सवा ९ अर्बको काम गर्न ९ कम्पनी इच्छुक

June 25, 2017

 नागरिक दैनिक, ११ असार  २०७४ 

सवा ९ अर्ब रुपैयाँ लागतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाका बाँकी काम गर्न स्वदेश तथा विदेशका नौवटा निर्माण कम्पनीले पेस गरेका प्रस्तावको प्राविधिक मूल्यांकन पूरा भएको छ । 

त्रिभुवन विमानस्थलको प्रमुख सञ्चालक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आह्वान गरेका तीनथरी टेन्डरमा सहभागी भएका ती कम्पनीको प्राविधिक मूल्यांकन पूरा भएको हो । प्राधिकरणले तीन किसिमका काम गर्न टेन्डर मागेको थियो । जसमध्ये दुई किसिममा मात्र टेन्डर परेका थिए । 

‘पहिलो र दोस्रो किसिमका कामका लागि परेको नौ कम्पनीको टेन्डरबाट एक÷एकवटालाई छनोट गर्छौं,’ प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता वीरेन्द्र श्रेष्ठले शनिबार नागरिकसँग भने, ‘जसले सस्तोमा काम गर्ने प्रस्ताव पेस गरेको छ त्यही कम्पनीलाई आगामी दुई साताभित्र छनोट गरिसक्छौं । अन्तिम अनुमोदनका लागि सबै प्रस्ताव महानिर्देशककहाँ पठाइएको छ ।’

प्राधिकरणले धावनमार्ग विस्तार, अन्तर्राष्ट्रिय टर्मिनल भवन विस्तार र पावर हाउस, कुलो, फोहोर जलाउने मेसिन जडान लगायत काम गरी २०७३ फागुन २३ मा तीन किसिमका टेन्डर आह्वान गरेको थियो । यसको म्याद गत वैशाख ७ सम्म थियो । पहिलो र दोस्रो किसिमका टेन्डर १९÷१९ वटा निर्माण कम्पनी र तेस्रो किसिमको टेन्डर ८ वटा कम्पनीले किनेका थिए । 

तीमध्ये पहिलोका लागि पाँच र दोस्रोका लागि चार कम्पनीले प्रस्ताव पेस गरे पनि तेस्रोतर्फ कसैको पनि आवेदन परेन । पहिलो र दोस्रो किसिमको टेन्डर फारमको मूल्य २२ हजार ६ सय र तेस्रो किसिमको टेन्डरको मूल्य ११ हजार ३ सय रुपैयाँ तोकिएको थियो । तेस्रो कामका लागि पुनः असार ५ मा टेन्डर आह्वान गरिएको छ र अन्तिम म्याद आगामी साउन ३ सम्म छ ।

‘पहिलो किसिमको काम गर्न चीनका तीन तथा जर्मनी र नेपालका एक÷एक कम्पनीको प्रस्ताव तथा दोस्रो कामका लागि नेपालका तीन र चीनको एक कम्पनीको आवेदन परेको छ,’ उपमहानिर्देशक श्रेष्ठले भने, ‘अब दुई साताभित्र एक÷एक कम्पनी छनोट गर्छौं ।’

उनका अनुसार पहिलो किसिमको काम गर्न चीनका चाइना रेलवे फोर्टिन ब्युरो ग्रुप, सांघाई कन्स्ट्रक्सन ग्रुप र सान्जी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप, जर्मनीको स्ट्राब्याग इन्टरनेसनल र नेपालको कालिका टुन्डी जेभीको प्रस्ताव परेको छ । त्यसैगरी दोस्रो कामका लागि नेपालका कन्टेक लुम्बिनी जेभी, टुन्डी रसुवा जेभी र शर्मा प्रेरा आशिष जेभी तथा चीनको सांघाई कन्स्ट्रक्सन ग्रुपको आवेदन परेको हो । 

‘अब भने विमानस्थलको काम गर्न नेपाली कम्पनी पनि अगाडि आएका छन्, सबै किसिमका काम दाँज्दै काम गराउन सहज हुन्छ,’ उनले भने, ‘विमानस्थल सुधारका काम अब तीव्र गतिले अगाडि बढ्ने विश्वास छ । काम सम्पन्न भएपछि उड्डयन सुरक्षा वृद्धि, यात्रुलाई सुविधा वृद्धि र हवाई चाप न्यूनीकरणमा उल्लेख्य सहयोग पुग्ने छ ।’

