News

साउदीको पीडा बयान गरिसाध्य छैन

April 05, 2017

Nagarik ,Surendra Poudel,5h April 2017,  Kathmandu

घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली महिलालाई साहुले नाङ्गै बनाएर मरुभूमिको बीचमा लगेर राति छोडिदीए । यातना सहन नसकी ‘घर फर्कन देऊ’ भनेपछि साहुले उनलाई मरुभूमिको बीचमा फ्याँकिदिएका थिए । मरुभूमिमा दिनभर आँखा खोल्न सकिँदैनथ्यो । रात परेपछि निकै पर देखिने व्यक्तिलाई नियाल्दै त्यतैतिर उनी अघि बढिन् । भाको पेटमा मरुभूमिमा उनी निरन्तर केही रात हिँडेपछि राजमार्गमा पुगिन् । एक पाकिस्तानी ड्राइभरले देखपछि उनलाई रियादस्थित नेपाली दूतावास ल्याई छाडिदिए । दूतावासले उनलाई नेपाल फर्कायो ।

तीन वर्षअघि साउदीमै घरेलु कामदारका रूपमा कार्यरत एक नेपाली महिलाको रहस्यमय तरिकाले मृत्यु भयो । घरमालिकले तीन तलामाथिबाट हाम्फालेर भाग्ने क्रममा मृत्यु भएको बताए । सत्य पछि बाहिर आयो– भाग्ने क्रममा होइन, साहुले तीन तला माथिबाट उनलाई धकेलिदिएका कारण मृत्यु भएको थियो ।

चितवनकी एक महिलालाई घरेलु कामदारका रूपमा राख्ने साउदी घर मालिक रियादस्थित नेपाली दूतावास पुगे । उनी ती महिलाका लागि नयाँ पासपोर्ट बनाउन गएका थिए । दूतावासले नेपाली महिलासँग कुराकानी नगरी नयाँ पासपोर्ट दिन नमिल्ने बताएपछि घरमालिकले फोन लगाइदिए । फोनमा दूतावासका कर्मचारीसँग ती महिलाले आफूलाई पाँच वर्षदेखि थुनेर राखेको बताइन् ।

कुवेत हुँदै साउदी आइपुगेकी खोटाङकी एक महिला ११ वर्षसम्म तलब नदिई यातना दिएर राखिएको अवस्थामा साउदीको एक घरमा भेटिइन् । नेपाली दूतावासले उनको उद्धार गरी तलबसमेत भुक्तानी गर्न लगाई नेपाल पठाएको थियो ।

साउदी अरबमा कार्यरत नेपाली महिला घरेलु कामदारले दुःख पाएको यी केही प्रतिनिधि घटना हुन् । यस्ता थोरै घटना मात्र बाहिर आउँछन् । अन्य गुपचुप रहन्छन् । घरेलु कामदारका रूपमा साउदी पुगेका नेपाली महिलाको पीडा बयान गरिसक्नु छैन । घरबाट उम्केर नेपाली दूतावाससम्म आइपुग्न भ्याए उनीहरू आपूmलाई सबैभन्दा भाग्यमानी ठान्छन् ।

विगत दुई वर्षमा यस्ता यातना सहन नसकेर घरमालिकको पन्जाबाट उम्केर साउदीको रियादस्थित नेपाली दूतावास आइपुगेका सात सयभन्दा बढी नेपाली महिलालाई दूतावासले स्वदेश फर्काइसकेको छ । अहिले पनि यस्ता महिला दूतावासको सेल्टरमा २४ जना छन् भने साउदीको हाउसमेड डिपार्टमेन्टमा नौ जना छन् । ६ जना बुधबार स्वदेश फर्कंदैछन् ।

