नीरज पिठाकोटे, कारोबार आर्थिक दैनिक, २४ असोज २०७४
नेपालमा कपडा उद्योग स्थापना गरेर गुणस्तरीय कपडा उत्पादन गरी परनिर्भरताको अन्त्य गर्न मात्रै होइन निर्यातको समेत संभावना प्रशस्त रहे पनि राज्यको कमजोर नीतिका कारणले नै पहिले स्थापना भएका कपडा उद्योगहरू पनि बन्द भइसकेका छन् । नेपालमा कपडा उद्योगहरू बन्द हुनुमा राज्यको नीति कमजोर रहेको र उद्योगहरूलाई प्रोत्साहन दिन नसक्नु नै प्रमुख कारण रहेको टेक्स्टायल उद्योगीहरूले बताउने गरेका छन् ।
अहिले पनि सञ्चालनमा रहेका टेक्सटायल तथा कपडा उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ आयातमा लिइने असमान भन्सार महसुल दरका कारण कपडा उद्योगहरूलाई उत्पादन लागत बढी पर्न गएको उनीहरूको भनाइ छ । नेपालमा उत्पादन हुने कपडाहरू गुणस्तरीय भए पनि बाहिरबाट आयात गरिने कपडाहरूसँग बजारमा प्रतिस्पर्धा गर्न नसक्दा कपडा उद्योगहरू मारमा परेका छन् । नेपालमा विशेष गरी चीन र भारतबाट बढी कपडा आयात हुने गरेको छ ।
सरकारी स्वामित्वमा रहेका कपडा उद्योगहरूलाई व्यवस्थापन गर्न नसक्दा बन्द भइसकेका छन् । निजीक्षेत्रका कपडा उद्योगहरूलाई पनि राज्यले पुँजी लगानीमा अनुदान दिन नसक्दा र आवश्यक भौतिक संरचनाको निर्माण गर्न नसक्दा नेपालले कपडामा पनि परनिर्भर हुनु परेको नोभेल टेक्सटायलका सञ्चालक रमेश गाडिया बताउँछन् । उनीसँग चारदशक लामो टेक्सटायल उद्योगको अनुभव रहेको छ । उद्योगमा लामो अनुभव रहेका गाडियाका अनुसार सामान्य हिसाबमा तीन करोड जनसंख्या रहेको नेपालमा औसतमा ४ मिटर प्रतिव्यक्तिको हिसाबले पनि कपडा प्रयोग भयो भने, १२ करोड मिटर कपडा आवश्यक पर्न जान्छ । उनी भन्छन्, “नेपालमा औसतमा १५ मिटर कपडा प्रतिव्यक्ति खपत हुने गरेको अनुमानित तथ्यांक छ ।
यसअनुसार नेपालमा ४५ करोड मिटर कपडा आवश्यक पर्छ ।” उनका अनुसार नेपालमा वार्षिक ४ हजार करोड मिटर कपडा आयात हुने गरेको छ जसमध्य चीन र भारतबाट मात्रै २१ सय करोड मिटर कपडा आयात हुने गरेको छ । अहिले नेपालभरका करिब दर्जन टेक्सटायलहरूबाट कुल १० करोड मिटर कपडा उत्पादन हुने गरेको छ । ३५ करोड मिटर कपडा मात्र नेपालमा उत्पादन गर्न सकियो भने १० लाख जनालाई प्रत्यक्ष रोजगारी पनि दिन सकिने र कपडामा पनि आत्मनिर्भर बन्दै निर्यात गर्न सकिने सञ्चालक गाडियाको दाबी छ । त्यसका लागि सरकारले पुँजी लगानीमा अनुदान, भौतिक पूर्वाधार संरचनाको सहज उपलब्धता, सहुलियत ब्याजदरमा बैंंकको ऋण, २४ सै घण्टा विद्युत् आपूर्ति तथा कपडा उद्योगमा लाग्ने कच्चा पदार्थ आयात गर्दा भन्सारमा लाग्ने भन्सार महसुल दरमा सुविधा हुनुपर्ने गाडियाको भनाइ छ ।
