News

सरकारी खर्च बढेपछि बैंकलाई राहत

July 11, 2019

कान्तिपुर, असार २६, २०७६ 

काठमाडौँ — गत साता वाणिज्य बैंकमा १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च बढेसँगै बैंकमा निक्षेप पनि बढेको हो । पछिल्ला साताहरूमा बैंकहरूमा निक्षेप बढ्दो क्रममा छ । यसले बिस्तारै तरलता (लगानीयोग्य रकम) सहज बन्दै गएको बैंकरहरू बताउँछन् ।अन्तर बैंक र सरकारी ट्रेजरी बिल्सको ब्याजदर घट्दै जानुले तरलता सहज रहेको पुष्टि हुने जानकारहरू बताउँछन् ।


राष्ट्र बैंकको तथ्यांकअनुसार गत शुक्रबारसम्म वाणिज्य बैंकहरूको निक्षेप २७ खर्ब ९३ अर्ब रुपैयाँ छ । असार १३ मा यस्तो निक्षेप २७ खर्ब ७६ अर्ब रुपैयाँ थियो । पछिल्ला तीन सातामा निक्षेप करिब ३४ अर्ब रुपैयाँले बढेको छ । जेठ ३१ मा वाणिज्य बैंकहरूमा २७ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।

गत साताको निक्षेप सोही अवधिको पुँजीगत खर्चभन्दा बढी छ । बुधबारसम्म १ खर्ब ८४ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ । यो कुल विनियोजित पुँजीगत खर्चको ५७.२३ प्रतिशत मात्र हो । एक साताअघि (असार १७ मा) कुल पुँजीगत खर्च १ खर्ब ७० अर्ब रुपैयाँ (लक्ष्यको ५४.०९ प्रतिशत) थियो । यसले एक सातामा पुँजीगत खर्च १४ अर्ब ३२ करोड रुपैयाँले बढेको देखिन्छ ।

गएको तीन साता निक्षेपको वृद्धि राम्रो देखिए पनि ऋण प्रवाह भने न्यून छ । सो अवधिमा २८ वटा बैंक तथा वित्तीय संस्थाले कुल ८ अर्ब रुपैयाँ मात्र ऋण प्रवाह गरेका छन् । जसमध्ये गत साता ५ अर्ब रुपैयाँ थप ऋण विस्तार भएको देखिन्छ ।

बजारमा ऋणको माग नभएर कर्जा कम गएको नभई असार मसान्त भएकाले अधिकांशले ऋण प्रवाह रोकेको बैंकरहरू बताउँछन् । गत शुक्रबारसम्म बैंकहरूको कुल ऋण प्रवाह २४ खर्ब ७६ अर्ब रुपैयाँ छ । एक साताअघि यस्तो लगानी २४ खर्ब ७१ अर्ब रुपैयाँ थियो ।

असार महिना आर्थिक वर्षको अन्त्य भएकाले पनि बैंकहरूले नयाँ ऋण विस्तार गर्न नचाहने भएकाले ऋण प्रावह कम देखिएको उनीहरूको भनाइ छ । ‘यो ऋण असुली गर्ने धेरैभन्दा धेरै मुनाफा संकलन गर्ने बेला हो,’ एक बैंकरले भने, ‘यो बेलामा बैंकहरूले सकेसम्म ऋण प्रवाह गर्न चाहँदैनन् ।

यसकारण प्रक्रियामा रहेको कर्जा पनि अत्यावश्यकबाहेक सबै साउनपछि मात्र विस्तार गर्छन् ।’राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामाबैंक तथा वित्तीय संस्थाको निक्षेप ११.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ११.१ प्रतिशतलेबढेको थियो ।

यस्तै गत वैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.१ प्रतिशतलेबढेको थियो ।

वार्षिक रूपमा हेर्दा वैशाखसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप १९.८ प्रतिशतले बढेको छ । जसमध्ये बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, ३२.८ प्रतिशत र ४७.८ प्रतिशत छ । यस्तै कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.७ प्रतिशतरहेको छ । २०७५ वैशाख मसान्तमा यस्तो निक्षेपको अंश ४४.१ प्रतिशत रहेको थियो ।

वार्षिक विन्दुगत आधारमा ०७६ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २१.५ प्रतिशतले बढेको छ । जसमध्ये वाणिज्य बैंकको कर्जा १५.५ प्रतिशतले, विकास बैंकको ३१ प्रतिशतले र वित्त कम्पनीको १६.६ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

स्रोत: https://www.kantipurdaily.com/business/2019/07/11/156281797504767846.html