News

साधनस्रोतले धनी, सम्भावनाको खानी

February 03, 2018

विमल खतिवडा र प्रताप बिष्ट, कान्तिपुर दैनिक, माघ २०, २०७४

हेटौंडा — सात प्रदेशमध्ये सबैभन्दा बलियो प्रदेशका रूपमा ३ नम्बर प्रदेश रहेको छ । यो प्रदेशमा सम्भावनाका आधारहरू धेरै छन् । आशा जगाउने क्षेत्रहरू प्रशस्त छन् । शिक्षा, स्वास्थ्य, उद्योग, हाइड्रो र पोल्ट्री आयस्रोतका मुख्य स्रोत हुन् । 

मुलुकको राजधानी काठमाडौंसहित उपत्यकाका तीन जिल्लासमेत यही प्रदेशमा पर्छन् । सुविधासम्पन्न सहरहरूसमेत यही प्रदेशमा भएकाले सुविधाका हिसाबले सहरीकरण बढदो छ ।

प्रदेश ३ अन्तर्गत पर्ने अधिकांश जिल्ला फरक–फरक क्षेत्रको ‘हब’ का रूपमा परिचित छन् । सबै समुदायको समानुपातिक बसोबासले प्रदेश समावेशी देखिन्छ । प्रदेशमा आम्दानीका स्रोत प्रशस्त छन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेका अनुसार आर्थिक दृष्टिकोणले काठमाडौं र चितवन समृद्ध छन् । यसको मुख्य स्रोत भनेकै उद्योग/व्यापार हो । ‘यो सम्भावनायुक्त प्रदेश हो, हाइड्रोमा दोलखा र रामेछाप राम्रो छ,’ वाग्लेले भने, ‘काठमाडौंको मात्र कुल गार्हस्थ उत्पादन ३० प्रतिशत छ । झन्डै एक तिहाइ अर्थतन्त्र काठमाडौंको सेरोफेरोले धानिरहेको छ ।’

उद्योग र सेवा क्षेत्रबाट राजस्व राम्रो उठ्छ । कृषिमा भने कम रहेको वाग्ले बताउँछन् । ‘सेवाभित्र हाइड्रो, पर्यटन व्यापार, ट्ेरडलगायत पर्छन्,’ उनले भने, ‘सबै हिसाबले सबैभन्दा सम्पन्न प्रदेश यही हो ।’ उनका अनुसार त्यसपछि सम्भावना र सम्पन्न प्रदेशमा १, ४, ५, ७, २ र ६ पर्छन् । बढी आर्थिक कारोबार यही प्रदेशमा हुन्छ । पर्यटकीय दृष्टिले चितवन राष्ट्रिय निकुञ्ज, लाङटाङ राष्ट्रिय निकुञ्ज, गौरीशंकर संरक्षण क्षेत्र यही प्रदेशमा पर्छन् ।

‘हेटौंडा, बालाजु तथा पाटन औद्योगिक क्षेत्र पनि यही प्रदेशमा छन्,’ वाग्लेले भने,‘ रसुवा, धादिङ, सिन्धुपाल्चोक र दोलखा जिल्लामा जलविद्युत् आयोजनाहरू धेरै छन्, त्यही भएर यो प्रदेशले जलविद्युत् आयोजनाबाट राम्रो फाइदा लिनेछ ।’ कुल गार्हस्थ उत्पादनका हिसाबले प्रदेश ६ कमजोर छ भने जनसंख्याको हिसाबले ३ नम्बर प्रदेश बलियो छ । जहाँ २०६८ सालको जनगणनाअनुसार ५५ लाख ५९ हजार ४ सय ५२ जनसंख्या छ । ३ नम्बर प्रदेशमै पर्यटक भित्रिने प्रमुख द्वारका रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पर्छ । प्रदेशमा पर्ने सबै जिल्ला सडक सञ्जालसँग जोडिएका छन् । स्वास्थ्यका लागि काठमाडौं उपत्यकापछि दोस्रो ‘हब’ का रूपमा चितवन रहेको छ । शिक्षामा समेत यो प्रदेश अघि छ । चिकित्साशास्त्र पढ्ने ठूला मेडिकल कलेज, कृषि, वन, पशु चिकित्साका विश्वविद्यालयहरू छन् । ‘यो देशको राजधानी भएको प्रदेश हो, जुन आफैंमा सबैभन्दा ठूलो आधार हो,’ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भने, ‘अहिले पनि ५२ प्रतिशत ट्याक्स कलेक्सन काठमाडौंले गर्छ, जति पनि पेट्रोलियम पदार्थको खपत हुन्छ त्यसको ५२ प्रतिशत उपत्यकालेमात्र गर्छ ।’

