News

सात महिनामै वीरगन्ज नाकाको व्यपार-घाटा साढे चार खर्ब

February 20, 2019

क्रान्ति शाह, अन्नपूर्ण पोष्ट, फाल्गुन ०७, २०७५ 

वीरगन्ज : मुलुककै मुख्य नाका मानिने वीरगन्जको व्यापार-घाटा सात महिनामै साढे चार खर्ब भन्दा बढी पुगेको छ ।

स्थल नाका वीरगन्ज भन्सार र रेल सुविधा सहितको सिर्सिया सुख्खा बन्दरगाहा (ड्राइपोर्ट) हुँदै करिब ५० प्रतिशतभन्दा बढी मालसामान भारत तथा तेश्रो मुलुकबाट नेपालमा भित्रिने गरेका छन् ।

दुबै भन्सार कार्यालयले नेपालको कुल भन्सार राजश्वको झण्डै ५० प्रतिशत भन्दा बढी राजश्व संकलन गर्दैआएकोमा पछिल्ला वर्षहरुमा व्यापार–घाटा भने वर्षेनी बढ्दैगएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा वीरगन्ज नाकाको वार्षिक व्यापार–घाटा पाँच खर्ब ७९ अर्ब ८७ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्ष २०७५/०७६ को साउनदेखि माघसम्म सात महिनामा मात्रै वीरगन्ज नाकाको व्यपार–घाटा चार खर्ब ५४ अर्ब ८३ करोड २० लाख ७५ हजार पुगेको छ ।

गत आर्थिक वर्ष २०७४/०७५ को सोही सात महिनाको अवधीमा भने वीरगन्ज नाकाको व्यपार–घाटा तीन खर्ब ६७ अर्ब ६६ करोड ८८ लाख मात्र थियो । यो तथ्याङ्कलाई तुलना गर्दा गत आर्थिक वर्षको सात महिनाको भन्दा चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाकाको व्यपार–घाटा ८७ अर्ब १६ करोड ३२ लाख ७० हजार बढिरहेको छ ।

वीरगन्ज नाका हुँदै विदेश निकासी हुने मालसामानको तुलनामा विदेशबाट आयात हुने मालसामानको परिमाण अत्याधिक भएका कारण नाकाको व्यापार– घाटा वर्षेनी बढ्दैगएको हो ।

चालु आर्थिक वर्षको सात महिनाको अवधीमा वीरगन्ज भन्सार नाका हुँदै तीन खर्ब ३८ अर्ब ७४ करोड मुल्यको सामान विदेशबाट आयात भएकोमा नेपालबाट भने १३ अर्ब १९ करोड मुल्य मात्रै सामान निर्यात भयो । पछिल्लो सात महिनाको अवधीमा वीरगन्जमै रहेको सिर्सिया सुख्खा बन्दरगाह नाका हुँदै एक खर्ब ३१ अर्ब ८३ करोड १६ लाख मुल्यको मात्रै सामान विदेश निर्यात भएको छ ।

भारत तथा तेश्रो मुलुकबाट वीरगन्ज नाका (वीरगन्ज भन्सार र सुख्खा बन्दरगाह) हुँदै इन्धन, औद्योगिक कच्चा पदार्थ, नयाँ सवारी साधन, खाद्यान्न, तयारी सिमेन्ट र फलामजन्य पदार्थ, मेशीनरी पाटपूर्जा, विद्युतीय उपकरण, कपडा लगायत गरी करिब तीन सय प्रकारका मालसामान नेपालमा भित्रिने गरेको छ ।

वीरगन्ज नाका हुँदै भारत तथा तेश्रो मुलुकमा सबै भन्दा बढी पाम आयल, जुस, स्पोर्टस जुत्ता, ऊनको गलैँचा, रेसा कपडा, जिआई फलामे पाइप, ह्याण्डी क्राफ्ट, कार्पेट, दाना, पिना, आर्युवेदिक औषधी, दन्तमन्जन, भटमासको तेल, राँगा भैंसीको छाला, तामाको भाँडा लगायत करिब एक सय प्रकारका मालसामान निर्यात हुने गरेको छ ।

राज्यको नीति उद्योगमैत्री नभएर व्यपार-घाटा

नीति निर्माताहरुले मुलुकको बजेट नै आयातमुखी बनाउने गरेकाले व्यापार–घाटा बढेको टिप्पणी व्यवसायीहरुले गरेका छन् । सरकारले नेपाली उद्योग कलकारखानालाई प्रोत्साहन गर्नुको सट्टा झन धराशायी बनाउने नीति लिएको उनीहरुको तर्क छ ।

नेपालबाट मालसामान निर्यात हुने मुलुकहरु र निर्यातकर्ता बीच पुलको काम सरकारले गर्नुपर्नेमा उल्टै उद्योग कलकारखानालाई धराशायी बनाउने काम सरकारले गरिरहेको बताउँछन् वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता ।ठाकुरराम बहुमुखी क्याम्पसका प्राध्यापक डा. इन्दुशंकर मिश्रका अनुसार मुलुकभित्रै अत्यावश्यक वस्तुको उत्पादन बढाउन सके मात्र व्यापार घाटा कम गर्न सकिन्छ ।

सोर्त: http://annapurnapost.com/news/120922