सहज हुँदै मोतीबिन्दु उपचार

September 20, 2018

फातिमा बानु, कान्तिपुर दैनिक, ४ आश्विन २०७५

काठमाडौँ — बढदो जनचेतना, सर्वसुलभ उपचार र आधुनिक प्रविधिका कारण मोतीबिन्दुको उपचार सहज हुँदै छ । नेपालमा चार दशकअघि दृष्टिविहीनको मुख्य कारण मोतीबिन्दु थियो । पछिल्लो समय मोतीबिन्दु उपचार सहज भएकै कारण त्यो घटेको छ ।

बढ्दो उमेरसँगै कपाल फुले जस्तै आँखाभित्रको लेन्स पाक्दै जाने समस्या मोतीबिन्दु हो । खासगरी ५० वर्ष उमेर कटेकाहरूमा यस्तो समस्या हुन्छ । लेन्स पाक्दै जाँदा आँखा धमिलो देख्ने, बिस्तारै आँखाको ज्योति हराएर गई दृष्टिविहीन समेत हुन सक्छ । उपचार गरेमा गइसकेको ज्योति समेत फर्किएर आउँछ । 

मोतीबिन्दुको जीवनशैली र खानपिनको कुनै सम्बन्ध छैन । यस्तो बेला आँखामा मोतीजस्तो सेतो बिन्दु देखिने र यसले बाहिरबाट आउने ज्योति छेकिदिन्छ । उमेरका कारण हुने समस्याको उपचार शल्यक्रियाबाट मात्रै सम्भव भएको विशेषज्ञ डाक्टर बताउँछन् । मोतीबिन्दु विशेषज्ञ डा. बेन लिम्बू भन्छन्, ‘पहिले मोतीबिन्दुको उपचार जटिल थियो, उपचार गरेर ठीक हुन्छ भन्ने जनचेतना पनि थिएन ।’ कुनै समय दुवै आँखा बन्द भएपछि मात्रै अस्पताल आउँथे भने अहिले हल्का आँखा धमिलो देख्नेबित्तिकै बिरामी अस्पताल आइपुग्ने गरेको उनले बताए ।

चार दशकअघि देशमा आँखा अस्पताल कम थिए । विशेषज्ञ डाक्टर र आधुनिक प्रविधिका उपकरण पनि थिएनन् । मोतीबिन्दुको शल्यक्रिया गर्दा बिरामी डराउँथे । शल्यक्रिया पनि उस्तै जटिल थियो, आँखा चिरेरै गर्नुपथ्र्यो । ठूलो घाउ हुने । रगत बग्ने, संक्रमण बढ्ने जटिलता हुन्थ्यो । उपचारमा पनि महँगो शुल्क तिर्नुपर्ने हुँदा धनीले मात्रै उपचार गर्न सक्ने रोगका रूपमा चिनिन्थ्यो यो रोग । उतिबेला आँखाको शल्यक्रिया गरे पनि लेन्सको आविष्कार भएको थिएन ।

अहिले शल्यक्रियापश्चात् कृत्रिम लेन्स राख्न मिल्छ । सुरुमा कडाखाले लेन्स आउँथ्यो । यस्तो लेन्सले आँखा दुख्ने हुन्थ्यो । अहिले नेपालमै गुणस्तरीय नरम लेन्स बन्छन् । एकपटक लगाएको लेन्सले जीवनभर काम गर्छ, महँगो पनि छैन । पाँच सयदेखि १५ सय सम्ममा लेन्स पाइन्छन् । पहिले जस्तो बिरामीले लेन्स किन्न नसकेकै कारण दृष्टिविहीन भएर बस्न पर्दैन । डा. बेन लिम्बू भन्छन्, ‘पहिले लेन्स मात्रै २५ हजार पथ्र्यो, विपन्नले किन्नै सक्दैनथे ।’ जिल्ला र गाउँसम्म आँखा उपचार सेवा पुगेकाले बिरामीले आँखा शल्यक्रियाका लागि केन्द्र नै धाउनुपर्ने अवस्था छैन ।

पछिल्लो समय तिलगंगा आँखा प्रतिष्ठानमै लेन्स उत्पादन भइरहेको छ । बिरामीले सस्तो मूल्यमा लेन्स पाउँछन् । देशभर खपत हुन पुग्ने गरी लेन्स उत्पादन भइरहेको अस्पतालले जनाएको छ । देशमा मात्रै होइन, विदेशमा पनि निर्यात हुन्छ । प्रतिष्ठानले उत्पादित लेन्स भारत, पाकिस्तान, भुटान र अमेरिकामा निर्यात गरिरहेको छ । प्रतिष्ठानबाट वार्षिक १५ जना आँखा विशेषज्ञ समेत उत्पादन भइरहेकाले जनशक्तिको कुनै अभाव छैन ।

त्रिपुरेश्वरस्थित मुलुककै जेठो नेपाल आँखा अस्पतालले दैनिक २० देखि २५ बिरामीको मोतीबिन्दु शल्यक्रिया गरेको छ । गत वर्ष मात्रै चार हजार बिरामीको मोतीबिन्दु शल्यक्रिया गरेर लेन्स हालिदिएको थियो । त्यस्तै, तिलगंगा आँखा प्रतिष्ठानबाट २४ हजारले मोतीबिन्दु शल्यक्रिया गरी लेन्स हाल्छन् ।

 

आँखा अस्पतालका मोतीबिन्दु विशेषज्ञ डा. नियाज कौसर मिकरानी भन्छन्, ‘अहिले उपचार सजिलो छ, कम्प्युटरबाट सानो प्वाल बनाएर छोटो समयमा शल्यक्रिया गरी लेन्स हाल्ने हो ।’ यस्तो आधुनिक शैलीको उपचार कम खर्चिलो र कम पीडादायी भएको उनले बताए । यस्तो उपचारमा बिरामीको अस्पताल बसाइ पनि कम हुन्छ, भोलिपल्टै घर फर्किन सक्छन् । 

मोतीबिन्दु शल्यक्रियालाई ९९ प्रतिशत सफल हुने गरेको चिकित्सक बताउँछन् । उपचार ढिलो भएमा आँखाको पर्दा च्यातिने जलबिन्दु हुने जस्ता जटिलता देखिन सक्छ । यस्ता जटिलता देखिएपछि उपचार सम्भव छैन ।

स्रोत: https://www.kantipurdaily.com/national/2018/09/20/153740850953639796.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More