कपडामा प्रयोग हुने कच्चा पदार्थको अनुपातमा बाहिरबाट आउने तयारी पोसाकको भन्सार मूल्य कम हुँदा स्वदेशी कपडा उद्योगलाई विदेशी कपडाहरूसँग प्रतिस्पर्धा गर्नु परेकाले पनि कपडा उद्योगहरू मारमा पर्ने गरेको उद्योगीहरूको दुखेसो छ । भन्सारमा लाग्ने शुल्कमा पुनवरालोकन गरी सरकारबाट ५÷६ प्रतिशत मात्र पुँजी लगानीमा सहुलियत पाए कुनै डर त्रास बिनानै कपडा उद्योग सञ्चालन गरेर देशलाई कपडामा आत्मनिर्भर बनाउन सकिने संभावना रहेको गाडिया बताउँछन् । भन्सारमा लाग्ने शुल्क प्रतिमिटर, प्रतिपिस, प्रतिकिलो गरी तीन किसिमको भन्सा मूल्यमा विभाजन गरिदिए स्वदेशी कपडा उद्योगहरूले विदेशी कपडासँग प्रतिपस्र्धा गर्न सक्ने र कपडा आयातलाई प्रति प्रतिस्थापन गर्न सक्ने गाडियाको तर्क छ । उनको नोवेल टेक्सटायलले स्थापनाकालमा २ लाख २५ हजार मिटर कपडा उत्पादन गर्ने गरेकोमा अहिले वार्षिक २०÷२१ लाख मिटर कपडा उत्पादन गर्ने गरेको छ । नेपालमा कपडा उद्योगको संभावना देखेर नै गाडियाका छोरा चेतन गाडिया पनि मुम्बईको एक्सेन्चर स्टार्टेजी कम्पनीको आकर्षक जागिर छोडेर कपडा उद्योगको बजार हेर्न अहिले नेपाल फर्किएका छन् । १९० देशमा सेवा दिइरहेको भारत मुम्बईको प्रतिष्ठित कन्सल्ट्याण्ट कम्पनीमा उद्योग व्यावसाय तथा लगानी परामर्शदाताको रूपमा कार्यरत चेतन आकर्षक जागिर छोडेर नेपाल आएको बताए । उनका अनुसार भारत सरकारले टेक्सटायल इन्डस्ट्रिज उत्पादन निर्यातका लागि विकास गरेको छ । कपडा उद्योग सञ्चालकले लगानी गरेको पुँजीमा ३५ प्रतिशतसम्म भारत सरकारले अनुदान सहयोग दिने गरेको छ ।
भारतमा कपडा उद्योग सञ्चालनका लागि १० प्रतिशत तत्काल अनुदान रकम पाइन्छ । त्यसपछि प्रत्येक वर्ष ३५ प्रतिशतबाट घट्ने गरी वार्षिक ५ प्रतिशत दिने गरेको छ । उनी भन्छन् “नेपालमा एउटामात्रै व्यवस्था भ्याट फिर्ताको छ, त्यो पनि अल्पकालीन व्यवस्था हो ।” आउने दिनमा सरकारले प्रोत्साहन गरे स्वदेशी कपडा उद्योगलाई प्रतिस्पर्धी बनाई निर्यात गर्नसक्ने अवस्थाको बनाउनका लागि कच्चा पदार्थको मूल्य र कपडा उत्पादन गर्ने मेशिनको पनि मूल्य समान हुनुपर्ने उनको भनाइ छ । चेतन भन्छन्, “नेपाली लगानीकर्ताहरूमा भारतीय लगानी कर्ताहरूले जति पुँजी लगानी गरेर मेसिन खरिद गर्न सक्ने क्षमता छैन । भारतमा पुरानो मेसिन किन्दैनन् । नेपालमा नयाँ मेसिन किन्न सक्ने क्षमता छैन ।”
त्योभन्दा बढी बाहिरबाट आयात गरिएको हुन्छ । आयात गरिएकाहरूमध्ये पनि अधिकांश कपडा अवैध रूपमा भन्सार छलि चोरी पैठारी गरी ल्याईएको कपडा हुन्छन् । गुणस्तरको विषयमा नोवेल टेक्स्टायलले कुनै सम्झौता नगरेको दाबी चेतनको छ । उनले भने, “एकदमै आरामदायी कपडाहरू उत्पादन गर्ने गर्छौं । हाम्रो फोकस जति आरामदायी कपडा प्राकृतिक धागोबाट गर्न सकिन्छ त्यसमा हामी लागेका छौं ।”
स्रोत: https://www.karobardaily.com/news/82725