कान्तिपुर राष्ट्रिय दैनिक, ०३ पुष २०७४
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिर १० र २१ गते भएको चुनावको समानुपातिकतर्फको गणना आइतबार सकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार समानुपातिकतर्फ ९५ लाख ४४ लाख ६ सय ४१ मत सदर भएको छ ।
प्रतिनिधिसभा समानुपातिकमा एमाले सबभन्दा बढी मत ल्याएर ठूलो दल बनेको छ भने एमालेलाई कांग्रेसले पछ्याएको छ । एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ र कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएका छन् । एमालेको कांग्रेसभन्दा ४५ हजार १ सय मतमात्र बढी छ ।
माओवादी केन्द्र १३ लाख ३ हजार ७ सय २१ मत ल्याएर समानुपातिकमा तेस्रो दल भएको छ । यस्तै राष्ट्रिय जनता पार्टीले ४ लाख ७२ हजार २ सय ५४ र संघीय समाजवादी फोरम नेपालले ४ लाख ७० हजार २ सय १ मत ल्याएका छन् । ३ प्रतिशतभन्दा बढी मत ल्याएर एमाले, कांग्रेस, माओवादी, राजपा र फोरममात्र राष्ट्रिय पार्टी भएका छन् ।
विवेकशील साझा पार्टीले २ लाख १२ हजार ३ सय ६६, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९६ हजार ७ सय ८२, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ८८ हजार ३ सय ७७, नयाँ शक्ति पार्टीले ८१ हजार ८३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १३३ मत प्राप्त गरेका छन् ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-12-18/20171218063318.html