सात वर्षमा दुई लाख ३१ हजार पासपोर्ट हराए

March 01, 2018

 सुरेन्द्र पौडेल, नागरिक दैनिक, १७ फागुन २०७४

मेसिनले पढ्नसक्ने पासपोर्ट (एमआरपी) जारी भएयता सात वर्षको अवधिमा २ लाख ३१ हजार २ सय २७ पासपोर्ट हराएका छन् । यो तथ्यांक सरकारी रेकर्डमा आएको मात्र हो, हराएका पासपोर्टको वास्तविक संख्या अझ बढी हुनसक्छ । हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकून भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’ लाई गराएको छ। 

‘सन् २०११ देखि २०१८ को जनवरीसम्म २ लाख ३१ हजार २ सय २७ जनाले आफ्नो पासपोर्ट हराएको भन्दै नयाँ पासपोर्ट लिएका छन्,’ परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले भने, ‘हराएका पासपोर्टमा  पुराना हस्तलिखित र नयाँ मेसिनले पढ्नसक्ने दुवै छन्।

हराएका पासपोर्ट कसैले दुरुपयोग गर्न नसकून भनेर सरकारले यसको जानकारी प्रहरीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरपोल’ लाई गराउँदै आएको छ। 

राहदानी विभागले सन् २०१० डिसेम्बर २६ बाट एमआरपी जारी गर्न थालेको हो । त्यसयता २०१८ को जनवरीसम्म विभागले ५२ लाख ८ हजार २ सय १३ एमआरपी जारी गरिसकेको छ । विभागको तथ्यांकअनुसार जारीमध्ये करिब साढे ४ प्रतिशत पासपोर्ट हराएको देखिन्छ। 

‘अन्य देशमा यति ठूलो संख्यामा पासपोर्ट हराउँदैन। विकसित देशले त पासपोर्टलाई सरकारी सम्पत्तिको मान्यता दिएका हुन्छन् । यसले पासपोर्टको महत्त्व कति हुन्छ भन्ने देखाउँछ । हामीकहाँ पासपोर्टको महत्त्व बुझाउन सकिएको छैन,’ महानिर्देशक खड्काले भने। 

पासपोर्ट हराउनेमध्ये धेरैले यसको जानकारी नारायणहिटी दरबार संग्रहालय परिसरमा रहेको राहदानी विभागमा गराएको देखिन्छ । त्यसपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा पासपोर्ट हराएको जानकारी गराएका छन् । पछिल्लो ७ वर्षमा १ लाख ७ हजार ८ सय ८३ जनाले विभाग, ९९ हजार ४१ जनाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र २४ हजार ३ सय ३ जनाले विदेशस्थित नेपाली नियोगमा आफ्नो पासपोर्ट हराएको जानकारी गराएका छन्। 

पासपोर्ट हराउनेको संख्या प्रत्येक वर्ष बढ्दो छ । सन् २०१८ को जनवरीमा  मात्र ४ हजार ७ सय ६ वटा पासपोर्ट हराएको जानकारी विभागले पाएको छ । विभागको तथ्यांक अनुसार सन् २०११ मा १४ हजार ९ सय ४४ थान पासपोर्ट हराएका थिए । सन् २०१२ मा यो संख्या बढेर १९ हजार ४ सय ३४ पुग्यो । सन् २०१३ मा २६ हजार ८२ र २०१४ मा ३५ हजार ८ सय १० थान पासपोर्ट हराएको तथ्यांक विभागसँग छ । त्यस्तै, सन् २०१५ मा ३८ हजार ६ सय ९० थान र २०१६ मा ४६ हजार ३ सय ३२ थान पासपोर्ट हराएका छन् । २०१७ मा भने ४५ हजार २ सय २३ जनाले पासपोर्ट हराएको भन्दै नयाँ बनाएको तथ्यांकबाट देखिन्छ। 

