खिलक बुढाथोकी, नागरिक, २७ पुष २०७५
काठमाडौं - नेपाल र जापानबीच भएको द्विपक्षीय हवाई सेवा सम्झौता सन् २०१८ मा पुनरावलोकन गर्दा जापानको ओसाका बाहेकका विमानस्थलमा नेपालले उडान गर्ने सम्झौतामा हस्ताक्षर हुन बाँकी थियो।
ओसाका बाहेकका विमानस्थलमा पनि उडान गर्न बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रतिनिधिमण्डलबीच हवाई सेवा सम्झौताको पुनरावलोकन गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। योसँगै अब नेपालले जापानको हानेडाबाहेक सबै विमानस्थलमा उडान गर्न पाउँछ। नेपाल वायुसेवा निगमले पहिलो चरणमा फागुनभित्र ओसाकामा उडान गर्ने तयारी थालेको छ। ओसाकाबाहेकका विमानस्थलमा भने नेपालले तत्कालै उडान गरिहाल्ने अवस्था छैन।
त्यसो त नेपालले अहिलेसम्म ३९ वटा देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ। तर, नेपालका वायुसेवा कम्पनीले सातवटा गन्तव्यमा मात्रै उडान गर्दै आएका छन्। राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अहिले भारत, कतार, युएई, थाइल्यान्ड, हङकङ, मलेसियामा उडान गरिरहेको छ। यी बाहेक निजी क्षेत्रको हिमालय एअरलाइन्सले साउदी अरबमा उडान गर्दै आएको छ। योसहित गरेर नेपालले सातबाहेक हवाई सम्झौता भएका देशमा उडान गर्न सकेको छैन्।
नेपालले पहिलोपटक अस्ट्रियासँग सन् १९९७ मा हवाई सम्झौता गरेको थियो। अस्ट्रियाका दुईवटा विमानस्थलमा उडान भर्न पाउने गरी हवाई सेवा सम्झौता भए पनि हालसम्म नेपालले उडान गरेको छैन। पछिल्लोपटक नेपालले सन् २०१८ अक्टोबर २९ मा कम्बोडियासँग हवाई सम्झौता गरेको छ।संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यका अनुसार कूटनीतिक सम्बन्ध भएका देशबीच द्विपक्षीय हवाई सेवा सम्झौता हुन्छ। हवाई सेवा सम्झौताले दुवै देशका वायुसेवा कम्पनीलाई एकअर्को देशमा उडान बाटो खोल्छ। ‘हामीले बाटो खुला गर्ने हो,’ उनले भने, ‘जहाज उडाउने, नउडाउने एयरलाइन्स कम्पनीको कुरा हो।’
निगमका कार्यकारी अध्यक्ष मदन खरेल भने विमानको उपलब्धता र आवश्यकता अनुसार क्रमिक रुपमा हवाई सम्झौता भएका देशमा उडान भर्दै जाने बताउँछन्। ‘निगमका वाइड बडी विमान खरिदपछि प्राथमिकताको आधारमा हवाई सम्झौता भएका देशमा उडाउने तयारी गरिरहेको छ,’ उनले भने, ‘क्रमिक रुपमा सबै देशमा विमान उडान लक्ष्य लिएका छौं।’ उनका अनुसार कतिपय सम्झौता भएकै मुलुकमा युरोपियन युनियनले नेपाललाई कालोसूचीमा राखेकाले उडानमा समस्या छ। पछिल्लो समयमा निगमले पहिलो चरणमा जापान, चीन तथा दक्षिण कोरियामा उडान गर्ने तयारी गरिरहेको उनले बताए।
तयारी अस्ट्रेलिया र अमेरिकाको
हवाई सेवाको द्विपक्षीय सम्झौताका लागि नेपालले अस्ट्रेलिया र अमेरिकाको लागि काम थालेको छ। मन्त्रालयका उपसचिव प्रदीप नेपालका अनुसार अमेरिकासँग कुरा भएपनि त्यस्तो खास प्रगति केही भएको छैन। तर, अस्ट्रेलियासँग सम्झौता तयारी अन्तिम चरणमा पुगेको छ। ‘नेपालको तर्फबाट गर्नुपर्ने सबै काम अन्तिम चरणमा पुर्याएका छौं,’ उनले भने, ‘सायद चाँडै नै यो सम्झौता हुनेछ।’ नेपालबाट अध्ययन गर्न अस्ट्रेलिया जाने विद्यार्थीको संख्या तथा उताबाट नेपाल भ्रमणमा आउने पर्यटक बढिरहेको लगायत कारण नयाँ हवाई सम्झौता गर्ने तयारी थालिएको हो। त्यसो त नेपाल वायुसेवा निगमको व्यावसायिक योजनामा पनि वाइड बडी जहाज अस्टे«लिया उडाउने उल्लेख छ।
हालसम्म हवाई सेवा सम्झौता भएका देशहरु
अस्ट्रिया, बहराइन, बंगलादेश, भुटान, ब्रुनाई, चीन, क्रोएसिया, इजिप्ट, फ्रान्स, जर्मनी, हङकङ, भारत, इजरायल, इटाली, जापान, जोर्डन, कुवेत, लक्जेमबर्ग, मकाऊ, मलेसिया, माल्दिभ्स, म्यानमार, ओमन, पाकिस्तान, फिलिपिन्स, कतार, दक्षिण कोरिया, रसिया, साउदी अरेबिया, सिंगापुर, श्रीलंका, थाइल्यान्ड, नेदरल्यान्ड, युएई, बेलायत, टर्की, भियतनाम, न्युजिल्यान्ड र कम्बोडिया।
नेपालले उडान गर्ने देश
भारत, कतार, युएई, थाइल्यान्ड, हङकङ, मलेसिया र साउदी अरब।
नेपालमा उडान गर्ने देश
हवाई सेवाको द्विपक्षीय सम्झौता ३९ वटा देशसँग भए पनि न ती सबै देशमा नेपालले उडान गर्छ, न नेपालमा ती सबै देशले उडान गर्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालमा अहिले विभिन्न १४ देशले उडान गर्दै आएका छन्। उडानको लागि १४ देशका ३० एअरलाइन्स कम्पनीले अनुमति लिए पनि २८ वटामात्रै एअरलाइन्स कम्पनीका विमानले उडान गर्छन्। अनुमति लिएका बंगलादेशका युएस बंगला र रेजेन एअरले भने उडान अनुमति लिए पनि पछिल्लो समय उडान गरेका छैनन्।
भारत, चीन, मलेसिया, कतार, कोरिया, ओमन, बंगलादेश, थाइल्यान्ड, साउदी अरेबिया, टर्की, सिंगापुर लगायत देशले नेपाल उडान गर्दै आएका छन्।