ठूला पर्वाधारका सम्भावना पनि प्रशस्त छन् । केरुङ र तातोपानी नाका यही प्रदेशअन्तर्गतका हुन् । ‘भोलि ठोरी जान सक्ने हो भने यही प्रदेशबाट जोडिन्छ, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि वस्तुगत रूपमा काठमाडौंलाई ध्यानमा राखेर बनाउन लागिएको हो, काठमाडौंसँगै त्यसको एक्सप्रेस वे (फास्ट ट्रयाक) सँग जोडिने कुरा भयो,’ उनले भने, ‘हामीसँग प्राकृतिक स्रोतको पर्याप्तता छ, बूढीगण्डकी हाइड्रो प्रोजेक्ट, तामाकोसी, सुनकोसी डाइभर्सनका कुरा भए, ठूला परियोजना बन्ने सम्भावना भएको प्रदेश हो यो ।’ मकवानपुरमा कुलेखानी पहिलो र दोस्रोबाट ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । कुलेखानी तेस्रो १४ मेगावाट निर्माणाधीन छ । सिन्धुपाल्चोकबाट ६० मेगावाटभन्दा बढी, रसुवाबाट ३० मेगावाट, नुवाकोटबाट ३० मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

सम्भावना धेरै भएकाले अहिले सबैको चासो र चर्चाको प्रदेश पनि यही बनेको छ । ‘अरू प्रदेशमा छैन भन्न खोजेको होइन,’ पाण्डेले भने, ‘महत्त्वपूर्ण प्राकृतिक स्रोतदेखि जनसंख्या तथा आर्थिक स्रोतको बढी सम्भावना भएको क्षेत्र यही हो ।’ जनसंख्याका हिसाबले ठूलो जनघनत्व भएको क्षेत्र यही प्रदेशमा पर्छ । ‘मान्छे नै बजार हो । त्यसैले मान्छेले सबैभन्दा बढी खर्च खान, लाउन, बस्न र शिक्षामा गर्छ,’ उनले भने, ‘यो सबै खर्च गर्ने हिसाबको प्रदेश यही हो । विकास गर्न आर्थिक स्रोत चाहिन्छ । स्रोत भएन भने केही हुँदैन । जनशक्तिका हिसाबले पढेलेखेका मान्छे यहीँ छन् ।

‘संघीय राजधानी पनि यहीँ हुन्छ, राजधानीसँग गरिने कनेक्टिभिटी अरू प्रदेशले गर्न सक्दैनन्,’ उनले भने, ‘त्यही भएर सबै कुराले सम्भावनायुक्त प्रदेश हो ।’ अहिले ३ नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडालाई तोकिएको छ । जहाँ अहिले चहलपहल बढदै गएको छ । सबैभन्दा ठूलो सम्भावना यो क्षेत्रमा पर्यटनमा देखिएको छ । धेरै घुम्ने ठाउँहरू ३ नम्बर प्रदेशमै पर्छन् । विश्व सम्पदा सूचीमा सूचीकृत र राष्ट्रिय निकुञ्जहरू यहीँ पर्छन् । दोस्रो, कृषिमा सम्भावना धेरै छ । यसलाई अग्र्यानिक कृषिका रूपमा अघि लान जरुरी छ । एग्रोप्रोसेसिङ उद्योगहरूको विकास गर्नुपर्ने हुन्छ । ‘पोल्ट्रीको उत्पादन र खपत दुवै यही प्रदेशमा बढी हुन्छ, यसलाई अझै व्यवस्थित गर्नुपर्ने र खपत बढाउनुपर्ने छ,’ पोल्टी विज्ञ डा. तिलचन्द्र भट्टराईले भने, ‘मुलुकभर ६० अर्बभन्दा बढी लगानी पोल्ट्रीमा भए पनि त्यसको ४० अर्ब लगानी यही क्षेत्रमा छ ।’ हेटौंडा औद्योगिक क्षेत्रलाई नयाँ किसिमले अघि लान जरुरी रहेको उनले बताए ।

‘चितवनमा नयाँ औद्योगिक क्षेत्र विकास हुँदै छ,’ उनले भने, ‘काठमाडौं र पाटनको औद्योगिक क्षेत्रलाई नयाँ किसिमले बढाउनुपर्छ । केरुङ–ठोरी मार्ग भारत र चाइनालाई जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग हुन सक्छ ।’ पूर्व र पश्चिमको करिडोर लामो पर्छ । छोटो भनेको ट्रान्सपोर्टेसनमा खर्च कम लाग्नु रहेको उनले सुनाए । ‘चाइनाले केरुङसम्म ट्ेरन ल्याएर नेपालसम्म पुर्‍याउने भनेको छ, ट्रेन आयो भने चाइनिज वस्तु यहाँ ल्याउने, यहाँबाट भारत पठाउने, भारतका वस्तु नेपाल ल्याएर चाइना पठाउन मिल्छ,’ उनले भने, ‘त्यही भएर ट्रेन्डिङ सेन्टरका रूपमा यो प्रदेशलाई विकास गर्न सकिने सम्भावना छ ।’ सम्भावना धेरै भएकाले प्रदेशको विकासमा सबै एकजुट हुनुपर्ने तर्क विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले गर्दै आएका छन् । ‘७ वटा प्रदेशमध्ये ३ नम्बर प्रदेश साधनस्रातले सम्पन्न छ,’ समाजशास्त्री वीरेन्द्र साहले भने, ‘भरपुर उपयोग गर्न सके समृद्धि आउँछ ।’

स्रोत: www.kantipurdaily.com/news/2018/02/03/20180203064953.html