‘हराएका पासपोर्ट अन्य व्यक्तिले दुरुपयोग गरेको हामीले पाएका छैनौं । तर दुरुपयोग गर्ने सम्भावना भएकाले यसबारे हामीले १५/१५ दिनमा इन्टरपोललाई जानकारी उपलब्ध गराउँदै आएका छौं,’ महानिर्देशक खड्काले भने।

किन हराउँछन पासपोर्ट ?
महानिर्देशक खड्काका अनुसार यति ठूलो संख्यामा पासपोर्ट हराए भन्दै नयाँ बनाउन निवेदन पर्नुका पछाडि ७ कारण छन् । पहिलो, साँच्चै पासपोर्ट हराउनु। यसको पछाडि कुनै बहाना हुँदैन र यसरी हराउने वास्तवमै धेरैजना छन् । दोस्रो, म्यानपावर एजेन्सीले ‘होल्ड’ गरिराख्ने। लामो सयमसम्म म्यानपावरले पासपोर्ट होल्ड गरिदिएपछि सेवाग्राहीले हराएको भन्दै नयाँ बनाउन निवेदन दिन्छन् । तेस्रो कारण, सन् २०१० डिसेम्बर २६ भन्दा अगाडि १० वर्षको समयावधि राखी जारी भएका हस्तलिखित पासपोर्ट रद्द गनुपर्ने हुनाले पासपोर्ट हरायो भन्ने बढेका हुन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ) ले नेपाली हस्तलिखित पासपोर्टले सन् २०१५ नोभेम्बर २४ सम्म वैधता पाउने भनेर समयसीमा तोकेको थियो । पासपोर्टको समयावधि आइकाओले तोकेको मितिभन्दा पनि पछिसम्म भए पनि त्यसले काम दिँदैन्थ्यो । हस्तलिखित पासपोर्ट हुनेले एमआरपी लिँदा अनिवार्य पुरानो पासपोर्ट रद्द गर्नुपर्ने हुन्छ । रद्द गर्ने प्रक्रिया झन्झटिलो भएकाले सेवाग्राहीले हस्तलिखित पासपोर्ट हरायो भन्दै नयाँ लिने गरेको देखिन्छ। 

त्यस्तै चौथो कारण हो– पासपोर्ट बनाउन सहज। पहिला पासपोर्ट हराएपछि नयाँ बनाउने प्रक्रिया केही झन्झटिलो थियो । त्यसका लागि हराएको सूचना पत्रिकामा निकाल्नुपर्ने, प्रहरी रिपोर्ट बनाउनुपर्नेलगायत प्रक्रिया पूरा गर्नुपथ्र्यो । पछि यी सबै कागजात नचाहिने व्यवस्था गरियो, जसले पासपोर्ट हरायो भन्नेलाई सहज भयो । पाँचौं कारण, बनाएको पासपोर्टमा केही विवरण फेर्नुपर्‍यो भने पनि बनाउन सहजताले हरायो भन्ने पनि छन्। छैठौं कारण हो– एकपटक कुनै देशले भिसा ‘रिजेक्ट’ गरिदिनु । धेरैलाई के भ्रम छ भने एउटा देशले भिसा रिजेक्ट गरेपछि त्यो पासपोर्टमा अर्को देशले पनि भिसा दिँदैन । यही गलत बुझाइका कारण भिसा रिजेक्ट हुनेले अर्को देशको भिसाका लागि आवेदन दिनका लागि पुरानो पासपोर्ट हरायो भन्छन् । सातौं कारण खाडी राष्ट्रमा काम गरेर फर्किनेहरु हुन्। खाडी राष्ट्रमा काम गरेकालाई अमेरिका, युरोेपेली राष्ट्र र जापानले भिसा दिँदैन भन्ने गलत बुझाइ धेरैमा छ । यस कारण पनि ती देशबाट फर्केर अन्य विकसित देश जान चाहनेले पुरानो पासपोर्ट आपूmसँगै रहे पनि हरायो भनी नयाँ बनाउँछन्। 

स्रोत: http://nagariknews.com/news/39319/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More