कारोबार आर्थिक दैनिक, ०२ भाद्र २०७४
सरकारले चालू आर्थिक वर्षको पहिलो महिना (साउन)मा वार्षिक लक्ष्यको ६.४ प्रतिशत राजस्व असुली गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतको महालेखा नियन्त्रक कार्यालय (मलेनिका) ले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनमा ४६ अर्ब ७१ करोड ५९ लाख ३९ हजार रुपैयाँ राजस्व उठेको छ । चालू वर्ष सरकारले ७ खर्ब ३० अर्ब ५ करोड ५५ लाख ७० हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य लिएको छ ।
यसअवधिमा असुली भएको राजस्व गत वर्ष साउनको ४१ अर्ब ७७ करोड ३६ लाखको तुलनामा ११.८३ प्रतिशतले बढी हो । साउनमा संकलित राजस्व सबै राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस)बाट भएको हो ।
मलेनिकाले साउनमा ६८ अर्ब १ करोड ३५ लाख ८ हजार रुपैयाँ कुल खर्च भएको जनाएको छ । यसअवधिमा भएको कुल खर्चमध्ये अधिकांश चालू खर्चअन्तर्गत रहेको छ । वार्षिक बजेट १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको ५.३२ प्रतिशत कुल खर्च भएको साउनमा पुँजीगत खर्च ०.१ प्रतिशत र चालू खर्च ८.४२ प्रतिशत भएको छ । साउन वित्तीय व्यवस्थाअन्तर्गत भने कुनै खर्च भएको छैन ।
चालू वर्षका लागि पुँजीगत खर्च ३ खर्ब ३५ अर्व १७ करोड ५९ लाख ७० हजार रुपैयाँ विनियोजन भएकोमा साउनमा ३५ करोड १४ लाख ५२ हजार मात्रै खर्च भएको छ । त्यसैगरी चालू खर्चका लागि ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार विनियोजन भएकोमा साउनमा ६७ अर्ब ६६ करोड २० लाख ५६ हजार रुपैयाँ मात्रै खर्च भएको छ । चालू वर्षका लागि वित्तीय व्यवस्थापनका लागि १ खर्ब ४० अर्ब २८ करोड ७४ लाख ३१ हजार रुपैयाँ विनियोजन भएको थियो ।
बजेट खर्च नहुँदा विकास निर्माण प्रभावित भएको भन्दै नेपालको संविधानमै जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था भएअनुरुप चालू वर्षको बजेट दोस्रो पटक संवैधानिक व्यवस्थाअनुसार सार्वजनिक भएको थियो ।
गत वर्ष पनि जेठ १५ मै बजेट आए पनि पुँजीगत खर्च भने सन्तोषजनक हुन सकेको थिएन । यस वर्ष बजेट सार्वजनिक गर्दा नै खर्च गर्ने पुरानो परम्परा तोडिएको र अधिकांश स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकाले जनप्रतिनिधिले जनचाहनाअनुरुप विकासको गति अघि बढाउने विश्वास सरकारले गरेको छ ।