सय मेगावाट बिजुली छिटो दिन भारतलाई आग्रह

March 24, 2017

Kantipur, Abdullah Miya, 24th March 2017

झ्याउ संकलन, ओसारपसार र निकासीमा प्रतिबन्ध लगाइँदा राज्यले ६० करोड राजस्व गुमाएको छ। प्रतिबन्धले हजारौं स्थानीय, गरिब र विपन्नको रोजगारी पनि गुमेको छ। नेपालमा पाइने झ्याउ साइटिसमा समेत समावेश त छैन नै, मुख्य खपतकर्ता मुलुक भारतमा समेत यसको संकलन, ओसारपसार र निकासीमा प्रतिबन्ध छैन।

‘झ्याउ अध्ययन कार्यदल’ का संयोजक एवं वन विभागका पूर्वमहानिर्देशक गौरीशंकर तिमलाले वन मन्त्रालयमा बुझाएको प्रतिवेदनमा झ्याउले राज्य, किसान र व्यापारी सबैलाई फाइदा गर्ने भएकाले संकलनका लागि उपयुक्त र सहज वातावरण बनाउनुपर्ने उल्लेख छ। ‘झ्याउ संकलन गर्न दिँदा कसैलाई घाटा हुने देखिन्न,’ उनले कान्तिपुरसित भने, ‘रुख नकाटिने हुनाले जंगल मासिने डर पनि हुँदैन।’
तत्कालीन वनमन्त्री अग्निप्रसाद सापकोटाले झ्याउबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार गर्न तिमलाको संयोजकत्वमा कार्यदल बनाएका थिए। कार्यदलले नेपाली तथा भारतीय विशेषज्ञ र सरोकारवाला छलफल तथा झ्याउ संकलन हुने मुख्य केन्द्र नेपालगन्जको स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार गरेको हो। सरकारले २०६७ पुसदेखि माघसम्म र २०६८ साउनमा एक महिना झ्याउ निकासी खुला गरेको थियो। त्यसपछि अहिलेसम्म यो प्रतिबन्धित वनस्पतिको सूचीमा छ।

२०५८ देखि २०६७ सम्म (झ्याउ प्रतिबन्ध नहुँदा) यसको निकासीबाट १ करोड २५ लाख १५ हजार ४ सय ५१ रुपैयाँ राजस्व संकलन भएको छ। सरकारले प्रतिकिलो झ्याउको राजस्व दर १५ रुपैयाँ तोकेको छ। त्यो अवधिमा १० लाख ५७ हजार ४ सय ८५ किलो झ्याउ निकासी भएको देखिन्छ। 

१५ देखि ३५ सय मिटर उचाइसम्म पाइने सल्लो, लालीगुँरास, देवदार, धुपी र ओखरका रुखमा खस्रा बोक्रालाई ढाकेर झ्याउ बसेको हुन्छ। यो क्षेत्रको झ्याउ व्यापारिक दृष्टिले महत्त्वपूर्ण र मूल्यवान मानिन्छ। बैंस, बाँझ, फलाँट, अंगेरी, चुत्रोका रुख र ढुंगामा पनि झ्याउ उम्रिएको हुन्छ। अनुसन्धानकर्ताका अनुसार भारतका विभिन्न बजारमा बर्सेनि ३ देखि ५ लाख किलोसम्म झ्याउको माग छ। मासु, बिरयानी, कबाबलाई स्वादिष्ट बनाउन र औषधिमा झ्याउको प्रयोग गरिन्छ। यस्तै रङ बनाउन, सेन्ट/अत्तर तथा सौन्दर्यका सामग्री क्रिम, सेम्पो बनाउन पनि यसको प्रयोग हुन्छ। यसबाट शक्तिवद्र्धक टनिकसमेत बनाइन्छ।

युनिभर्सिटी अफ बर्न, स्विट्जरल्यान्डबाट नेपाली झ्याउबारे विद्यावारिधि गरिरहेका पोखराका शिव देवकोटाका अनुसार झ्याउ खपतमा भारत विश्वमै अग्रणी छ। ‘दक्षिण भारतीय बजारमा नुन, चिनी किनेजस्तै बजारमा झ्याउको किनबेच हुन्छ,’ उनले भने, ‘मासुलाई स्वादिष्ट बनाउन, गलाउन र कस्मेटिक उत्पादनमा यसको प्रयोग बढ्ता हुन्छ।’ देवकोटाले नेपालका झ्याउमा औषधीय लगायत ६ गुण भएको सुनाए। 

संसदको वातावरण संरक्षण समितिले समेत झ्याउमा लगाइएको बन्देज फुकुवा गर्न पटकपटक वन मन्त्रालयको ध्यानाकर्षण गराएको सभापति जनकराज चौधरीले बताए। २०७० भदौ २० मा समितिको बैठकले झ्याउसम्बन्धी उद्योग सञ्चालनका लागि उपयुक्त कानुनी व्यवस्था मिलाउन र सरोकारवालालाई समेत संलग्न गरी नीतिगत निर्णय लिन निर्देशन दिएको थियो।

