सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा

October 23, 2017

नागरिक दैनिक, ६ कार्तिक २०७४ 

काठमाडौँ – पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी दोलखामा परेको छ भने सबैभन्दा कम मनाङमा परेको छ। 

प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। 

यस निर्वाचनमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभाको र ७४ निर्वाचन क्षेत्रमा प्रदेश सभाको निर्वाचन एकैसाथ हुँदैछ। 

निर्वाचन आयोगका अनुसार एक निर्वाचन क्षेत्र भएको दोलखामा प्रतिनिधि सभाका लागि विभिन्न दलका १६ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि २४ जनाको उम्मेदवारी परेको हो। 

त्यस्तै एक निर्वाचन क्षेत्र भएको मनाङमा प्रतिनिधि सभाका लागि दुईजना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि पाँचजनाको उम्मेदवारी परेको छ। 

दोलखापछि रामेछापमा बढी उम्मेदवारी परेको छ। एक निर्वाचन क्षेत्र भएको रामेछापमा प्रतिनिधि सभाका लागि १४ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि २२ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। 

मनाङपछि मुस्ताङमा कम उम्मेदवारी परेको छ। एक निर्वाचन क्षेत्र भएको मुस्ताङमा प्रतिनिधि सभाका लागि दुईजना र दुई निर्वाचन क्षेत्र भएको प्रदेश सभाका लागि छजनाको उम्मेदवारी परेको छ। 

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ ३२३ र प्रदेश सभातर्फ ४८४ गरी जम्मा कूल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारको विरुद्ध उजुरी दिनका लागि सोमबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको छ। 

उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ। 

आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। त्यस्तै मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति यही कात्तिक १६ गते रहेको छ। 

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधि सभाका लागि निर्वाचन हुनेछ। त्यस्तै सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेश सभा सदस्यका लागि निर्वाचन हुनेछ। 

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन्। पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ। 

प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरूले यसअघि असोज २९ गते नै आ–आफ्नो पार्टीको बन्दसूची आयोगमा बुझाइसकेका छन्।  भीष्मराज ओझा /रासस

स्रोत: http://www.nagariknews.com/news/29150/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More