‘दूतावासले यातना सहन नसकेर घरबाट भागेका सात सयभन्दा बढी नेपाली महिला घरेलु कामदारको उद्धार गरी उनीहरूलाई पछिल्लो दुई वर्षमा नेपाल फर्काएको छ’, साउदीका लागि नेपाली कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले टेलिफोनबाट नागरिकसँग भने, ‘अझै हाम्रो दूतावासको सेल्टरमा २४ जना यस्ता महिला छन् । उनीहरूमध्ये केही मानसिक रूपमा अशक्त छन् ।’

हाल दूतावासमा रहेकामध्ये तीन जना बिरामी छन् भने एक जना महिलाको १८ महिनाको बच्चासमेत छ । दूतावासका अनुसार सन् २०११ मा यस्ता ८९, सन् २०१२ मा तीन सय २७ र सन् २०१३ मा ७४ जना महिलालाई उद्धार गरी नेपाल पठाइएको थियो । ‘यसरी दुःख पाएर घर छोडी भागेका महिला कामदारमध्ये केहीलाई प्रहरीले पक्राउ गरी सीधै पठाउँछ, केहीलाई हाउसमेड डिपार्टमेन्टल र केहीलाई दूतावासले पठाउने गर्छ । प्रहरी र हाउसमेड डिपार्टमेन्टले पठाउने महिलाको रेकर्ड हामीसँग हुँदैन । उनीहरूले पठाउने समेत जोड्ने हो भने यो संख्या निकै ठूलो हुन्छ’, शर्माले भने ।

नेपालले साउदीमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको वर्षांै भए पनि तस्करहरूले ‘सेटिङ’ मा नेपाली महिलालाई विभिन्न बाटोमार्फत साउदी पु¥याउने गरेका छन् । एक जना महिलालाई पु¥याएबापत १० लाख रुपैयाँ पाउने भएपछि तस्करहरूले कसैलाई काठमाडौंबाट त केहीलाई भारत र श्रीलंका हुँदै साउदी पु¥याउने गरेका छन् । केही महिलालाई भने कुवेतमा रोजगार लगाइदिने भन्दै साउदी पु¥याउने गरेको पाइएको छ । कुवेत हुँदै साउदी पुग्ने नेपाली महिलाको संख्या निकै ठूलो छ । यसरी साउदी पुग्ने ६० प्रतिशतभन्दा बढी महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ जाने गरेको देखिएको छ ।

घरमालिकको यातना सहन नसकी कति नेपाली महिलाले मानसिक सन्तुलनसमेत गुमाएका छन् । मानसिक सन्तुलन गुमाएका कति नेपाली महिलालाई घरमालिकले नयाँदिल्ली जाने जहाज चढाएर पठाउने गरेको पनि पाइएको छ । उनीहरू नयाँदिल्ली पुगेपछि अलपत्र पर्ने गरेका छन् । यस्ता महिला नयाँदिल्ली अलपत्र पर्ने क्रम बढेपछि नयाँदिल्लीस्थित नेपाली दूतावासमा उद्धारसम्बन्धी छुट्टै बजेट व्यवस्था गरिएको छ ।

साउदीमा घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिलाले मात्र यातना पाएका छैनन्, जुनसुकै देशबाट घरेलु कामदारका रुपमा साउदी पुगेका महिलाले कुनै न कुनै रूपमा घरमालिकको यातना सहन नसकी भाग्ने गरेका घटना छन् । कोहीको यातना सहन नसकी मृत्यु भएको छ भने कतिले आत्महत्यासमेत गरेका छन् । सन् २०१६ अगस्टमा एक जना फिलिपिनो महिला इम्रा इडलोयमाथि बलात्कर भयो र पछि उपचारका क्रममा उनको मृत्यु भयो । मर्नुअघि उनले आफूलाई बलात्कार गर्ने व्यक्ति आफ्नै घरमालिक भएको बताएकी थिइन् ।

