सभामुख पदको मनोनयन आज

March 09, 2018

बि बि सी नेपाली, फागुन २५, २०७४

संघीय संसदले तय गरेको कार्यतालिका अनुसार प्रतिनिधि सभाका सभामुखको निर्वाचनका लागि शुक्रबार राजनीतिक दलहरुले आ-आफ्ना उम्मेदवारको मनोनयन दर्ता गर्ने अधिकारीहरुले बताएका छन्।

संसदमा सहज बहुमत रहेको वाम गठबन्धनबाट माओवादी केन्द्रले सभामुखको उम्मेदवार तय गरिसकेको बताइएको छ।

उम्मेदवारको नामबारे औपचारिक घोषणा र मनोनयन दर्ता सँगसँगैजस्तो हुने माओवादी नेताले बताएका छन्।

अप्ठेरो

वाम गठबन्धन एउटै दल बन्ने प्रकृयामा रहेको र सभामुख अनि उपसभामुख फरक दलको हुनपर्ने भएकाले एक पदमा आफूहरुको दावी रहेको कांग्रेसको भनाई छ।

संघीय संसदको कार्यतालिका अनुसार शुक्रवार बिहान १० बजेदेखि दिउसो एक बजेसम्म सभामुख पदका लागि दलहरुले मनोनयन दर्ता गर्नुपर्ने छ।

शुक्रबारै उक्त पदका लागि उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरिने छ।

वाम गठबन्धनमध्ये माओवादी केन्द्रको भागमा सभामुख परेको छ।

सभामुखको उम्मेदवारको करिब टुङ्गो लगाईसकेको जनाउँदै माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले भने, ''सभामुख को हुने भन्ने अनौपचारिक सहमति भईसकेको छ। आकांक्षीहरु धेरै भएकोले छनौट गर्न अप्ठेरो परेको भन्ने सही होईन।''

स्वीकार

सभामुखमा निर्वाचित हुनका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको सदस्य संख्याको बहुमत अर्थात १३७ सदस्य आवश्यक पर्छ।

एमाले र माआवादीले एउटै घोषणापत्र बनाएर चुनाव लडेकोले सभामुख वा उपसभामुख मध्ये एक उहाँहरुले छोड्नुपर्ने हो। यो कानूनी प्रावधानलाई उहाँहरुले सहजतापूर्वक स्वीकार गर्नुपर्ने हो

बालकृष्ण खाँण, नेता, नेपाली कांग्रेस

एमाले र माओवादी केन्द्रसँग कुल १७४ सांसद् छन्।

वाम गठबन्धनसँग सहज बहुमत रहेपनि ती पदमा प्रमुख प्रतिपक्षी कांग्रेसले उम्मेदवारी दिने बताइएको छ।

संविधानमा सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्ने व्यवस्था छ।

वाम गठबन्धन एउटै दल बन्ने भएकोले सभामुख वा उपसभामुख मध्ये एकमा आफूहरुको दावी रहने कांग्रेस नेता बालकृष्ण खाँणले बताए।

उनले भने, ''एमाले र माआवादीले एउटै घोषणापत्र बनाएर चुनाव लडेकोले सभामुख वा उपसभामुख मध्ये एक उहाँहरुले छोड्नुपर्ने हो। यो कानूनी प्रावधानलाई उहाँहरुले सहजतापूर्वक स्वीकार गर्नुपर्ने हो।''

सरकारमा सहभागिताका लागि वार्ताको चरणमा रहेका तराई केन्द्रित दलहरुमा पनि उपसभामुख पदको आकांक्षा रहेको उक्त दलका नेताहरुले बताएका छन्।

स्रोत: www.bbc.com/nepali/news-43339995

Newsletter

Submit your details below to receive Newsletters

Newsletter