सम्पदा पुनर्निर्माण गर्न पुरातत्वको चार करोड

July 25, 2017

अन्नपुर्ण पोष्ट, ईश्वरकाजी खाईजु, १० श्रावण २०७४ 

पुरातत्व विभागले भूकम्पमा भत्किएका भक्तपुरका सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार गर्न चालु आर्थिक वर्षमा चार करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त रकमबाट भक्तपुरका करिब १२ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार गरिने विभागअन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठका अनुसार विभागबाट विनियोजित रकमबाट नयाँ नौवटा र क्रमागत तीनवटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार कार्य हुनेछ । विभागले गत वर्षदेखि जीर्णोद्धार कार्य भइरहेको विश्वसम्पदा चाँगुनारायण मन्दिरका लागि ५० लाख रुपैयाँ छुट्याएको प्रमुख इन्जिनियर श्रेष्ठले बताए ।

उनका अनुसार चाँगुनारायण मन्दिर परिसरमै रहेको बलम्बु पाटीका लागि १० लाख, भीमसेन पाटीका लागि पाँच लाख र चाँगुनारायण चौघेरा सत्तलका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यी सबै सम्पदामा ०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनले क्षति पुर्‍याएका थिए ।

त्यस्तै, भक्तपुर दरबार क्षेत्रमा रहेको गोपीनाथ मन्दिरका लागि १५ लाख, खौमास्थित जगन्नाथ मन्दिरका लागि २० लाख रुपैयाँ छ्टयाइएको छ । गोपीनाथ मन्दिर भूकम्पले क्षतिग्रस्त बनाएको हो भने जगन्नाथ मन्दिर १९९० सालको भूकम्पले भत्काएर अहिले खुला रहँदै आएको हो ।

प्रमुख इन्जिनियर श्रेष्ठले यसबाहेक भक्तपुरमा ११ वटा सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार कार्य भइरहेको छ । जसमध्ये भक्तपुर दरबार क्षेत्रस्थित फसीदेग, तव सत्तल र सिद्धि लक्ष्मी मन्दिरको पुनर्निर्माण कार्य भइरहेको छ ।

त्यस्तै, सूर्यविनायक नगरपालिका-४ स्थित दक्षिण बाराही र अनन्तलिंगेश्वर महादेव मन्दिरको पनि पुनर्निर्माण भइरहेको छ । यी सबै सम्पदा भूकम्पले पूर्णरूपमा भत्काएका हुन् । सूर्यविनायक नपाको अनन्तलिंगेश्वर महादेव मन्दिर भने १९९० सालको भूकम्पले भत्काउनुअघिको प्यागोडा शैलीमा पुनर्निर्माण हुँदै गरेको छ।

०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पनले गुम्बज शैलीको अनन्तलिंगेश्वर मन्दिर भत्काएको थियो । पहिले उक्त मन्दिर प्यागोडा शैलीको रहेको भन्ने प्रमाण मन्दिर परिसरमा रहेको लिच्छविकालीन शिलालेखमा उल्लेख छ ।

माघ मसान्तभित्र पुनर्निर्माण सम्पन्न गर्नुपर्ने अनन्तलिंगेश्वर महादेव मन्दिरको काम अहिलेसम्म ४० प्रतिशत मात्र भएको छ । एक करोड ६३ लाख रुपैयाँमा उक्त मन्दिर पुनर्निर्माण भइरहेको प्रमुख इन्जिनियर श्रेष्ठ बताउँछन् । भूकम्पपछि सरकारले तयार गरेको पीडीएनए रिपोर्टअनुसार भक्तपुरका सातवटा सम्पदा पुनर्निर्माणका लागि करिब २० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

पुरातत्वव विभागसँगसँगै यहाँ भक्तपुर नगरपालिकाले भूकम्पमा भत्किएका सम्पदाको पुनर्निर्माण तथा जीर्णोद्धार कार्य गर्दै आएको छ । उसले भक्तपुर दरबार क्षेत्रमा करिब आधा दर्जन सम्पदाको पुनर्निर्माण सम्पन्न गरिसकेको छ । त्यस्तै, भक्तपुर दरबार क्षेत्रकै वत्सला मन्दिर र केदारनाथ मन्दिरको पुनर्निर्माण गरिरहेको छ ।

भक्तपुर नपाको प्रथम नगर सभाले सम्पदा संरक्षणलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम पारित गरिसकेको छ । तर, बजेट भने छुट्याइनसकेको नपाको सम्पदा शाखामा प्रमुख आर्किटेक्ट इन्जिनियर रामगोविन्द श्रेष्ठ बताउँछन् । उनका अनुसार नपाले धेरै सम्पदालाई वडामा पठाउने ५० लाख रुपैयाँबाट समेत पुनर्निर्माण तथा जीर्णोद्धार गर्ने गरी योजना निर्माण गरिरहेको छ ।

विभागका अनुसार भूकम्पमा भक्तपुरका २० वटा सम्पदा पूर्णरूपमा क्षति भएका थिए । त्यस्तै, ४३ वटा सम्पदामा आंशिक क्षति पुगेको थियो ।

स्रोत: http://annapurnapost.com/news/76077

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More