सन् २०१६ को मेमा यातना सहन नसकी असिमा खातन नामकी २५ वर्षीया भारतीय महिलाको साउदीमा मृत्यु भएको थियो । श्रीलंकाबाट घरेलु कामदारका रूपमा साउदी पुगेकी उमा नाम गरेकी महिलालाई १३ वर्षपछि रियादस्थित श्रीलंकाली दूतावासले उद्धार गरेको थियो । ती महिलाको उमेर उद्धार गर्दा ५९ वर्ष थियो । उनलाई १३ वर्षदेखि तलब नदिई काममा लगाइएको थियो । यस्तै उद्धारपछि अर्की एक श्रीलंकाली महिलाले आफूलाई घरमालिकले ‘रेफ्रिजेरेटर’ भित्र राखेर यातना दिने गरेको बताएकी थिइन् ।

भारतको तामिलनाडुबाट साउदी पुगेकी नाजमुन बीलाई घरमालिकले दास बनाएर राखेको १६ वर्षपछि उद्धार गरिएको थियो । त्यहाँस्थित भारतीय दूतावासले उनको उद्धार गरेको थियो । तर, १६ वर्षदेखि उनलाई यातना दिने घरमालिकलाई भने कुनै कारबाही भएन । यस्तै, एकजना फिलिपिनो महिलालाई घरमालिकले पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएपछि त्यहाँस्थित फिलिपिन्स दूतावासले प्रहरी सहयोगमा उनको उद्धार गरेको थियो । प्रान्तीय गभर्नरको आदेश लिएर मात्र प्रहरी घरभित्र प्रवेश गरी उनको उद्धार गरेको थियो ।

श्रम कानुनले छुँदैन

साउदीमा कार्यरत घरेलु कामदारलाई त्यहाँको श्रम कानुनले छुँदैन । यसैको फाइदा उठाउँदै घरमालिकले कामदारलाई यातना दिने गर्छन् । घरमालिकले अनुमति नदिएसम्म प्रहरी घरभित्र छिर्न नसक्ने हुँदा अझ घरमालिकको साहस बढ्ने गरेको छ । घरेलु कामदारहरू काफिला प्रणालीअन्तर्गत रहेका हुन्छन् । आफूले पैसा खर्च गरेर ल्याउनुपर्ने हुँदा घर मालिकले घरेलु कामदारलाई सम्पत्तिसरह मान्छन् ।
श्रम कानुनले सम्बोधन नगर्ने हुँदा घरेलु कामदारको काम गर्ने निश्चित समय तोकिएको हुँदैन । साउदीमा घरेलु कामदारका रूपमा काम गर्ने महिलाले मुस्किलले दैनिक चार घन्टा सुत्न पाउँछन्, अरू समय काममा व्यस्त हुनुपर्छ । 

भनेको नमाने घरमालिकले घरेलु महिला कामदारलाई पिट्ने, खान नदिने, दुव्र्यवहार गर्ने, शरीरमा तातोपानी खन्याइदिने, आइरनले डाम्ने, हात तथा औंला भाँचिदिने गर्ने गरेको खुलासा हुँदै आएको तथ्य हो ।
साउदीमा महिलालाई एक्लै घरबाहिर हिँड्न छुट छैन । उनीहरु नजिकको नातेदारसँग मात्र हिँड्न पाउँछन् । हिजाव एव निकाव लगाएर मात्र महिला घरबाहिर निस्कन पाउँछन् । यस्तो कानुनी व्यवस्था भएको ठाउँमा यातना सहन नसकेको महिलालाई घरबाहिर निस्कन मुस्किल पर्छ । साउदी कानुन पनि विभेदकारी छ । साउदीमा काम गर्दा केही भए मुस्लिम व्यक्तिलाई दुई लाख रियाल, क्रिस्चियनलाई एक लाख रियाल र हिन्दुलाई १६ हजार रियालसम्म क्षतिपूर्ति दिने गरिन्छ ।

वार्षिक ८६ हजार महिला भाग्छन्

साउदीमा कार्यरत विदेशी घरेलु महिला कामदारमध्ये वार्षिक ८६ हजारले घरमालिकको यातना सहन नसकी घर छोडी भाग्ने गर्छन् । अरब न्युजका अनुसार सन् २०१५ मात्र कुल ८६ हजार घरेलु कामदार घर छोडी भागेका थिए । सौरा काउन्सिलले एक वर्षमा किन यति धेरै कामदार घर छोडी भाग्छन् भनी अनुसन्धान गर्न मागसमेत गरेको थियो ।

