साञ्जेन र रसुवागढीको पहिलो चरणमा विक्रीमा आएको आइपीओ बुधवारसम्म

March 13, 2018

आर्थिक अभियान, फागुन २९, २०७४ 

काठमाडौं (अस) । सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रो पावर कम्पनीले पहिलो चरणमा कर्मचारी सञ्चय कोषमा रकम सञ्चित गर्ने कर्मचारीका लागि निष्कासन गरेको आइपीओमा आवेदन दिने बुधवार अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले फागुन ११ देखि ३० गतेसम्मका लागि आइपीओ जारी गरेका हुन ।

पहिलो चरणमा साञ्जेनले ७१ लाख १७ हजार ५ सय कित्ता र रसुवागढीले १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता शेयर निष्कासन गरेका हुन । रसुवागढीको आइपीओमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ पुस २० गतेसम्म सञ्चयकर्ताको रुपमा रहेका कर्मचारीले न्यूनतम ५० देखि अधिकत ५ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ भने साञ्जेनको आइपीओमा २०६८ साल मङ्सिर २२ गतेसम्म बहाल रहेका र २०७४ मङ्सिर २६ गतेसम्म सञ्चयकर्ताको रुपमा थपिएका कर्मचारीहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम ३ सय कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

रसुवागढीको आइपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ भने सह विक्री प्रबन्धकहरुमा एनआइबीएल क्यापिटल, ग्लोबल आईएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । साञ्जेनको आईपीओ विक्री प्रबन्धकको जिम्मेवारी नागरिक लगानी कोषले पूरा गरिरहेको छ ।

सान्जेनले कुल ८७ लाख ६० हजार कित्ता र रसुवागढीले कुल १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर कर्मचारीहरुका लािग विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका हुन् । सोही अनुरुप दोस्रो चरणमा चैत ५ गतेदेखि १३ गतेसम्म कर्मचारी ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीहरुका लागि ३ लाख ६५ हजार कित्ता र संस्थापक शेयर धनि संस्थाका कर्मचारीहरुका लागि १२ लाख ७७ हजार ५ सय कित्ता साधारण शेयर जारी गर्नेछ । यसमा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

त्यस्तै, १ करोड ६४ लाख २१ हजार ४० कित्ता आइपीओ विक्री गर्न अनुुमति पाएको रसुवागढीले चैत ५ देखि १३ गतेसम्मकै लागि ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष)का कर्मचारीहरुलाई ६ लाख ८४ हजार २ सय १० कित्ता र संस्थापक संगठित संस्थाका कर्मचारीहरुलाई २३ लाख ९४ हजार ७ सय ३५ कित्ता आइपीओ जारी गर्नेछ । यस आइपीओमा ऋणदाता संस्थाका कर्मचारीले न्यूनतम ५० देखि अधिकतम २५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

धितोपत्र सार्वजनिक निष्कासनमा फागुन ११ गतेदेखि नै सी–आस्बा प्रणाली अनिवार्य भएसँगै यी दुवै कम्पनीले सी–आस्बा प्रणालीबाटै आवेदन सङ्कलन गरेका छन् । यो प्रणालीमा अनलाइन मार्फत पनि आवेदन दिन सकिने व्यवस्था भए पनि साञ्जेन र रसुवागढीको आइपीओका लागि भने सीआरएन नम्बर प्राप्त गरेको बैङ्क तथा वित्तीय संस्था मार्फत नै आवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

विक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार साञ्जेनको आइपीओमा सोमवारसम्म २ लाख आवेदकबाट रू. ३ अर्ब बराबरको आवेदन परेको छ । त्यस्तै रसुवागढीको आइपीओ विक्री प्रबन्धकको मुख्य जिम्मेवारी लिएको सिद्धार्थ क्यापिटलकाअनुसार सोमवारसम्म १ लाख ९ हजार २ सय १८ जना आवेदकले रू. ४ अर्ब २२ करोड बराबरको आवेदन दिएका छन् ।

स्रोत: www.abhiyan.com.np/2018/03/13/187520

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More