नेपाल जडीबुटी एसोसिएसनका महासचिव टंकमणि शर्माका अनुसार सबैभन्दा बढी नेपालगन्ज र महेन्द्रनगर नाकाबाट झ्याउ भारतीय बजारमा निकासी हुने गर्छ। पहाडी तथा हिमाली जिल्लाहरू रोल्पा, रुकुम, दाङ, सल्यान, प्यूठान, बागलुङ, सुर्खेत, जाजरकोट, दैलेख, मुगु, कालीकोट, बाजुरा, अछाम, बैतडी, बझाङ, दार्चुला, जुम्ला, हुम्ला र डोल्पा झ्याउ बढी छ। विगतमा वीरगन्ज, भैरहवा, कृष्णनगर, कैलाली र काँकडभिट्टाबाट समेत केही परिमाणमा झ्याउ निकासी हुन्थ्यो। 

अधिकांश झ्याउ बिनाप्रशोधन नै निकासी हुने गर्छ। ‘भारतका दिल्ली, लखनउ, अमृतसर, पन्जाब, मुम्बई, टनकपुर, रामनगर, कोलकाता र बनारस झ्याउ खपत हुने मुख्य बजार हुन्,’ प्रतिवेदनमा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्स, दुबई र साउदी अरबमा पनि निकासी हुन्छ।’

राजस्व बढाउन पनि सुझाव

कार्यदलले झ्याउको राजस्व ३० रुपैयाँ थपेर ४५ रुपैयाँ बनाउनसमेत सुझाएको छ। कार्यदलले झ्याउ संकलन गर्न दिँदा स्वरोजगार तथा विदेशी मुद्रा आर्जन, राजस्व वृद्धि, व्यापार घाटामा कमी, स्थानीयलाई रोजगारीमा सहयोग हुने सुझाएको छ। ‘स्थानीयको आम्दानी बढाउन र युवा पलायन रोक्न तथा राज्यलाई आर्थिक रूपमा समृद्ध बनाउन झ्याउ खुलाउनुपर्ने व्यापारीको पनि धारणा छ,’ प्रतिवेदनमा छ। 

सुदूर र मध्यपश्चिमका जिल्लामा सबैभन्दा बढी झ्याउ संकलन हुने देखिन्छ। उक्त क्षेत्रमा एक परिवारले ७० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको जानकारहरूको भनाइ छ। किसान, गरिब तथा दलितवर्ग र गोठाला मुख्य संकलनकर्ता हुन्। 

कार्यदलले ठूलो मात्रामा स्थानीय स्रोत यत्तिकै मासिएर गइरहेकाले यसबारे तत्काल निर्णय लिन ध्यानाकर्षण गराएको छ। ‘परजीवीको रूपमा रहने झ्याउ हटाउँदा रुखबिरुवालाई फाइदा हुन्छ,’ प्रतिवेदनमा छ, ‘झ्याउ संकलन खुला गरेमा युवा र स्थानीयहरू ज्याला मजदुरी गर्न कालापहाड (भारत) जानु पर्दैन, रोजगारी सिर्जना हुन्छ।’ 

के हो झ्याउ?
यो एक प्रकारको वनस्पति हो। जुन ढुसी र लेउ प्रजातिका वनस्पति मिलेर बनेको हुन्छ। ढुसी उम्रन सहयोग गर्ने लेउहरू करिब ३० देखि ४० प्रजातिका हुन्छन्। लेउले प्रकाश संश्लेषण गरी खाना बनाउने र यसको बाहिरी भागमा रहेको ढुसीले वनस्पतिलाई सुरक्षाका साथै पानी र खाद्यपदार्थ प्रदान गरेको हुन्छ। 

झ्याउ सामान्यतया खरानी, हल्का हरियो, सेतो, पहेंलो रङका हुन्छन्। तराईदेखि हिमालसम्मै पाइने भए पनि समशीतोष्ण क्षेत्र यसका लागि उपयुक्त मानिन्छ। झ्याउविज्ञ डा. हरिप्रसाद भट्टराईका अनुसार यो एकदमै ढिलो बढ्छ भने १–२ वर्षमा मर्दै जान्छ। 

वनस्पति विभागको ‘प्लान्ट्स अफ नेपाल’ का अनुसार नेपालमा ७७१ प्रजातिका झ्याउ पाइन्छन्। झ्याउविज्ञ डा. चित्रबहादुर बानियाँ र उनको टिमले ४० परिवारका १२१ जातका ५२५ प्रजातिका झ्याउ रेकर्ड गरेको छ। विश्वमा अहिलेसम्म करिब २० हजार प्रजातिका झ्याउ पत्ता लागेको छ। 


Source: http://kantipur.ekantipur.com/news/2017-03-24/20170324090047.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More