अरब न्युजले समाचारमा महिला घरेलु कामदार घरमालिकले तलब नदिएर, खान नदिएर र दुव्र्यवहारसमेत गरेका कारण भाग्ने गरेको उल्लेख गरेको छ । अरब न्युजका अनुसार साउदीमा एक करोड १९ लाख १२ हजार दुई सय नौ जना मजदुर रहेका छन्, जसमध्ये ५३ प्रतिशत विदेशी र ४७ प्रतिशत साउदी नागरिक हुन् । सन् २०१५ मा मात्र पाँच लाख ३० हजार विदेशी कामदार भागेका थिए । साउदीमा कार्यरत कुल विदेशी कामदारको ६० प्रतिशत घरेलु कामदारका रूपमा कार्य गर्ने महिला तथा पुरुष छन् ।

काम छोडी भाग्नेको संख्याले साउदीमा घरेलु कामदारमाथि हुने यातनाको ‘स्केल’ देखाउँछ ।

पठाउने राष्ट्र धमाधम प्रतिबन्ध लगाउँदै

साउदीसँग द्विपक्षीय सम्झौता गरी घरेलु कामदार पठाउने राष्ट्रले धमाधम साउदीमा आफ्नो देशका महिलालाई घरेलु कामदारका रूपमा पठाउन प्रतिबन्ध लगाउँदैछन् । आफ्ना महिला कामदारले शारीरिक, मानसिक, भौतिक र यौन दुव्र्यवहारलगायतको यातना पाउने गरेको थाहा पाएपछि ती राष्ट्रले प्रतिबन्ध लगाएका हुन् ।

अफ्रिकी मुलुक युगान्डाले २०१५ को जुलाईमा साउदीसँग महिला घरेलु कामदार पठाउने सम्झौता गरेको थियो । तर त्यो सम्झौता ६ महिना पनि टिकेन । युगान्डा नोपलभन्दा बढी बेरोजगार भएको देश हो । आफ्ना महिला कामदारलाई साउदी घरमालिकले विभिन्न किसिमका यातना दिने गरेको थाहा पाएपछि युगान्डाले महिला पठाउन २०१५ डिसेम्बरमा प्रतिबन्ध लगाएको थियो । ६ महिनाको अवधिमा पाँच सयभन्दा बढी युगान्डाली महिला साउदी पुगेका थिए ।  

श्रीलंकाले पनि घरेलु महिला कामदार पठाउने सम्बन्धमा साउदीसँग सम्झौता गरेको थियो । सम्झौतापछि तीन लाख श्रीलंकाली साउदी पुगे । तर अहिले श्रीलंकाले पनि महिलालाई घरेलु कामदारका रूपमा साउदी पठाउन बन्द गरेको छ । महिला कामदारमाथि दुव्र्यवहार भएको भन्दै श्रीलंकाले पठाउन बन्द गरेको हो ।

साउदीसँग सम्झौता गरेर सबैभन्दा ठूलो संख्यामा महिला कामदार पठाउने राष्ट्र फिलिपिन्स र इन्डोनेसिया हुन् । अहिले यी दुवै देशले महिलालाई घरेलु कामदारका रूपमा साउदी जान प्रतिबन्ध लगाएका छन् । कारण उही– घरमालिकले दिने यातना । इन्डोनेसियाले सन् २०११ मा उक्त प्रतिबन्ध लगाएको हो । साउदीमा घरेलु कामदारका रूपमा महिलालाई पठाउँदै आएको अफ्रिकी राष्ट्र इथोपियाले पनि अहिले आफ्नो देशका महिलालाई साउदीमा घरेलु कामदार भई जान प्रतिबन्ध लगाएको छ ।

