सातामै १३ करोडको तरुल कारोबार

January 14, 2018

अन्नपुर्ण पोस्ट, ३० पुष २०७४ 

माघे संक्रान्ति नजिकिँदै जाँदा तरुलको व्यापार उच्च भएको छ। एक साताको अवधिमा उपत्यकामा मात्र करिब १३ करोड मूल्यबराबरको तरुलको व्यापार भएको छ। नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अनुसार ६ दिनको अवधिमा (पुस २५ गतेदेखि ३० गतेसम्ममा) झण्डै १३ करोड मूल्यबराबरको करिब एक हजार टन विभिन्न प्रकारका तरुलको कारोबार हुने अनुमान गरिएको छ।

‘गत वर्षभन्दा यो वर्ष दुई करोडभन्दा बढी मूल्यबराबरको कारोबार हुँदैछ', महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘अघिल्लो वर्ष केही सीमित बजारबाट १२ करोड मूल्यबराबरको तरुल बिक्री भएको थियो। तर, यो वर्ष बजार थपिएको छ। यो वर्ष थप एक करोड मूल्यबराबरको बढी कारोबार हुँदैछ।'

उनका अनुसार तरुलको मुख्य कारोबार हुने बजार सरकारी स्वामित्वको कालिमाटी तरकारी बजार हो। यो बजारमार्फत ६ दिनको अवधिमा नौ करोड ५० लाख मूल्यबराबरको साढे सात सय टनको हाराहारीमा तरुलको कारोबार हुने गर्छ। बाँकी बल्खु, बानेश्वर, तीनकुने, कोटेश्वर, बालाजुलगायत अन्य साना तरकारीबजारबाट तीन करोड ५० लाख मूल्यबराबरको दुई सय ५० टन तरुलको कारोबार हुन्छ। ‘व्यवसायीले बाहिरबाट ल्याएको सबै तरुल आइतबार साँझसम्म बिक्री हुन्छ', अध्यक्ष घिमिरेले भने,‘सोमबार बिहान त फाट्टफुट्ट रूपमा मात्रै केही व्यवसायीसँग तरुल बाँकी हुन्छ।'

उनका अनुसार पछिल्लो ४/५ वर्षयता तरुलको व्यापार निकै फस्टाएको छ। पहिले नरुचाउने उपभोक्ता पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले खान पल्केका छन्। यसले गर्दा कारोबार ह्वात्तै बढेको हो। उपत्यकामा हुने तरुलको कुल कारोबारमध्ये ९५ प्रतिशत स्वदेशी र पाँच प्रतिशत भारतको उत्तर प्रदेशबाट आयातीत तरुलको हिस्सा छ।


बजारमा अत्यधिक महँगो मानिएको वन तरुलसहित घर तरुल, हात्तिपाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुललगायत बजारमा उपलब्ध छ।

कालिमाटी तरकारी बजारका थोक बिक्रेता गीताप्रसाद आचार्यका अनुसार पुस २५ गतेदेखि २९ गतेभित्रमा सबैभन्दा बढी तरुलको कारोबार हुन्छ। थोक बिक्रेताले आयात गरेको तरुलको परिमाणमध्ये करिब ९५ प्रतिशत यही अवधिमा खुद्रा बिक्रेता र उपभोक्ताले खरिद गर्छन्। बाँकी पाँच प्रतिशत तरुलको व्यापार आइतबार हुन्छ।

यो वर्ष पनि धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, ललितपुरलगायत जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भित्र्याइएको छ। बजारमा आएका तरुलमध्ये ७० प्रतिशत तराईको स्थानीय र १० प्रतिशत उपत्यका वरिपरीका जिल्लाबाट आपूर्ति गरिएको छ। बजारमा अत्यधिक महँगो मानिएको वन तरुलसहित घर तरुल, हात्तिपाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुल, तराई तरुल नामका तरुलको कारोबार भइरहेको छ।

‘हामीजस्ता ठूला थोक बिक्रेतासँग तरुलको मौज्दात सकिएको छ', आचार्यले भने,‘खुद्रा व्यापारी कहाँ पनि न्यून परिमाणमा तरुल मौज्दात छ। आइतबार साँझसम्म त्यो पनि सकिन्छ।' व्यवसायीका अनुसार बजारमा अहिले बन तरुल बाहेक अन्य सबै प्रकारका तरुल अहिले प्रतिकिलो ५० देखि ८० रुपैयाँमा बिक्री भइरहेका छन्। बन तरुल भने प्रतिकिलो डेढ सयदेखि अढाइ सयमा बिक्री भइरहेको छ। वन तरुल निक्कै थोरै परिमाणमा उत्पादन भएर बजारमा आउने भएकाले यसको मूल्य पनि अत्यधिक छ। अन्य प्रकारका तरुलको व्यावसायिक खेती हुने भएकाले केही मूल्य सस्तो छ।

स्वास्थ्यका लागि वहुउपयोगी

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार तरुल निकै पोषिलो र वहुउपयोगी खाद्य पदार्थ हो। तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेड, प्रोटिन, मिनेरल्स, इनर्जी, भिटामिन पाइने भएकाले यसलाई पोषिलो खानाका रूपमा लिइन्छ।

‘खानाका रूपमा प्रयोग गरिने चामलभन्दा आलुमा बढी पोषण तत्व छ', महानिर्देशक कर्णले भने,‘यसैगरी तरुलमा पनि चामलभन्दा बढी पोषण तत्व छ। यसलाई खानाका रूपमा प्रयोग गर्दा पनि हुन्छ। वहुउपयोगी गुणको धनी मानिए पनि सर्वसाधारणमा सचेतनाका कारण अझै यसको भरपुर उपभोग हुन सकेको छैन।'

खाद्य विभागका अनुसार तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ। यस्तै तरकारी र अचारका रूपमा पनि उपभोग गर्न सकिन्छ। कर्णका अनुसार तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ। यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ।

स्रोत: http://annapurnapost.com/news-details/88250

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More