सराङकोटमा दैनिक दुई हजार पर्यटक

October 15, 2017

कृष्णमणि बराल , अन्नपुर्ण पोस्ट, २८ असोज २०७४ 

पोखरा : पर्यटकीय सिजन सुरु भएसँगै पोखराको सराङकोटमा सूर्योदयको अवलोकन गर्न दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। समुद्री सतहदेखि एक हजार पाँच सय ९२ मिटर उचाइमा रहेको सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे , हिमचुली, लमजुङ हिमाललगायत हिमशृंखला, फेवाताल र पोखरा बजारको अवलोकन गर्न सकिन्छ।

दसैंतिहारको छुट्टीका कारण आन्तरिक पर्यटक धेरै आउने र विदेशी पर्यटक आउने सिजन पनि यही भएकाले यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढेको पर्यटन विकास समाज सराङकोटका अध्यक्ष मोतीलाल तिमिल्सिनाले बताए। सराङकोटबाट पोखरा बजार र अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्न दैनिक दुई हजारभन्दा बढी पर्यटक पुग्ने गरेको उनको भनाइ छ।

यहीँबाट प्याराग्लाइडिङसमेत हुने भएकाले त्यसका लागि आउनेहरूका कारण पनि पर्यटक बढी देखिएको उनले बताए। अहिले सबैभन्दा धेरै नेपाली पर्यटक आएका छन्। त्यसपछि भारतीय र अन्य मुलुकका पर्यटक आउने गरेको तिमिल्सिनाले जानकारी दिए। शैक्षिक एवं पारिवारिक भ्रमणमा आउने स्वदेशी पर्यटक र मुक्तिनाथ दर्शन गर्न र पोखरा घुम्न आउने भारतीय पर्यटक बढेको स्थानीय पर्यटन व्यवसायी रामबहादुर थापाले बताए।


सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे , हिमचुली, लमजुङलगायत हिमशृंखला, फेवाताल र पोखरा बजार अवलोकन गर्न सकिन्छ।

युरोप, अमेरिकालगायत देशका पर्यटक सेप्टेम्बर तेस्रो सातादेखि बढी संख्यामा आउने गर्छन्। पहिले अन्नपूर्ण पदयात्रा जाने पर्यटक पहिलो रात सराङकोटमा बसेर जाने गर्थे। फर्किंदा पनि यहीँ एक रात बसेर फर्किन्थे। पोखरा-बाग्लुङ राजमार्ग बनेपछि भने यो क्रम रोकिएर बिहान सूर्योदय र अन्नपूर्ण हिमशृंखलाको अवलोकन गर्न दैनिक दुई हजार पर्यटक आउने गरे पनि यहाँ बस्ने गरी निकै कम पर्यटक आउने गरेको समाजका अध्यक्ष तिमिल्सिनाले बताए।

सराङकोटमा रहेका १३ होटलमा करिब तीन सय पर्यटक बस्ने क्षमता छ। यहाँ पर्यटक दृश्यावलोकनका लागि मात्र आउने गरेको तिमिल्सिनाको भनाइ छ। पर्यटकहरू बिहानै दृश्यावलोकनका लागि आउने र लेकसाइडमै फर्कने गरेको उनले बताए।

यतिबेला पोखराको सराङकोट मात्र होइन, अन्नपूर्ण पदयात्रा क्षेत्रमा पनि पर्यटक खचाखच छन्। माछापुच्छ्रे अन्नपूर्ण आधार शिविर, घान्द्रुक, घोरेपानी र मर्दी हिमाल क्षेत्रको पदयात्रामा पर्यटक बढेका छन्। राउन्ड अन्नपूर्णको मनाङ, मुस्ताङ, अपर मुस्ताङ र विश्वकै उच्च स्थानमा रहेको तिलिचो तालक्षेत्रमा पनि पर्यटक बढेको स्थानीयले बताएका छन्।

स्रोत: http://annapurnapost.com/news-details/82092

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More