साउदीमा घरेलु कामदारको माग बढ्दो

साउदी अरबको समाजमा घरेलु कामदार राख्नुलाई प्रतिष्ठाका रूपमा लिइन्छ । यस कारण उनीहरू घरेलु कामदार १० लाख रुपैयाँसम्म खर्चेर मगाउँछन् । पेट्रोलियम पदार्थको मूल्यमा पछिल्लो समय गिरावट आएसँगै देखिएको आर्थिक मन्दीका कारण साउदी सरकारले अहिले महिलालाई पनि काममा जाने छुट दिएको छ । यसले गर्दासाउदी महिला घरबाहिरको काममा लाग्न थालेका छन् ।

त्यति मात्र होइन, अहिले साउदी सरकारले त्यहाँ रहेका कम्पनी तथा संघसंस्थालाई तोकिएको प्रतिशत साउदी नागरिक राख्नैपर्ने कानुनी व्यवस्था गरेको छ । यसले गर्दा पनि धेरै साउदी महिला घरबाहिरको काममा जाने गरेका छन् । महिलाहरू बाहिरको काममा गएपछि घरमा रहेका बालबालिका र बूढाबूढीको स्याहारसुसार गर्ने मानिसको आवश्यकता पर्छ । अझ ठूलो संख्यामा पठाउँदै आएका फिलिपिन्स र इन्डोनेसियाले महिला कामदार पठाउन छाडेपछि साउदीमा घरेलु कामदारको माग ह्वात्तै बढेको छ ।

अरू प्रतिबन्ध लगाउँदै, नेपाल खोल्दै

साउदी घरमालिकहरूले आकर्षक पैसा उपलब्ध गराएपछि नेपालमै रहेका केही म्यानपावर कम्पनीले पनि साउदीमा महिलालाई घरेलु कामदार पठाउने बाटो खुला गर्न सरकारलाई दबाब दिँदै आएका छन् । सरकारले यही चैत ३ गते वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७२ को तेस्रो संशोधन गर्दै नेपाल सरकारले गन्तव्य मुलुकसँग दुई पक्षीय श्रम सम्झौता वा समझदारी गरेर मात्र वैदेशिक रोजगारमा घरेलु कामदार पठाउन अनुमति दिन सक्ने व्यवस्था गरेपछि म्यानपावर कम्पनीहरू झन् हौसिएका छन् । उनीहरूले साउदीसँग यस्तो सम्झौता गरी बाटो खोलिदिन दबाब दिँदै आएका छन् ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार साउदीमा मात्र होइन, खाडी राष्ट्र कुनैमा पनि घरेलु कामदारका रूपमा महिलालाई पठाउने वातावरण छैन । त्यहाँ महिला कामदारमैत्री वातावरण नभएको ठम्याइ स्रोतको छ । ‘हाम्रा चेलीमाथि कुनै साउदीको घरमा दुव्र्यवहार भएको थाहा पाए पनि त्यो घरभित्र हामी जान सक्ने अवस्था हुन्न । त्यहाँको प्रहरीसमेत घरमालिकको अनुमति नलिई घरमा छिर्न पाउँदैन । त्यस्तो वातावरणमा महिलालाई कस्तो अवस्था राखिन्छ होला’, स्रोतले भन्यो ।

साउदीमा घरेलु कामदार पठाउँदै आएका देशले धमाधम प्रतिबन्ध लगाउनुको कारण पनि त्यहाँ महिलामैत्री वातावरण र कानुन नहुनुलाई देखाएका छन् । श्रम कानुनले घरेलु कामदारलाई सम्बोधन नगर्ने हुँदा घरेलु कामदारमाथि घरमालिकको मनमौजी चल्ने गर्छ । सम्झौता गरेरै महिला कामदार पठाउँदै आएका देशले किन पठाउन प्रतिबन्ध लगाउँदैछन् त्यसलाई गम्भीर रूपमा लिनुपर्ने स्रोत बताउँछ ।

Source: http://www.nagariknews.com/news/17441/