तीन वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको ग्लोबल टेन्डर जितेर ठेक्का हात पारेको स्पेनको ठेकेदार कम्पनी ‘कन्स्ट्रक्टोरा सान्जोसे एसए’ ले तोकिएको समयमा काम पूरा नगरेपछि प्राधिकरणले २०७३ मंसिर २४ मा ठेक्का सम्झौता रद्द गरेको थियो । सान्जोसेले हालसम्म त्रिभुवन विमानस्थलमा रहेका एस्काभेटरलगायत निर्माण सामग्री र उपकरणबारे कुनै जवाफ दिएको छैन । त्यही कारण विमानस्थल सुधार परियोजनासम्बन्धी टेन्डर आह्वान मिति सरेको स¥यै थियो । 

त्यसपछि प्राधिकरणले पुस १२ गते ठेक्का सम्झौता पूर्णरूपमा खारेज भएको भन्दै सान्जोसेलाई पत्राचार गरेको थियो । सान्जोसेले ठेक्का सम्झौताअनुसार ‘पर्फर्मेन्स बन्ड’ र ‘एडभान्स पेमेन्ट ग्यारेन्टी’ वापत नेपाल इन्भेस्टमेन्ट बैंक र लक्ष्मी बैंकमा राखेको करिब १ अर्ब ६५ करोड रुपैयाँ सोमबार प्राधिकरणको बैंक खातामा आएको थियो । 

प्राधिकरणका अनुसार सान्जोसेले अन्तर्राष्ट्रिय एप्रोन, पार्किङ बे, ट्याक्सी वे विस्तार, धावनमार्गको उत्तरतर्फ गुहेश्वरीपट्टिको खाल्डोमा माटो भर्ने, अन्तर्राष्ट्रिय पार्किङ निर्माण गर्ने, दक्षिणतर्फ कोटेश्वरपट्टि ३ सय मिटर धावनमार्ग विस्तार गर्नेलगायत काम गर्ने ठेक्का पाएको थियो । 

सान्जोसेले सम्झौताको दुई वर्षभित्र सबै काम सक्ने गरी ठेक्का पाए पनि उक्त अवधिमा जम्मा १६ दशमलव ५ प्रतिशतमा काम पूरा गरेको थियो । तालिकाअनुसार काम गर्न तीन पटक पत्राचार गरे पनि उसले वास्ता नगरेको प्राधिकरणले जनाएको छ । त्यसपछि सान्जोसेले भूकम्प र नाकाबन्दीका कारण काम गर्न असहज भएको भन्दै समयसिमा थप्न आग्रह गरेपछि २०७२ चैत तेस्रो सातासम्म म्याद थपिएको थियो ।  

प्राधिकरणका अनुसार एसियाली विकास बैंक (एडिबी) को ८ करोड अमेरिकी डलर (८ अर्ब रुपैयाँ) बराबरको ऋण तथा अनुदान सहयोग एवं सरकारको १ करोड २० लाख डलर (१ अर्ब २० करोड रुपैयाँ) गरी ९ अर्ब २० करोड रुपैयाँ लगानीमा त्रिभुवन विमानस्थल सुधार परियोजना सञ्चालन भएको थियो । 

परियोजना पूरा भएपछि त्रिभुवन विमानस्थलले ठूला आकार (वाइड बडी) जहाजदेखि वार्षिक करिब ६० लाख हवाई यात्रु व्यवस्थापन गर्नसक्ने क्षमता राख्ने छ । सान्जोसेले तोकिएको समयमै काम पूरा गर्ने छाँट नदेखाएपछि प्राधिकरणले सवा ९ अर्ब रुपैयाँबराबरको यो परियोजनाको बाँकी काम आफैं गर्ने घोषणा गरेको थियो । अब बाँकी काम दुई वर्षभित्र पूरा गर्ने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले सन् २०१३ मार्चमा सान्जोसेसँग उक्त परियोजनाको ठेक्का सम्झौता गरेको थियो । जसअनुसार २०१५ मार्चभित्र सबै काम पूरा गरिसक्नुपथ्र्यो । बीचमा गत वर्षको भूकम्प र लगत्तैको नाकाबन्दीका कारण काम गर्न असहज अवस्था सिर्जना भएको भन्दै सान्जोसेले समयसीमा थप्न आग्रह गरेको थियो । त्ययसपछि प्राधिकरणले २०१६ मार्चसम्म म्याद थपिएको थियो ।  

त्रिभुवन विमानस्थलमा हाल १४ देशबाट २९ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका जहाज आइरहेका छन् । तिनले अहिले दैनिक ९० भन्दा बढी उडान–अवतरण गरिरहेका छन् । आन्तरिकतर्फ भने दैनिक ३ सय ५० उडान–अवतरण हुने गरेका छन् । विमानस्थल सामान्य दिनमा बिहान ६ बजे खुल्ने गर्छ भने राति साढे १२ बजे बन्द हुने गर्छ । 

स्रोत: http://www.nagariknews.com/news/22508/

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More