवागमन गर्न सक्नेछन् । कान्ति लोकपथमा स्तरीय मानिने ‘अस्फाल्ट पिच’ को प्रयोग गरिँदै छ । हेटौंडातर्फको कान्ति लोकपथको प्रस्थान विन्दु बुद्धचोक हो भने काठमाडौंतर्फको प्रस्थान विन्दु ललितपुरको सातदोबाटो हो । यो लोकपथको निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ १ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ ।

भुक्तानी अभावले अलपत्र

दोलखामा तोकिएको समयमा निर्माण पूरा नगरे ठेकेदारलाई कारबाही गर्ने डिभिजन सडक कार्यालय हाल आफैं ठेकेदारलाई भुक्तानी गर्न नसकेर अप्ठयारोमा परेको छ ।

काम सम्पन्न भइसकेको ठेक्काको पनि भुक्तानी गर्न नसकेपछि सडक कार्यालय ठेकेदारद्वारा गरिएको आन्दोलनको घेरामा परेको हो । तालाबन्दीदेखि गालीगलौज सहेर बस्नुपरेको डिभिजन सडक प्रमुख अशोक तिवारीले बताए । आग्रहपछि तालाबन्द खुले पनि भुक्तानी लिन आउनेहरूको गाली भने खाइरहनुपरेको उनको भनाइ छ ।

ठेक्का स्वीकृति भएर आधाउधी सम्पन्न भइसकेको कामको बाँकी भुक्तानी अर्थ मन्त्रालयले नपठाउँदा डिभिजन सडकले ठेकेदारको अवरोधको सामना गर्नुपरेको हो । पर्यटन शीर्षकका करिब ५० र अन्य सहरी तथा ग्रामीण सडकअन्तर्गतका करिब २० सडक आयोजनाको भुक्तानी रोकिँदा कामको प्रगतिमा समेत बाधा परेको डिभिजन सडकको भनाइ छ ।

राज्य पुन: संरचनापछि जिल्लागत सडक आयोजनाहरूको निकासा स्थानीय तहमा पठाउने नीति छ । उक्त सडकहरूको निकासा पनि स्थानीय तहमै जानुपर्ने हो । तर, ठेक्का भइसकेकाले अर्थ मन्त्रालयले डिभिजन सडक कार्यालयमै निकासा पठाउने भनिए पनि अर्थ मन्त्रालयले ढिलासुस्ती गरिरहेको छ । कामको प्रगतिअनुसार माग गरिएको तीन महिना बित्दा पनि निकासा नहुँदा मर्का परेको निर्माण व्यवसायीहरू बताउँछन् ।

दोलखा र सिन्धुपाल्चोकभित्रका उक्त शीर्षकअन्तर्गत पर्ने सडकको बीचैमा काम रोकिँदा उपभोक्तालाई समेत बाधा भइरहेको छ । बीचैमा काम छाडिएकाले सडकहरू भत्काएर अलपत्र छन् । जेनतेन गाडी चल्ने सडक पनि भत्किएकाले अवरुद्ध छन् । जिल्ला समन्वय समिति दोलखाको प्रमुख डबल पाण्डेले चरिकोट–दोलखा साना सहरी सडक (मुढे र मेलुङ जोड्ने क्षेत्रीय पर्यटन सडक) पनि निकासा अभावले रोकिएपछि आवागमणमा ठूलो समस्या परेकाले अर्थ मन्त्रालयमा डेलिगेसन जाने तयारी गरिएको बताए ।

काम नगरेर ठेकेदारलाई कारबाही लेख्ने कार्यालय हाल भने आफैं ठेकेदारको कारबाही भोगेर बस्नुपरेको डिभिजन प्रमुख अशोक तिवारीले बताए ।

(जिल्ला संवाददाता विमल खतिवडा, भूषण यादव, कमल पन्थी र प्रताप विष्टको सहयोगमा)

स्रोत:https://www.kantipurdaily.com/business/2017/12/24/20171224084911.html